नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रयोग र आकर्षण तीव्र गतिमा विस्तार भइरहेको छ। यससँगै सरकारी नीति, कर प्रणाली, चार्जिङ पूर्वाधार, बिक्रीपछिको सेवा, ब्याट्री व्यवस्थापन तथा लगानीमैत्री वातावरणजस्ता विषय अहिले बहसको केन्द्रमा छन्। अटोमोबाइल व्यवसायीसँग सम्बन्धित संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चररर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्दै छ। पहिलो संस्करणले अपेक्षाभन्दा राम्रो सफलता हासिल गरेपछि यसपटक एक्स्पोलाई अझ व्यापक र प्रभावकारी बनाउने तयारी भइरहेको छ। एक्स्पोको तयारी, नेपालको अटोमोबाइल बजारको वर्तमान अवस्था, बजेट र मौद्रिक नीतिले पारेको प्रभाव, नाडासँगको सहकार्य, ईभी पूर्वाधार विस्तार, ब्याट्री व्यवस्थापन तथा अटोमोबाइल उद्योगका समसामयिक विषयमा नाइमा मोबिलिटी एक्स्पो–२०२६ का संयोजक तथा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक गौरव शारडासँग क्यापिटल नेपालका कमला भण्डारीले गरेको कुराकानीको सम्पादित अंशः
पहिलो संस्करणको सफलतापछि दोस्रो नाइमा मोबिलिटी एक्स्पो आयोजना गर्दै हुनुहुन्छ। यसपटकको एक्स्पोलाई कसरी विशेष बनाउँदै हुनुहुन्छ?
गत वर्षको एक्स्पोबाट हामीले पाएका सुझाव र प्रतिक्रियालाई यसपटक विशेष ध्यान दिएका छौं। एक्स्पो मनसुन समयमा हुने भएकाले वर्षाका कारण आउजाउमा समस्या नहोस् भन्ने उद्देश्यले सम्पूर्ण बाटो व्यवस्थापन र सुधारमा विशेष ध्यान दिएका छौं। गत वर्षको जस्तै यसपटक पनि अपांगता भएका व्यक्तिका लागि सहज वातावरण बनाउन अपांगतामैत्री पूर्वाधारलाई पनि निरन्तरता दिएका छौं। ताकि सबै आगन्तुकले सहज रूपमा एक्स्पो अवलोकन गर्न सकून्। गत वर्ष सबैभन्दा धेरै गुनासो पार्किङ व्यवस्थापनको आएकाले सबैको सुझावअनुसार त्यसलाई समाधान गर्न नेपाल पुलिस क्लबको भृकुटीमण्डपस्थित ‘ब्लु प्याभिलियन’ लाई एक्स्पोभरि सबै दिनका लागि बुक गरेका छौं। यसबाट पार्किङ व्यवस्थापन अझ सहज र व्यवस्थित हुने हाम्रो विश्वास छ।
गत वर्ष पनि नेपाल पुलिस क्लबको पार्किङ प्रयोग गरिएको थियो। यसपटक त्यसमा के फरक व्यवस्था गर्नुभएको छ?
गत वर्ष हामीले नाइमा मोबिलिटी एक्स्पो अवधिभर अर्थात् ६ वटै दिनका लागि त्यो ठाउँ पूर्ण रूपमा बुक गरेका थिएनौं। त्यतिबेला अन्य कार्यक्रम पनि भइरहेकाले पार्किङमा केही समस्या देखिएको थियो। गत वर्षको त्यही अनुभव र सिकाईलाई ध्यानमा राख्दै यसपालि हामीले नेपाल पुलिस क्लबको उक्त क्षेत्र एक्स्पो अवधिभर सबै दिनका लागि पूर्ण रूपमा बुक गरेका छौं। यसपटक त्यहाँ अरु कुनै कार्यक्रम हुने छैन, जसले गर्दा आगन्तुकहरूलाई पार्किङ गर्न पूर्ण रूपमा सहज हुनेछ।
यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा आगन्तुकले इलेक्ट्रिक कार, डिजेल–पेट्रोल कार, हाइब्रिड कार, दुई पांग्रे्रे सवारी साधन, कमर्सियल भेहिकल, चार्जिङ सोलुसन्स, पार्किङ सोलुसन्स र अटोमोबाइल क्षेत्रका पछिल्ला प्रविधिलाई एकै थलोमा नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाउनेछन्।
यसपटक नाइमा मोबिलिटी एक्स्पोमा मुख्य आकर्षण के–के हुन्? उपभोक्ताले नयाँ के अनुभव गर्न पाउँछन्?
