नेपालको यातायात क्षेत्रमा ‘राइड सेयरिङ’ सेवा भित्रिएको एक दशक भइसकेको छ। सार्वजनिक यातायातको विकल्पका रूपमा उदाएको राइड सेयरिङ सेवा इनड्राइभ पछिल्लो समय लोकप्रिय बनेको छ। यात्रुका लागि अन्य प्रतिस्पर्धी एपको तुलनामा सस्तो शुल्क र ‘बार्गेनिङ’ (मूल्य तोक्न मिल्ने) शैलीका कारण यसले छुट्टै पहिचान बनाएको छ। करिब ३ वर्ष अनौपचारिक रूपमा सेवा दिएको इनड्राइभले साढे एक वर्षदेखि नेपालमा औपचारिक दर्ता भई सेवा दिइरहेको छ। यसै सन्दर्भमा इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलसँग क्यापिटलकर्मी कमला भण्डारीले गरेको कुराकानीः
तपार्इंहरूले करिब ३ वर्ष सेवा दिइसकेपछि औपचारिक रूपमा कम्पनीमा दर्ता गराएर सेवा दिन थालेको साढे एक वर्ष भयो? कम्पनी दर्ता गराएर सेवा दिँदा र अनौपचारिक रुपमा चलाउँदा के फरक पाउनुभयो?
हामीले यसलाई अनौपचारिकभन्दा पनि बजार बुझ्ने चरणका रूपमा लियौं। कुनै पनि सेवा सुरु गर्नुअघि बजार समस्या र प्रयोगकर्ताको दृष्टिकोण बुझ्नु महत्त्वपूर्ण हुन्छ। हामीले प्रयोगकर्ताको आवश्यकता र बजारमा रहेको कमी अध्ययन गर्न इनड्राइभलाई सुरुमा परीक्षणका रूपमा सञ्चालन ग¥यौं। प्रयोगकर्ताले सेवा रुचाउँदै गएपछि कानुनी प्रक्रिया पूरा गरी कम्पनी दर्ता गरायौं। प्रयोगकर्ताले हाम्रो सेवा मन पराइरहेका थिए। यसले गर्दा हामीलाई यो सेवा नेपाली बजारका लागि उपयुक्त छ भन्ने विश्वास भयो। दर्ता भएपछि भने सेवामा थप सकारात्मक परिवर्तन र उत्साहजनक वृद्धि देखिरहेका छौं।
औपचारिक सेवा सुचारुपछि तपाईंहरूले राइडरबाट १० प्रतिशत कमिसन लिन थाल्नुभएको छ। यो कमिसन बढ्ने/घट्ने हुन्छ कि हुँदैन?
कुनै पनि कम्पनी चलाउँदा सञ्चालन खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर, हाम्रो मुख्य उद्देश्य भनेको बजारमा सबैभन्दा कम सेवाशुल्क लिएर राम्रो सेवा दिनु हो। ड्राइभर पार्टनरले आफ्नो मिहिनेतको अधिकतम हिस्सा आम्दानीका रूपमा राख्न पाउन् भन्ने हाम्रो मान्यता हो। त्यसैले आजसम्म बजारमा न्यूनतम कमिसन दर कायम गर्दै सेवा दिइरहेका छौं।
यसअघि कमिसन नलिँदा अथवा दर्ता नगर्दा इनड्राइभ नेपाली प्रयोगकर्तामाझ लोकप्रिय थियो। कमिसन लिन थालेपछि यसले तपाईंहरूको व्यवसायमा केही असर पुगेको छ कि छैन?
व्यवसायमै असर गरेको महसुस अहिलेसम्म भएको छैन किनभने प्रयोगकर्ताले बुझेका छन्- कुनै पनि सेवा दिँदा ‘कस्ट इनिसिएटेड’ हुन्छ। यसलाई पूर्णता दिन कुनै सेवाशुल्क त्यसमा जोडिएर आएको हुन्छ। त्यसकारण हामीले त्यही हो। जब हामी ग्रोथ हुँदै गयौं, सञ्चालन खर्च बढ्दै गयो। त्यसलाई कभर गर्ने अंशको रूपमा सामान्य सञ्चालन शुल्क राखेर सेवालाई निरन्तर गरेको हो। प्रयोगकर्ताप्रति सेवाशुल्क लिइसकेपछिको धारणा परिवर्तन हुने अथवा त्यसमा नकारात्मक प्रभाव पर्ने भन्ने केही छैन। बजार अझै पनि बढिरहेकै छ। प्रयोगकर्ता तथा चालक दुवैले रुचाइरहेका छन्।
टुटलबाट सुरु भएको नेपालको राइड सेयरिङ बजारमा अहिले करिब दर्जन सेवाप्रदायक छन्। यो प्रतिस्पर्धालाई इन्ड्राइभले कसरी हेर्छ?