कुनै पनि अटो शोको मुख्य आकर्षण भनेकै त्यहाँ प्रदर्शन गरिने गाडी, उत्पादन र सेवा नै हुन्। त्यसैले यसपटक हाम्रो कोर फोकस नै प्रडक्ट र सर्भिसेसमा राखेका छौं। हामीले प्रदर्शकलाई पनि आफ्ना उत्पादन र सेवाहरूलाई नै उत्कृष्ट ढंगले प्रस्तुत गर्न आग्रह गरेका छौं। यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा आगन्तुकले इलेक्ट्रिक कार, डिजेल–पेट्रोल कार, हाइब्रिड कार, दुई पांग्रे्रे सवारी साधन, कमर्सियल भेहिकल, चार्जिङ सोलुसन्स, पार्किङ सोलुसन्स र अटोमोबाइल क्षेत्रका पछिल्ला प्रविधिलाई एकै थलोमा नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाउनेछन्। हाम्रो प्राथमिकता यस वर्ष अतिरिक्त आकर्षणभन्दा पनि अटोमोबाइल क्षेत्रका उत्कृष्ट उत्पादन, प्रविधि र सेवामार्फत आगन्तुकलाई समृद्ध अनुभव प्रदान गर्नु हो।
गत वर्षको एक्स्पोमा अपेक्षाभन्दा धेरै दर्शक सहभागी भएका थिए र सवारीसाधनको बुकिङ पनि उत्साहजनक रह्यो। यस वर्ष कति कारोबार वा बुकिङ हुने अपेक्षा गर्नुभएको छ?
अहिले नै ठ्याक्कै यति नै कारोबार हुन्छ भनेर अंकमा अनुमान गर्न मिल्दैन। तर, गत वर्षभन्दा यसपालि पक्कै पनि अझ राम्रो व्यापार र प्रतिक्रिया पाउने हाम्रो अपेक्षा छ। किनभने, अहिले उपभोक्ता र अवलोकनकर्तामाझ नाइमा अटो शो हुँदै छ भन्ने राम्रो जानकारी र विश्वास बनिसकेको छ। त्यसैले यसपटक गत वर्षभन्दा धेरै दर्शक आउने र कारोबार पनि अझ राम्रो हुनेमा विश्वस्त छौं।
अटोमोबाइल क्षेत्रमा चाडपर्व अगाडिको समयलाई गाडी खरिदको मुख्य सिजन मानिन्छ। अटो शो विशेषगरी नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहक लक्षित गरी आयोजना गरिँदै आएको पाइन्छ। तर, नाइमाले स्थापना भएयता मोबिलिटी एक्स्पो साउन महिनामै आयोजना गर्दै आएको छ। यसको कारण के हो?

त्यस्तो कुनै खास बाध्यता त होइन। तर, अहिले काठमाडौंमा ठूला प्रकृतिका मेला गर्नका लागि हामीसँग विकल्पका रूपमा एउटा मात्र प्रदर्शनी हल (भृकुटीमण्डप)मा उपलब्ध छ। हलको उपलब्धता हेर्दा हामीले साउन महिनाकै मिति पायौं र यो समय हाम्रा लागि पनि उपयुक्त नै ठहरियो। त्यसैले हलको उपलब्धता र सहजतालाई ध्यानमा राखेरै हामीले साउनमा यो एक्स्पो गर्ने तयारी गरेका हौं।
अटो शो साउनभन्दा पनि भदौतिर गर्दा अझ बढी फाइदाजनक हुन्थ्यो कि? यसमा तपाईंहरूको के भनाइ छ?
प्रदर्शकबाट आएका सुझावअनुसार अटो शो सकिएको र दसैं–तिहारका गाडी डेलिभरी सुरु हुने बेला कम्तीमा एकदेखि डेढ महिने अवधि हुँदा यसले कम्पनीलाई गाडी आयात र व्यवस्थापनका लागि पर्याप्त समय मिल्छ।
हाम्रो मुख्य प्राथमिकता सहभागी कम्पनी र ग्राहक दुवैलाई सहज बनाउनु हो। प्रदर्शकबाट आएका सुझावअनुसार अटो शो सकिएको र दसैं–तिहारका गाडी डेलिभरी सुरु हुने बेला कम्तीमा एकदेखि डेढ महिने अवधि हुँदा यसले कम्पनीलाई गाडी आयात र व्यवस्थापनका लागि पर्याप्त समय मिल्छ। गाडी बुकिङ गर्ने ग्राहकले पनि बैंकबाट कर्जा स्वीकृति, आवश्यक कागजी प्रक्रिया तथा अन्य वित्तीय तयारी सहज रूपमा पूरा गर्न सक्छन्। त्यसैले अटो एक्स्पोलाई दसैंभन्दा करिब एकदेखि डेढ महिना अगाडि, अर्थात् साउन अन्तिमतिर आयोजना गर्नु सबै पक्षका लागि बढी उपयुक्त हुने देखिएरै तयारी गरेको हो।
नाइमा र नाडाबीच एकअर्कालाई कमजोर देखाउने र आफू अब्बल ठहरिने अस्वस्थ प्रतिस्पर्धाका कारण कसले पहिला अटो शो गर्ने भन्ने हानाथापजस्तो देखिन्छ। यसले त समग्र अटो व्यवसाय क्षेत्रको हित गर्दैन होला नि?
अस्वस्थ प्रतिस्पर्धा पक्कै पनि छैन। दुवै संस्था एउटै प्रकृतिको व्यवसाय र क्षेत्रसँग सम्बन्धित भएकाले बाहिरबाट हेर्दा त्यस्तो लागेको हुन सक्छ। नाडा र नाइमाबीच सधैं सहकार्य रहँदै आएको छ। सरकारसँग नीतिगत कुराको लबिइङ गर्ने वा व्यवसायीका समस्या राख्ने विषयमा पनि दुवै संस्थाले सँगै मिलेर समान मुद्दा उठाइरहेका छन्। जहाँसम्म अटो शो अगाडि–पछाडि गर्ने कुरा छ, त्यो प्रतिस्पर्धाका कारण होइन। हामीलाई उपलब्ध भएका मितिमध्ये सबैभन्दा उपयुक्त समय यही भएकाले सोही समय नाइमा मोबिलिटी एक्स्पो आयोजना गर्ने निर्णय गरेका हौं।
नाइमा र नाडाबीच सहकार्य भइरहेको भन्नु भयो तर, नीतिगत विषयमा दुवै संस्था सँगै मिलेर एउटै आवाज लिएर सरकारसमक्ष प्रस्तुत भएको खासै देखिँदैन नि?
हामी शतप्रतिशत सहकार्यमै छौं र सँगै मिलेरै सरकारसमक्ष आफ्ना समस्या राखिरहेका छौं। विशेषगरी उद्योगका साझा एजेन्डा, जस्तै सवारीसाधन आयात, कर नीति, दर्ता प्रक्रिया तथा नीतिगत सुधारका विषयमा हामी संयुक्त रूपमा सरकारसँग छलफल गर्दै आएका छौं। नाइमा अटोमोबाइल आयातकर्ता र उत्पादकको संस्था भएकाले केही विषय हाम्रो सदस्यहरूको प्रकृतिअनुसार फरक पनि हुन सक्छ। तर, जहाँ साझा हितका मुद्दा हुन्छन्, त्यहाँ नाडासँग मिलेरै अघि बढ्ने गरेका छौं। यसलाई अझ व्यवस्थित बनाउन नाडा र नाइमाबीच औपचारिक रूपमा समझदारीपत्रसमेत भएको छ। त्यसअनुसार दुवै संस्थाले सहकार्यलाई निरन्तर अगाडि बढाइरहेका छन्।
बजारमा नयाँ–नयाँ ब्रान्ड र तिनका मोडलको आगमनसँगै प्रतिस्पर्धी निकै बढेका छन्। ग्राहकका लागि अहिले बजारमा धेरै ब्रान्ड र विभिन्न मोडलका गाडी उपलब्ध छन्। उपभोक्ताका लागि विभिन्न मूल्य, सेग्मेन्ट र प्रविधिका सवारीसाधनमध्ये छनोट गर्ने अवसर पहिलेभन्दा धेरै विस्तार भएको छ।
अहिले नेपालको अटोमोबाइल बजारलाई तपाईंले कसरी मूल्यांकन गर्नुहुन्छ?
अहिलेको अटोमोबाइल बजार एकदमै चलायमान र उत्साहजनक अवस्थामा छ। बजारमा नयाँ–नयाँ ब्रान्ड र तिनका मोडलको आगमनसँगै प्रतिस्पर्धी निकै बढेका छन्। ग्राहकका लागि अहिले बजारमा धेरै ब्रान्ड र विभिन्न मोडलका गाडी उपलब्ध छन्। उपभोक्ताका लागि विभिन्न मूल्य, सेग्मेन्ट र प्रविधिका सवारीसाधनमध्ये छनोट गर्ने अवसर पहिलेभन्दा धेरै विस्तार भएको छ। यसले गर्दा उनीहरूलाई आफ्नो रुचि र आवश्यकताअनुसार छनोट गर्ने उत्कृष्ट अवसर मिलेको छ। धेरै ब्रान्ड र मोडलहरूको यही उपलब्धताका कारण समग्र अटोमोबाइल क्षेत्र नै निकै गतिशील र ऊर्जावान् बनेर अगाडि आइरहेको छ। समग्रमा हेर्दा अहिलेको बजार उपभोक्ता र उद्योग दुवैका लागि सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। बजारले लामो ‘ड्राइभिङ’को लय समाउने बाटोमा छ।
बजेटपछि अटो व्यवसायीको मनोबल कस्तो छ?
बजेटमा भएको कर परिमार्जनले केही सीमित मोडलको लागत र मूल्य घटे पनि अधिकांश मोडलको लागत बढेको छ। केही सीमित ब्रान्डलाई मात्र फाइदा भएको छ। विशेषगरी नेपालमा ३० लाख रुपैयाँ सेग्मेन्टका गाडीका मोडलमा केही प्रतिशतले लागत घटेका कारण सम्बन्धित कम्पनीले आफ्नो अधिकतम बिक्री मूल्य पनि घटाएका छन्। तर, ३० लाखभन्दा माथिका गाडीको हकमा भने एक–दुईवटा ब्रान्डका सीमित मोडलबाहेक अरू कसैले पनि कर परिमार्जनबाट खासै लाभ पाउन सकेको अवस्था छैन।
बजेटमा भएको कर परिमार्जनलाई तपाईंले कसरी हेर्नुभएको छ?