यसलाई एकदमै सकारात्मक र स्वच्छ प्रतिस्पर्धाका रूपमा लिन्छौं। बजार सबैका लागि खुला छ। एउटा भनाइ नै छ-प्रतिस्पर्धीले नै तपाईंलाई सधैं सचेत र सक्रिय राख्छन्। उनीहरूकै कारण हामी सेवा-सुविधामा थप चुस्त बन्ने अवसर पाउँछौं। प्रतिस्पर्धाबीच पनि इनड्राइभको आफ्नै ‘युनिक मोडल’ छ, जसले हामीलाई अरूभन्दा भिन्न बनाएको छ। हामीले चालक र यात्रु दुवैलाई जुन स्वतन्त्रता दिएका छौं, त्यो नै हाम्रो मुख्य विशेषता हो।
कुनै पनि सेवा सुरु गर्नुअघि बजार आवश्यकता र प्रयोगकर्ताका समस्या बुझ्नु एकदमै जरुरी हुन्छ।
यात्रुले आफ्नो बजेटअनुसारको मूल्य प्रस्ताव गर्न पाउने र चालकले आफ्नो रुचिअनुसारको यात्रा रोज्न पाउने सुविधालाई प्रयोगकर्ताले असाध्यै रुचाएका छन्। यो केवल एउटा ‘फिचर’ मात्र नभई प्रयोगकर्ताको हातमा दिइएको अधिकार र स्वतन्त्रता हो, जुन नेपाली बजारका लागि एकदमै युनिक र उपयुक्त छ।
नेपालमा राइड सेयरिङ सेवा एक दशक बढी समयदेखि सञ्चालनमा छ। तर, इनड्राइभ नेपालमा आएको करिब ४-५ वर्षमै लोकप्रिय बन्यो। छोटो समय कसरी प्रयोगकर्ताको मनमा बस्न सफल भइयो?
कुनै पनि सेवा सुरु गर्नुअघि बजार आवश्यकता र प्रयोगकर्ताका समस्या बुझ्नु एकदमै जरुरी हुन्छ। हामीले नेपालमा प्रवेश गर्नुअघि अध्ययन गर्दा के पायौं भने राइड सेयरिङ प्रयोगकर्ता नेपालमा उपलब्ध विकल्पसँग पूर्ण सन्तुष्ट थिएनन्। उनीहरूसँग विकल्प सीमित थिए र प्रयोगकर्तासँग पर्याप्त स्वतन्त्रता थिएन। हामीले बजारमा ठूलो अवसर देख्यौं र यात्रु र चालक दुवैलाई अधिकार दिने गरी सेवा सुरु गर्यौं।

इनड्राइभमा यात्रु आफूले चाहेको मूल्य प्रस्ताव गर्न, चालक रोज्न र दूरी हेरेर यात्रा तय गर्न पाउने सुविधा छ। त्यसैगरी चालकलाई पनि कुनै राइड लिनैपर्छ भन्ने बाध्यता छैन। यो दोहोरो स्वतन्त्रता नेपालका अन्य कुनै पनि राइड सेयरिङ प्लेटफर्ममा उपलब्ध छैन। यही नयाँ प्रयोगकर्तामैत्री मोडलका कारण इनड्राइभ छोटो समयमै सबैको मनमा बस्न सफल भएको हो।
सुरुआती चरणमा उठेको सबैभन्दा ठूलो प्रश्न भनेको तपाईंहरूको बिमा छैन भन्ने थियो। बिमा नभएकाले त्यति सुरक्षित छैन भन्ने धेरैको सोच थियो। अहिले बिमा सुविधा ल्याइसक्नु भएको छ। तर, धेरैलाई अझै पनि कम्पनीको इन्स्योरेन्स सुविधाबारे थाहा छैन। यसलाई कसरी हेर्नहुन्छ?