सरकारले अहिले कर निर्धारणका लागि जुन प्रणाली अपनाएको छ, त्यो विगतको तुलनामा निकै राम्रो र वैज्ञानिक छ। पहिले परीक्षण गर्ने पूर्वाधार र प्रविधि नहुँदा व्यवसायीलाई यिनीहरू चोरै हुन् भनेर आरोप मात्र लगाइन्थ्यो। व्यवसायीलाई हेर्ने हरेक दृष्टिकोण नकारात्मक मात्र थियो। त्यो व्यवस्था विवादको विषय मात्र बन्यो तर समाधानका लागि कुनै ठोस प्रयास भएन। अहिलेको नयाँ प्रणालीले हामीलाई स्पष्टता दिएको छ। अहिले मूल्यका आधारमा कर निर्धारण गर्दा यो प्रणाली बढी व्यावहारिक र पारदर्शी छ। समग्रमा हेर्दा कर निर्धारणको अहिलेको प्रणाली पहिलेको भन्दा बढी स्पष्ट, पारदर्शी र वैज्ञानिक छ किनकि अहिलेको व्यवस्था परिमाणात्मक आधारमा मूल्यांकन गर्न सकिने प्रकृतिको छ।
अटो उद्योगले अहिले सामना गरिरहेका चुनौती के के छन्?
अटोमोबाइल उद्योगले अहिले धेरै चुनौती सामना गरिरहेको छ। सबभन्दा ठूलो चुनौती भनेको उच्च कर हो। दोस्रो मुख्य चुनौती हाम्रो कमजोर पूर्वाधार हो। पूर्वाधार अवस्था पनि उद्योगका लागि ठूलो समस्या बनेको छ। हाम्रो सडकहरूको गुणस्तर निकै कमजोर छ, राजमार्गहरूको अवस्था कमजोर छ र देशभरको कनेक्टिभिटीमा पनि समस्या देखिन्छ। यति मात्र होइन, हाम्रा नाकाको अवस्था पनि उत्तिकै दयनीय छ। त्यसले पनि उद्योगलाई प्रत्यक्ष असर गरिरहेको छ। चीनसँग जोड्ने मुख्य राजमार्गहरू समय–समय अवरुद्ध भइरहन्छन्। गत वर्ष नाइमा अटो शोकै समय पनि तातोपानी नाका जोड्ने राजमार्ग करिब डेढ महिनासम्म पहिरोका कारण बन्द भएको थियो। त्यसअघि तिर पनि बेलाबेलामा बाटो अवरुद्ध हुँदा यस्ता अवरोधका कारण सवारीसाधन आयात, आपूर्ति र व्यवसाय सञ्चालनमा ठूलो असर पर्न गयो। त्यसैले उच्च करसँगै कमजोर पूर्वाधार, सडक सञ्जाल र सीमापार कनेक्टिभिटी अहिले नेपाली अटोमोबाइल उद्योगका सबभन्दा ठूला चुनौती हुन्।
पछिल्लो समय नेपालमा ईभी आयात तीव्र रूपमा बढिरहेको छ, तर त्यो अनुपातमा चार्जिङ स्टेसन, सर्भिस सेन्टरजस्ता आवश्यक पूर्वाधारको विकास सुस्त छ। व्यवसायलाई दिगो बनाउन गाडी आयातसँगै पूर्वाधार विस्तारलाई पनि सँगसँगै लैजान व्यवसायीको ध्यान किन पुग्न सकेको छैन?
हामीले पूर्वाधार र सर्भिस सेन्टरलाई पहिलो प्राथमिकतामा राखेका छौं। अहिले नेपालभर बिर्तामोडदेखि धनगढीसम्म १७ स्थानमा हाम्रा आधिकारिक सर्भिस स्टेसन उपलब्ध छन्। हाम्रो बलियो नेटवर्क पार्टनरका कारण देशभरिकै ग्राहकले सहजै सेवा पाइरहेका छन्।
म अरू ब्रान्डबारे त भन्न चाहन्नँ। तर, ओमोडा एन्ड जेकोको हकमा भने यो कुरा लागू हुँदैन। हामीले पूर्वाधार र सर्भिस सेन्टरलाई पहिलो प्राथमिकतामा राखेका छौं। अहिले नेपालभर बिर्तामोडदेखि धनगढीसम्म १७ स्थानमा हाम्रा आधिकारिक सर्भिस स्टेसन उपलब्ध छन्। हाम्रो बलियो नेटवर्क पार्टनरका कारण देशभरिकै ग्राहकले सहजै सेवा पाइरहेका छन्। कुनै पनि ब्रान्डको सफलताका लागि बिक्रीपछिको सेवा गुणस्तरीय सर्भिस सबभन्दा महत्त्वपूर्ण पक्ष हो। कम्पनीले विज्ञापन गर्नु वा शोरुमका कर्मचारीले तारिफ गर्नुभन्दा एक जना सन्तुष्ट ग्राहकले अर्को ग्राहकलाई यो गाडी खरिद गर भनेर सिफारिस गर्नु निकै प्रभावकारी हुन्छ। विगत दुई वर्षमा हाम्रो सफलताको मुख्य कारण नै यही हो। हाम्रा ग्राहक सर्भिसबाट सन्तुष्ट छन्। राम्रो सर्भिस अनुभवका कारण ग्राहकले आफ्ना साथीभाइ र परिवारलाई हाम्रो ब्रान्ड खरिद गर्न सिफारिस गरिरहेका छन्। त्यसैले हाम्रो केसमा सर्भिस शून्य छ भन्ने कुरा सत्य होइन। नेपालभर ग्राहकलाई सेवा दिने पर्याप्त नेटवर्क हामीले निर्माण गरिसकेका छौं।
तर, धेरै ग्राहकले स्पेयर पार्टस नपाएको समयमा सर्भिस नपाएको गुनासो पनि आइरहेको सुनिन्छ?
मलाई व्यक्तिगत रूपमा त्यस्तो कुनै गुनासो आएको छैन। हाम्रो सर्भिस सेन्टरमा आउने ग्राहकसँग कुरा गर्दा पनि त्यस्तो समस्या देखिएको छैन। अलिकति समस्या भने गत वर्ष भएको थियो। चीनबाट आउने बोर्डर पोइन्ट करिब साढे तीनदेखि चार महिनासम्म बन्द भएको कारण केही स्पेयर पाट्र्स आउन ढिलो भएको थियो। तर, त्यसबेला पनि हामीले ग्राहकलाई ढिलाइ हुनुको कारण स्पष्ट रूपमा बुझाएका थियौं। त्यो अवस्था हाम्रो नियन्त्रणबाहिरको थियो। स्पेयर पाट्र्स बोर्डरसम्म आइपुगेका थिए, तर बाटो बन्द भएकाले ल्याउन सकिएको थिएन।
तर, त्यसबाहेक ग्राहक अत्यन्तै असन्तुष्ट भएको भन्ने अवस्था मसँग आएको छैन। व्यक्तिगत रूपमा पनि कसैले सर्भिसिङसम्बन्धी गुनासो लिएर सम्पर्क गरेमा म आफैं त्यसलाई हेर्छु। मैले भनेझैं गाडीको बिक्रीका लागि सर्भिस सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।
सरकारले दिएको कर छुटका कारण मात्र ईभी गाडी ५० लाखमा पाएका हौं। यदि यसको पेट्रोल भर्सन आउने हो भने मूल्य १ करोड रुपैयाँभन्दा बढी अर्थात् डबलभन्दा बढी हुन्थ्यो।
इन्धन सवारीसाधनको तुलनामा ईभीका स्पेयर पार्टस् एकदमै महँगो हुनुको कारण के हो?

पहिलो कुरा के बुझ्नुपर्छ भने कर अन्तरका कारण महँगो गाडी सस्तोमा पाइरहनुभएको हो। उदाहरणका लागि, जुन फिचर्स भएको ईभी ग्राहकले ५० लाख रुपैयाँमा खरिद गरिरहेका छन् त्यस्तै सुविधा भएको पेट्रोल गाडी खरिद गर्दा त्यसको मूल्य झन्डै १ करोड ३० लाखदेखि १ करोड ४० लाख रुपैयाँसम्म पर्न जान्छ। स्वाभाविक रूपमा करोडभन्दा बढी मूल्य पर्ने गाडीको स्पेयर पार्टस् महँगो नै हुन्छ। अर्को कुरा यी गाडीमा अत्याधुनिक सेन्सर जडान गरिएका हुन्छन्। यो एडास लेभल २ वा त्योभन्दा पनि माथिल्लो स्तरको अत्यन्त सुरक्षित प्रविधि हो। अब गाडी ठोकिँदा ती सेन्सर भत्किए वा फुटे भने तिनको लागत त पक्कै पनि बढी नै हुन्छ। हामीले ५० लाखको ईभीलाई ५० लाखकै पेट्रोल गाडीसँग तुलना गरिरहेकाले मात्र यो महँगो लागेको हो।
हामीले के बुझ्नुपर्छ भने सरकारले दिएको कर छुटका कारण मात्र ईभी गाडी ५० लाखमा पाएका हौं। यदि यसको पेट्रोल भर्सन आउने हो भने मूल्य १ करोड रुपैयाँभन्दा बढी अर्थात् डबलभन्दा बढी हुन्थ्यो। अब एक करोडको गाडी ठोकियो भने त्यसको स्पेयर पार्टसको खर्चलाई ५० लाखको गाडीसँग तुलना गर्न त मिल्दैन नि। एउटा कारण यो हो भने अर्कोचाहिँ प्रविधिका हिसाबले यो गाडी निकै आधुनिक छ। यो प्रविधि र फिचर्सका कारण पनि यसको लागत अलिकति बढी भएको हो ईभीको स्पेयर पार्टस् अलि महँगो भएकामा म सहमत छु।
ग्राहकलाई यो कुरा बुझाउन नसक्नुभएको हो त?
बुझ्ने ग्राहकले यो कुरा पक्कै पनि बुझ्नुभएको छ। गाडीमा क्यामेरा राखिएका हुन्छन्। क्यामेरा फुट्यो भने क्यामराकै मूल्य लाग्छ। सामान्य ५० लाखको पेट्रोल गाडीमा ३६० डिग्री क्यामेरा हुँदैन। अब क्यामरा नभएपछि त्यहाँ सामान्य प्लास्टिकको भाग (कम्पोनेन्ट) मात्र हुन्छ, जसको मूल्य सस्तो पर्छ। तर, ईभीमा अत्याधुनिक प्रणाली हुने भएकाले यसको मूल्य फरक परेको हो। ग्राहकलाई यो कुरा बुझाउँदा उहाँहरूले सजिलैसँग बुझ्नुहुन्छ।
ग्राहकले कुनै पनि समानबारे सबै पक्ष बुझेर मात्र किन्ने गर्छन्। कसैले जबर्जस्ती गाडी वा कुनै सामान किन्न बाध्य बनाइरहेको हुँदैन। कुनै पनि उत्पादन किन्नुअघि त्यसको सर्भिस सेन्टर छ कि छैन, आफैं गएर हेर्नुस्।
अहिले जुन स्पेयर पाट्र्स अभाव र सर्भिस सेन्टरको समस्या छ, यसलाई समाधान गर्न के गर्न सकिन्छ? यसमा तपाईको धारणा के छ?