हामीले विगत एक वर्षदेखि यात्रु र चालक दुवैका लागि इन्स्योरेन्स सुविधा समावेश गरिसकेका छौं। सलिको इन्स्योरेन्ससँगको सहकार्यमा यात्रु र ड्राइभर दुवैको बिमा गरेका छौं। त्यसैले ढुक्क भएर इनड्राइभको सेवा लिँदा हुन्छ। इनड्राइभको इन्स्योरेन्सबारे धेरै प्रचार-प्रसार नगरेकाले प्रयोगकर्तालाई पर्याप्त म्यासेज दिन सकेका छैनौं। तर, स्पष्ट पार्न चाहन्छु-इनड्राइभका सबै यात्रा पूर्ण रूपमा सुरक्षित छन्।
इनड्राइभमा अब इन्स्योरेन्सको सुविधा पनि छ। इनड्राइभको सवारी प्रयोगकर्ता यात्रु तथा चालकको दुर्घटनाका कारण मृत्यु भए मृतकका परिवारलाई ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिइनेछ। त्यस्तै पूर्ण रूपमा अशक्त भए ८ लाख रुपैयाँ सहायता गरिनेछ। त्यस्तै, दुर्घटनाका कारण औषधोपचार गर्न ८० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा उपलब्ध गराइनेछ। नाबालिग यात्रुको हकमा भने क्षतिपूर्ति रकमको ५० प्रतिशत प्रदान गरिने व्यवस्था छ।
इनड्राइभमा पनि बिमा सुविधा छ भन्ने विषयको प्रचार-प्रसार अलि कम भएजस्तो लाग्दैन?
इनड्राइभमा बिमा सुविधा भए पनि यसको प्रचार-प्रसारमा केही कमी देखिएको महसुस गरेका छौं। यो प्रश्न हामीलाई धेरै प्रयोगकर्ताले पनि गर्छन्। इनड्राइभमा बिमा सुविधा कहिलेदेखि लागू हुन्छ भनेर। तर, हामीले बिमा सुविधा ल्याइसकेका छौं। अबका दिनमा हामी विभिन्न माध्यमबाट आफ्ना प्रयोगकर्तालाई बिमा सुविधाबारे जानकारी दिन र यसको थप प्रवद्र्धन गर्न विशेष ध्यान दिनेछौं।
इनड्राइभ लोकप्रिय भए पनि रातीको समय वा महिला सुरक्षाका दृष्टिकोणले कतिपयले अझै पनि हिच्किचाहट महसुस गरेको पाइन्छ। यस विषयमा के भन्नुहुन्छ?
यो विषयमा हामीले जति जागरुकता सिर्जना र सुरक्षाबारे उठेका प्रश्नको समाधानतिर हामीले अझै सुधार गर्नुपर्ने देखेकी छु। म आफैं पनि महिला भएकाले सुरक्षाको महत्व राम्ररी बुझ्दछु। सबैलाई के विश्वस्त पार्न चाहन्छु भने इनड्राइभ पूर्ण रूपमा सुरक्षित र भरपर्दो छ।
हाम्रा सबै राइड बीमित छन् र बलियो सपोर्ट सिस्टम सधैं उपलब्ध छ। इनड्राइभ चढेको समय आफूलाई असहज महसुस भए एपमार्फत आफ्नो यात्राको ‘लाइभ डिटेल्स’ परिवार वा साथीभाइलाई सेयर गर्न सकिन्छ। त्यसैगरी पुलिसलाई फोन गर्ने विकल्प पनि छ। यदि यात्राको क्रममा सवारीसाधन अचानक कतै रोकियो भने एपले आफैं ‘के तपाईं सुरक्षित हुनुहुन्छ?’ भनेर सोध्ने गर्छ।
आगामी दिनमा प्रयोगकर्तालाई हालको भन्दा थप सेवा-सुविधा वा फरक सुरक्षा योजना आवश्यक छ भन्ने अध्ययनले देखाए पक्कै पनि त्यसलाई परिमार्जन गर्ने छौं।
असुरक्षित महसुस भए एपभित्रैबाट सीधै प्रहरीलाई कल गर्न मिल्ने विकल्प पनि उपलब्ध छ। त्यसैले महिला, पुरुष वा वृद्धा जोकोहीका लागि पनि इनड्राइभ सुरक्षित छ। हामी यसलाई अझै सुरक्षित बनाउन निरन्तर काम गरिरहेका छौं।
बजारमा रहेका अन्य राइड सेयरिङ एपभन्दा इनड्राइभको मोडालिटी अलि फरक देखिन्छ। इन्स्योरेन्सको हकमा पनि इनड्राइभ केही फरक छ कि अरू एपजस्तै हो?
अहिलेसम्म इनड्राइभले आवश्यकताको आधारमा (निड-बेसिस)मा इन्स्योरेन्स सुविधा उपलब्ध गराइरहेको छ। प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राखेर बिमा सुरक्षा दिइएको हो। हामी निरन्तर बजार अध्ययन गरिरहेका छौं।

आगामी दिनमा प्रयोगकर्तालाई हालको भन्दा थप सेवा-सुविधा वा फरक सुरक्षा योजना आवश्यक छ भन्ने अध्ययनले देखाए पक्कै पनि त्यसलाई परिमार्जन गर्ने छौं। प्रयोगकर्ताको हितका लागि जे-जति उपाय छन्, ती सबै अपनाउन हामी तयार छौं।
अहिले इनड्राइभको इन्स्योरेन्स सेवा अन्य राइड-सेयरिङ कम्पनीको जस्तै हो? यसमा कुनै विशेष छैन?
अन्य राइड सेयरिङ कम्पनीको सेवा र बिमा सुविधाबारे टिप्पणी गर्नु उपयुक्त हुँदैन। तर, इनड्राइभको हकमा हामीले दुर्घटना वा मृत्यु जस्ता दुःखद अवस्थामा क्षतिपूर्ति व्यवस्था गरेका छौं। हाम्रो उद्देश्य यस्तो घटना कसैको जीवनमा नजाओस् भन्ने नै हो। तर, यदि गइहाले पीडित वा तिनका परिवार आर्थिक रूपमा केही हदसम्म सुरक्षित र सुनिश्चित होउन् भन्ने हिसाबले इनड्राइभले क्षतिपूर्ति व्यवस्था गरेको हो।
इनड्राइभमा कहिलेकाहीँ विभिन्न घटना वा समस्या भइरहेका हुन्छन्। तपाईंकहाँ गुनासा पनि आउँछन् होला। यस्ता घटना वा गुनासालाई कम्पनीले कसरी हेर्छ?
इनड्राइभ प्रविधिमा आधारित एप हो। यसमा धेरै प्रयोगकर्ता छन्। यसमा शतप्रतिशत कुनै पनि घटना हुँदैन भनेर ग्यारेन्टी दिन सक्दैनौं। यसमा यदि कुनै घटना घटिहाल्यो भने इनड्राइभसँग छुट्टै ‘इन्सिडेन्ट म्यानेजमेन्ट टिम’ टिम छ। यो टिमले घटनाको प्रकृति हेरेर सम्बन्धित प्रयोगकर्तालाई तत्काल फलोअप गर्ने, कल गर्ने र आवश्यक सहयोग पुर्याउने काम गर्छ। पीडितलाई सहानुभूति दिनेदेखि लिएर उनीहरूले पाउनुपर्ने कानुनी वा अन्य सहयोग नपाउन्जेलसम्म हाम्रो टिम निरन्तर सम्पर्कमा रहन्छ।
इनड्राइभको टिम प्रयोगकर्तासँग इन-टचमै रहन्छ र समस्या समाधान निकाल्न पूर्ण रूपमा प्रयास गर्छ। अहिलेसम्म यस्ता घटना भएमा हामी प्रयोगकर्तालाई तुरुन्त जानकारी दिने, आवश्यक सहयोग उपलब्ध गराउने र उनीहरूलाई सहयोग गराउने कुरामा विशेष ध्यान दिँदै आएका छौं।
इनड्राइभको सेवाबारे प्रयोगकर्ताबाट गुनासा कत्तिको आउने गर्छन्?