मैले कुनै सामान खरिद गर्दा त्यसको मर्मत सुविधा पाउँदिनँ भने त्यो सामान कदापि किन्दिनँ। कसैले कसैलाई पनि जबरजस्ती सामान किन्न बाध्य पार्न सक्दैन। त्यसैले व्यवसाय चलाउन आफ्ना ग्राहकलाई सन्तुष्ट राख्नैपर्छ। कतिपय ठाउँमा यसलाई लिएर नियमनका कुरा उठ्ने गर्छन्। मलाई एउटा कुरा अचम्म लाग्छ। हामी ग्राहकलाई किन मुर्ख ठान्छौं? ग्राहक मूर्ख होइनन्, उनीहरू निकै चलाख र सचेत छन्। ग्राहकले कुनै पनि समानबारे सबै पक्ष बुझेर मात्र किन्ने गर्छन्। कसैले जबर्जस्ती गाडी वा कुनै सामान किन्न बाध्य बनाइरहेको हुँदैन। कुनै पनि उत्पादन किन्नुअघि त्यसको सर्भिस सेन्टर छ कि छैन, आफैं गएर हेर्नुस्। त्यसको सर्भिस ब्याकअप कस्तो छ र पुराना ग्राहक सन्तुष्ट छन् कि छैनन् भन्ने कुरा पक्कै पनि बुझ्नुपर्छ। तर, हामी किन यस्तो अनुमान गर्छौं कि ग्राहक मूर्ख छन् र शोरुममा छिर्नेबित्तिकै सेल्सम्यानले जबरजस्ती गाडी भिडाइदिन्छ? यो सत्य होइन। ग्राहकले हरेक कुरा बुझेर मात्र निर्णय लिन्छन्। बजारको नियम नै यही हो। जसले राम्रो सर्भिस दिँदैन, उसको उत्पादन बिक्दैन। वास्तविक यथार्थ नै यही हो।
अहिले धेरै व्यवसायीले एउटा ब्रान्डमा मात्र नभइ ४–५ वटा ब्रान्ड ल्याएर बिक्री गरिरहेका छन्। एउटै ब्रान्डलाई मात्र फोकस गरेर बेच्दा व्यवसाय अझ राम्रो हुन्थ्यो होला नि? धेरै ब्रान्ड बिक्री गर्दा ग्राहक पनि कन्फ्युज हुन्छन्। ग्राहकलाई कसरी बुझाउनुहुन्छ?
जब चेरी ग्रुप आफैंले तीनवटा ब्रान्ड बनाइरहेको छ भने उनीहरूले पनि केही सोचेरै यो रणनीति अपनाएका होलान् भन्ने बुझ्नुपर्छ। यस अन्तर्गत ओमोडा एण्ड जेको, आइकर जस्ता ब्रान्डहरू छन्, जुन चेरी ग्रुप अन्तर्गतका हुन् र नेपालमा उपलब्ध छन्।
ग्राहकको आफ्नै रोजाइ हुन्छ। एउटा ब्रान्डले निश्चित फिचर्स र निश्चित वर्गलाई केन्द्रित गरेर उत्पादन गर्छ भने अर्को ब्रान्डले अर्काे प्रकारको ग्राहकलाई फोकस गरेर मोडल डिजाइन गर्छ। हाम्रो कुरा गर्दा हामी चेरी ग्रुपका तीनवटा ब्रान्डसँग काम गरिरहेका छौं। जब चेरी ग्रुप आफैंले तीनवटा ब्रान्ड बनाइरहेको छ भने उनीहरूले पनि केही सोचेरै यो रणनीति अपनाएका होलान् भन्ने बुझ्नुपर्छ। यस अन्तर्गत ओमोडा एण्ड जेको, आइकर जस्ता ब्रान्डहरू छन्, जुन चेरी ग्रुप अन्तर्गतका हुन् र नेपालमा उपलब्ध छन्।
यी ब्रान्डमा के फरक छ भने, चेरीले सानो ह्याचब्याक र अर्बन क्रसओभर गाडी लिएर आइरहेको छ। त्यसको आफ्नै एउटा निश्चित मूल्य छ। त्यस्ता गाडी ओमोडा एण्ड जेकोको प्रोडक्ट लाइनअपमा पर्दैनन्। कि त मैले त्यो क्याटेगरीमा गाडी नै बेच्नु भएन, कि त ओमोडा र जेको बिक्री गर्दै गर्दा त्यो वर्गका ग्राहकका लागि अर्को विकल्प राख्नुपर्यो। अर्कोतर्फ आइकर एउटा लाइफस्टाइल प्रोडक्ट हो, जसको बक्सी डिजाइन, रेट्रो र क्लासिक लुक छ। यी ब्रान्डले ग्राहकले खोजेका फरक–फरक आवश्यकता र पक्षलाई ध्यानमा राख्दै काम गरिरहेका छन्। ओमोडा बढी फेसनेबल र क्रसओभर स्टाइलिङमा छ भने जेको बढी आउटडोर (अफरोड यात्रा) का लागि उपयुक्त छ। उनीहरूले आफ्ना उत्पादनलाई त्यसरी नै वर्गीकृत गरेका छन्। विभिन्न वर्गका ग्राहकको रोजाइ फरक–फरक हुन्छ। एउटा व्यवसायीका रूपमा हामीले हरेक ग्राहकलाई मन पर्ने उत्पादन ल्याउनुपर्ने हुन्छ, त्यसैले हामीले यो ‘मल्टी–ब्रान्ड स्ट्राटेजी’ अपनाएका हौं।
अहिलेको एकदमै महत्त्वपूर्ण विषय भनेको ब्याट्री व्यवस्थापन हो। यसका लागि नाइमाले केही योजना बनाएको छ? यस विषयमा तपाईंहरूको छलफल भएको छ कि छैन?