प्रयोगकर्ताबाट कहिलेकाहीँ विभिन्न घटनाका गुनासा आउने गर्छन्। एप चलाइसकेपछि, वा इनड्राइभ चढिसकेपछि यस्तो घटना पूर्ण रूपमा रोक्न सकिँदैन। यो स्वाभाविकै हो। तर, हाम्रा लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको घटना घटेपछि प्रयोगकर्ताले कस्तो सहयोग पाउँछन् भन्ने हो। इनड्राइभले जहिले पनि प्राप्त गरेका गुनासालाई तुरुन्तै सम्बोधन प्रयास गर्छ।
इनड्राइभमा कहिलेकाहीँ तोकिएको गन्तव्यभन्दा केही पर जानुपर्दा चालकले १००-२०० रुपैयाँ अतिरिक्त माग्ने गरेको पाइन्छ। यस्तो अवस्थामा विवाद हुँदा कम्पनीले चालकलाई कारबाही गर्छ कि गर्दैन?
हाम्रा लागि चालक र प्रयोगकर्ता दुवै उत्तिकै महत्त्वपूर्ण छन्। त्यसकारण यस विषयमा म चालक र यात्रु दुवैको पक्षलाई राखेर निष्पक्ष रूपमा कुरा गर्न चाहन्छु। कसैले एप बुक गरेको ‘बिन्दु ए’देखि बिन्दु बी’सम्मको यात्राका लागि मात्र जिम्मेवार हुन्छन्। त्यसैले यात्रुलाई सुरुमा जहाँसम्मका लागि बुक गरिएको हो, त्यहीँसम्म मात्र यात्रा गर्न आग्रह गर्छौं।
दुवै पक्ष आपसी समझदारीमा चल्नु नै समस्याको उत्तम समाधान हो।
यदि, कुनै आकस्मिक अवस्थामा तपाईं तोकिएको गन्तव्यभन्दा अगाडि जान्छन् भने त्यो अतिरिक्त सेवा हो। एउटा सचेत प्रयोगकर्ताको रूपमा हामीले के बुझ्नुपर्छ भने अतिरिक्त सेवा लिएपछि त्यसको उचित भुक्तानी गर्नु हाम्रो पनि दायित्व हो। इनड्राइभको मोडल नै आपसी सहमतिमा आधारित छ। यदि तपाईंले थप दूरी यात्रा गर्नुहुन्छ भने चालकको समय र इन्धन खर्च हुने भएकाले उसलाई उचित क्षतिपूर्ति वा अतिरिक्त भाडा दिनु न्यायोचित हुन्छ। दुवै पक्ष आपसी समझदारीमा चल्नु नै समस्याको उत्तम समाधान हो।
इनड्राइभमा बार्गेनिङ सिस्टम छ। प्रयोगकर्ता वा ड्राइभरले भाडा घटाउने वा बढाउने अप्सन पाउँछन्। तर, घटाउने सीमित भए पनि बढाउनमा किन त्यस्तो सीमा छैन? भाडा बढाउन किन कुनै सीमा नराखिएको हो?
यसलाई अलिकति स्पष्ट पार्न चाहन्छु। इनड्राइभमा भाडा घटाउने र बढाउने दुवैतर्फ निश्चित सीमा तोकिएको छ। हामीले दूरी र क्षेत्रको आधारमा एउटा विशेष विधिबाट औषत भाडा निर्धारण गरेका हुन्छौं र त्यसमा एउटा ‘क्याप’ लगाएका हुन्छौं। प्रयोगकर्ता र चालकले सोही निर्धारित सीमाभित्र रहेर मात्र भाडा बढाउन वा घटाउन पाउँछन्। त्यसैले, भाडा जति पनि बढाउन मिल्छ भन्ने बुझाइ गलत हो। दुवै पक्षका लागि एउटा निश्चित दायरा तोकिएको हुन्छ।

बजार भनेको जहिले पनि माग र आपूर्तिको सिद्धान्तमा चल्छ। कहिलेकाहीँ माग बढी भएको अवस्थामा भाडामा केही उतारचढाव हुनु स्वाभाविकै हो। तर, इनड्राइभको सबैभन्दा ठूलो सबल पक्ष भनेको पारदर्शिता हो। इनड्राइभ बुक गर्दा जुन भाडामा चालकसँग सहमति जनाइएको हुन्छ, त्यो नै अन्तिम भाडा हुन्छ। अन्य केही प्लेटफर्ममा जस्तो यात्रा क्रम वा झर्ने बेला भाडा परिवर्तन हुने समस्या हाम्रोमा हुँदैन। हामी यस कुरामा प्रतिबद्ध छौं कि यात्रुले जुन मूल्यमा सहमति जनाएका छन्, त्यही मूल्यमा नै उनीहरूले सेवा पाउन्।
इनड्राइभले भर्खरै नेपाल प्रिमियर लिगमा सहकार्य गरेको थियो। त्यसमा जानुको मुख्य उद्देश्य के थियो?