सरकारको नियमअनुसार नेपालमा विद्युतीय गाडी आयात गर्नुभन्दा अगाडि नै ब्याट्री व्यवस्थापनको योजना पेस गर्नुपर्छ। त्यसैले गाडी आयात सुरु गर्नुभन्दा पहिले नै एउटा अन्तर्राष्ट्रिय कम्पनीसँग व्यावसायिक सम्झौता (टाई–अप) गरिसकेका हुन्छौं। यसले गाडीको ब्याट्रीको आयु सकिएपछि वा त्यो प्रयोग गर्न नमिल्ने भएपछि यहाँबाट स्क्रापका रूपमा उठाएर आफ्नो रिसाइक्लिङ सेन्टरमा लैजानेछ। बजारमा यो कुरा पटक–पटक उठ्ने गरेको छ कि नेपालमा ईभीको ब्याट्री बिग्रिएपछि हामी त्यसै फ्याँकिदिन्छौं र त्यसले वातावरणीय जोखिम निम्त्याउँछ; तर वास्तविकता त्यस्तो होइन।
ईभी भित्रिएको देखेर डम्पिङ साइट नै बन्छ भन्ने कुराहरू पनि आइरहेका छन् नि?
अहिले ब्याट्रीमा ११–१२ वर्षसम्मको लामो वारेन्टी आइरहेको छ। त्यसैले भोलि यो डम्पिङ बन्छ भनेर नकारात्मक दृष्टिकोणले सोच्नुहुँदैन। त्यस्तो डम्पिङ साइट पक्कै बन्दैन।
नेपालको सन्दर्भमा सरकारले आयातकर्तालाई स्पष्ट रूपमा के नियम तोकेको छ भने जब गाडी वा ब्याट्रीको आयु सकिन्छ, त्यसलाई अनिवार्य रूपमा नेपालबाहिर पठाउनुपर्छ। यो व्यवस्था हामीले पहिलेदेखि नै पालना गर्दै आइरहेका छौं। अर्को कुरा के बुझ्नुपर्छ भने अहिले ब्याट्रीमा ११–१२ वर्षसम्मको लामो वारेन्टी आइरहेको छ। त्यसैले भोलि यो डम्पिङ बन्छ भनेर नकारात्मक दृष्टिकोणले सोच्नुहुँदैन। त्यस्तो डम्पिङ साइट पक्कै बन्दैन। पुरानो ब्याट्रीलाई अन्य धेरै कुरामा पुनः प्रयोग (मल्टिपल युजेज) गर्न सकिन्छ।
मेरो विचारमा सरकारले विज्ञहरू राखेर यस विषयमा गहिरो अध्ययन गर्नुपर्छ। हामीले प्रयोग भइसकेका ती ब्याट्रीलाई नेपालभित्रै कसरी सदुपयोग गर्न सकिन्छ भनेर सोच्न जरुरी छ। एउटा ब्याट्रीभित्र निकेल, कोबाल्ट जस्ता धेरै बहुमूल्य खनिजहरू हुन्छन्। विदेशी कम्पनीहरूले हाम्रो कबाडी ब्याट्री किन सित्तैमा लगिरहेका होलान्। त्यो बुझौं किनभने त्यसमा ठुलो भ्यालु छ। उनीहरूले यहाँबाट लगेर त्यसलाई प्रोसेसिङ गर्छन् र खनिज छुट्याएर पुनः बिक्री गर्छन्।
हाम्रो देशमा अहिलेसम्म यसरी देशभित्रै व्यवस्थापन वा सदुपयोग गर्ने स्पष्ट ब्याट्री म्यानेजमेन्ट पोलिसी छैन। वर्तमान सरकारले यसलाई वैज्ञानिक रूपमा अध्ययन गरेर एउटा निश्चित मापदण्ड बनाउनुपर्छ। हामीले पैसा तिरेर सामान ल्याइसकेका छौं। अनि पछि विदेशी कम्पनीलाई यो हाम्रो कबाडी हो, कृपया, यहाँबाट लिएर जानुस् भन्दै सित्तैमा दिइरहेका छौं। तर, त्यो कबाडी मात्र होइन, त्यसभित्र बहुमूल्य खनिज छन्। त्यसैले एउटा निश्चित मापदण्ड बनाएर नेपालमै यसको प्रोसेसिङ गर्ने व्यवस्था मिलाउनु आवश्यक छ।
त्यो ब्याट्री पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैन?