इनड्राइभले व्यवसायलाई मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिने गर्दछ। हाम्रा लागि खेलकुद समाजसँग प्रत्यक्ष रूपमा जोडिने एउटा उत्कृष्ट माध्यम हो। इनड्राइभको मुख्य दर्शन निष्पक्षता र स्वतन्त्रता हो। खेलकुदमा पनि निष्पक्ष छनोट, निष्पक्ष निर्णय र निष्पक्ष विजेताको अवधारणा हुने भएकाले हाम्रो कम्पनीको उद्देश्य र खेलकुदको मर्म आपसमा मेल खान्छन्। हामीले अन्य देशमा पनि खेलकुदलाई सहयोग गर्दै आएका छौं। नेपालमा पनि यस्ता प्रतियोगितासँग सहकार्य गरेर देश, समाज र आफ्ना प्रयोगकर्ताका लागि योगदान पुर्याउनु नै हाम्रो मुख्य उद्देश्य हो।
इनड्राइभले किन विशेष रुपमा एनपीएलसँग सहकार्य गर्ने निर्णय गर्यो?
यस्ता ठूला कार्यक्रमका बेला कुनै निश्चित एरियामा राइडको माग धेरै हुन्छ। हाम्रा चालकलाई कुन क्षेत्रमा राइडको चाप बढी छ भनेर पहिले नै जानकारी गराउँछौं। उनीहरूलाई त्यही क्षेत्रमा जान प्रोत्साहन गर्छौं, जहाँबाट धेरै राइड प्राप्त गर्न सकिन्छ।

यसले ड्राइभरलाई त्यही एरियाबाट धेरैभन्दा धेरै राइड पाउन सहयोग गर्छ र म्याचजस्ता पिक समय उनीहरूको आम्दानी बढोस् भन्ने सुनिश्चित गर्छ। यसरी हामी ड्राइभरको आम्दानी अधिकतम बनाउन फेयर प्राइसिङ मोडालिटीमार्फत काम गर्छौं।
यसलाई अझै बलियो र प्रभावकारी बनाउन अब तपाईंहरूले कस्ता रणनीति अपनाउनुहुन्छ?
हाम्रो ‘कोर फोकस’ मुख्य रूपमा सुरक्षामै हुन्छ। हामी सेफ्टीलाई केवल प्रोडक्टको एउटा फिचरको रूपमा होइन, प्रोडक्टकै आधारको रूपमा हेर्छौं। यसका साथै हामी लोकल सीएसआर इनिसिएटिभहरूमा फोकस गर्छौं।
आवश्यक ट्रेनिङ गरायौं र म्याराथनसम्बन्धी सबै खर्च पनि कम्पनीले नै बेहोरेको थियो।
विभिन्न साझेदार विकास गर्छौं ताकि समाज, सहर र देशप्रति अझ बढी योगदान दिन सकियोस्। भविष्यमा हामी अरू कुन-कुन सेवा तथा सुविधा थप गर्न सकिन्छ भनेर पनि निरन्तर अध्ययन गरिरहेका छौं र प्रयोगकर्ताका लागि अझ राम्रो अनुभव सुनिश्चित गर्ने दिशामा अगाडि बढिरहेका छौैं।
इनड्राइभ प्लेटफर्ममा महिला चालक पनि छन्। कति महिला चालक संख्या?
अहिले महिला चालक संख्या निकै न्यून छ। तर, हाम्रो मुख्य उद्देश्य भनेकै धेरैभन्दा धेरै महिलालाई आत्मनिर्भर बनाएर इनड्राइभमार्फत काम गर्ने वातावरण सिर्जना गर्नु हो। भविष्यमा यस क्षेत्रमा महिला उपस्थिति कसरी बढाउन सकिन्छ भन्ने विषयमा निरन्तर अध्ययन र अनुसन्धान गरिरहेका छौं। हामी महिला चालकलाई साँच्चिकै सपोर्ट गर्छौ। केही वर्षअघि महिला चालकलाई म्याराथनमा सहभागी हुन प्रोत्साहित गरेका थियौं।
त्यसका लागि आवश्यक ट्रेनिङ गरायौं र म्याराथनसम्बन्धी सबै खर्च पनि कम्पनीले नै बेहोरेको थियो। यसको मूल उद्देश्य भनेको राइड सेयरिङ प्लेटफर्ममा आबद्ध महिलाहाई इम्पावर गर्नु हो, ताकि उनीहरूले स्वतन्त्र रुपमा आर्थिक उपार्जनका माध्यमबाट आफ्ना परिवारलाई बलियो बनाउन सहयोग पुगोस्।
राइड सेयरिङका क्रममा विभिन्न घटना भइरहेका सुनिन्छन्। यस्तो अवस्थामा महिला चालक र यात्रुका लागि इनड्राइभ कत्तिको सुरक्षित र सहयोगी छ?
इनड्राइभको मुख्य मान्यता नै चालक र यात्रु दुवैको सुरक्षा सुनिश्चित गर्नु हो। हामी सुरक्षालाई प्राथमिकता दिने प्लेटफर्म हौं। यदि चालक वा यात्रु कसैले पनि कुनै समस्या वा घटनाबारे रिपोर्ट गरे भने हामी त्यसलाई तत्काल सम्बोधन गर्छौैं। विशेषगरी महिला चालक र यात्रुको हकमा हामी अझ बढी संवेदनशील र सतर्क हुन्छौं। उनीहरूले उठाएका विषय समयमै सम्बोधन होऊन् भनेर हामी काम गरिरहेका हुन्छौं।
कहिलेकाहीँ महिला यात्रुले ह्यारेसमेन्ट (दुर्व्यवहार)का घटना खेप्नु परेको सुनिन्छ। यस्ता घटना भए इनड्राइभले कसरी सहयोग गर्छ?
यस्तो घटना सुन्दा निकै दुःख लाग्छ। एक महिला हुनुको नाताले म बुझ्न सक्छु, यस्तो अनुभव कति पीडादायी हुन्छ। यदि कसैले हाम्रो प्लेटफर्म प्रयोग गर्दा यस्तो अनुभव भोगे हामी सबैभन्दा पहिला त्यस्तो व्यवहार गर्ने चालकलाई सिस्टमबाट स्थायी रूपमा बन्द गर्छौं। हाम्रा नीति निकै कडा छन्, जसले गर्दा त्यस्ता व्यक्तिले पुनः हाम्रो प्लेटफर्ममा चालकका रूपमा काम गर्न पाउँदैनन्।
यदि कुनै महिला यात्रुले चालकविरुद्ध उजुरी दिएपछि कम्पनीले निलम्बन वा प्रतिबन्ध लगाउँदा यात्रुको फोन नम्बर साथीभाइलाई दिने वा दुर्व्यवहार गर्ने धेरै कुरा सुनिन्छ। यसलाई कम्पनीले कसरी हेर्छ?
ड्राइभरलाई कसले गुनासो गरेको हो भन्ने कुरा कहिल्यै पनि थाहा हुँदैन। गुनासो प्रयोगकर्ताको सम्पूर्ण जानकारी पूर्ण रूपमा गोप्य राखिन्छ। गुनासोका आधारमा ड्राइभरलाई ब्लक वा बन्द गरिएपछि एपमा कुनै पनि पहुँच रहँदैन। ड्राइभरले न गुनासो गर्ने व्यक्तिको नाम थाहा पाउँछ, न त नम्बर वा अन्य कुनै विवरण। यदि कुनै प्रयोगकर्ताले असामान्य, असुरक्षित वा अनुचित व्यवहार अनुभव भयो भने बिनासंकोच रिपोर्ट गर्न अनुरोध गर्दछौं।
राइड सेयरिङ नेपालका लागि नयाँ पनि रहेन र धेरै पुरानो पनि होइन। यसमा सबैले सिक्दै जानुपर्ने अवस्था छ।
रिपोर्ट गर्दा आफ्नो सुरक्षाका लागि मात्र नभई भविष्यमा अरू प्रयोगकर्ता पनि सुरक्षित रहन्छन्। यस्ता रिपोर्टका आधारमा त्यस्ता ड्राइभरलाई प्लेटफर्मबाट हटाइन्छ। त्यसैले हामी महिला वा पुरुष कुनै पनि प्रयोगकर्तालाई आग्रह गर्छौं-यदि कुनै समस्या भए त्यसमा बेवास्ता नगरौं। समस्याको समाधान रिपोर्ट गर्दा मात्र हुन्छ।
तपाईंहरूले चालकको पृष्ठभूमि जाँच गर्नुहुन्छ कि गर्नुहुन्न?
हामी ड्राइभर दर्ता गराउन आउँदा उनीहरूको सम्पूर्ण प्रमाणपत्र जाँच हुन्छ र भेरिफिकेसन हुन्छ। त्यसका साथै नियमित रूपमा रि-भेरिफिकेसन पनि गर्छौं। यसबाट ड्राइभरका डकुमेन्ट, बाइक र ड्राइभर आफैं सही व्यक्ति हो कि होइन भन्ने कुरा पनि हेरिन्छ।
नेपालमा राइड सेयरिङ नियमनलाई लिएर यातायात व्यवस्था विभाग र प्रदेशबीच समन्वय नहुँदा ‘जिगज्याग’ स्थिति छ। यसलाई कसरी हेर्नुहुन्छ?
राइड सेयरिङ नेपालका लागि नयाँ पनि रहेन र धेरै पुरानो पनि होइन। यसमा सबैले सिक्दै जानुपर्ने अवस्था छ। कुनै पनि नियम बनाउँदा स्टेकहोल्ड, प्रयोगकर्ता, चालक, कम्पनी र सरकार सबैलाई फाइदा हुने गरी बनाउनुपर्छ। यस्तो काम एकै रातमा हुँदैन।

अहिले पनि नियम र रेगुलेसन बनाउने प्रक्रिया चलिरहेको छ। हामी कम्पनीका तर्फबाट प्रतिक्रिया र सुझाव दिन सधैं तयार छौं। सम्बन्धित निकायसँग भेटघाट पनि गरिरहेका छौं त्यसैले अबको केही समयमै स्पष्ट प्रक्रिया र रेगुलेसनसहितको राइड सेयरिङ नीति आउने विश्वास छ, जसले देशको अर्थतन्त्र, उद्योग र प्रयोगकर्तालाई समेत फाइदा पुर्याउँछ।
तपाईंको दृष्टिकोणमा कस्तो राइड सेयरिङ नीति बन्नुपर्छ?
राइड सेयरिङका नियम बनाउँदा सरोकारवालालाई समेट्ने र सबैमा सकारात्मक प्रभाव पार्ने खाले हुनुपर्छ। कुनै एक पक्षलाई मात्र फाइदा हुने नियम बन्नु हुँदैन। सरकारको तर्फबाट हेर्दा देश र अर्थतन्त्रलाई के फाइदा हुन्छ भन्ने आधारमा नीति बनाइनुपर्छ। कम्पनीका तर्फबाट हेर्दा भने सरकारले बनाएको नियम हामीलाई लागू गर्न सजिलो हुनुपर्छ।
अहिले प्रयोगकर्ताले मन पराएका फिचर र दिइएको स्वतन्त्रतालाई पनि ध्यानमा राखेर रेगुलेसन बनाइनुपर्छ। छिमेकी देश र स्थानीय स्तरमा भएका अनुभवबाट सिक्दै मानिसको आवश्यकता एवं रुचि समेटेर बनाइएको नियम प्रभावकारी हुन्छ।