ब्याट्रीमा विभिन्न प्रकारका ड्यामेज हुन्छन्। कतिपय ब्याट्री यस्ता हुन्छन्, जसलाई पुनः प्रयोग गर्न मिल्छ। तर, अहिले नेपालमा नियमअनुसार ईभीबाट निस्किएपछि त्यो ब्याट्रीलाई यहाँ पुनः प्रयोग गर्न पाइँदैन। साझेदार कम्पनीले मलाई एउटा सुझाव दिएको थियो–ब्याट्री पुराना हुँदा त्यसका केही सेल मात्र डेड हुन्छन्, जसले गर्दा त्यो गाडी चलाउन उपयुक्त हुँदैन। तर, त्यसमा ऊर्जा भण्डारण गर्ने क्षमता (स्टोरेज क्यापासिटी) अझै बाँकी नै हुन्छ। त्यसैले ती ब्याट्रीलाई दुर्गम गाउँहरूमा उपलब्ध गराउन सकिन्छ, जहाँ दिउँसो बिजुली वा सोलारबाट चार्ज गरेर राति प्रयोग गर्न सकिन्छ। हामीकहाँ यस्तो व्यवस्था गर्ने कुनै पोलिसी नै छैन। त्यसैले अहिलेको अवस्थामा ती ब्याट्रीलाई स्क्र्याप गर्न हामीले अनिवार्य रूपमा भारत वा अन्य देश पठाउनुपर्ने बाध्यता छ।
वातावरणीय जोखिमको कुरा कहाँबाट आयो? मैले बुझ्न सकेको छैन किनभने सरकारले तोकेको अहिलेको नियम एकदमै स्पष्ट छ। ब्याट्रीको आयु सकिएपछि त्यसलाई अनिवार्य रूपमा नेपालबाहिर पठाउनुपर्छ।
त्यसो भए ब्याट्री व्यवस्थापनको समस्या पूर्ण रूपमा समाधान हुन्छ?
खास अहिले समस्या नै छैन। यो हामीले नकारात्मक तरिकाले कल्पना गरेको हो–ईभी आयो, यहाँ डम्प भयो। ईभी नयाँ टेक्नोलोजी भएकाले यसलाई हामीले अपनाउन कठिन भएको मात्र हो। अहिले बजारमा गाडी ठोक्किँदा पनि हामी इलेक्ट्रिक गाडी ठोक्कियो भन्छौं। तर, पेट्रोल गाडी ठोकिँदा पेट्रोल गाडी ठोकियो भन्दैनौं वा बस दुर्घटना हुँदा डिजेल बस दुर्घटना भयो भन्दैनौं। हामीकहाँ एउटा यस्तो प्रवृत्ति छ कि जब कुनै नयाँ प्रविधि भित्रिन्छ वा कसैले राम्रो काम गरिरहेको हुन्छ, हामी सुरुमै त्यसलाई नकारात्मक पक्षबाट हेर्न थाल्छौं।
यो ईभीको ब्याट्री डम्प हुने विषयमा जुन हल्ला चलिरहेको छ, कहाँ डम्प भएको छ त? गाडी आयात गर्नुभन्दा अगाडि नै सरकारले आयातकर्तालाई सोध्ने गर्छ। भोलि यो ब्याट्री डेड भयो भने तपाईंले के गर्नुहुन्छ? यसलाई कहाँ स्क्रयाप गर्नुहुन्छ? हामीले ती ब्याट्रीहरूलाई कसरी भण्डारण (स्टोर) गर्ने र स्क्रयाप गर्न नेपालबाहिर कुन कम्पनीसँग सम्झौता गरिएको छ भन्ने कुराको स्पष्ट विवरण सरकारलाई बुझाउनुपर्छ। त्यो विवरण स्वीकृत भएपछि मात्र गाडी आयात गर्न पाइन्छ। जब प्रक्रिया नै यति स्पष्ट छ भने यहाँ वातावरणीय जोखिमको कुरा कहाँबाट आयो? मैले बुझ्न सकेको छैन किनभने सरकारले तोकेको अहिलेको नियम एकदमै स्पष्ट छ। ब्याट्रीको आयु सकिएपछि त्यसलाई अनिवार्य रूपमा नेपालबाहिर पठाउनुपर्छ। त्यसैले यहाँ वातावरणीय क्षतिको कुनै कुरै उठ्दैन।
भर्खरै जारी मौद्रिक नीतिलाई कसरी समीक्षा गर्नुहुन्छ?
हामीले सवारी साधन कर्जा प्रवाह गर्दा कायम गरिने डाउन पेमेन्ट र ‘लोन टु भ्यालु रेसियो’ लाई व्यावहारिक बनाउन माग गरेका थियौं। कर्जाको पहुँच सहज हुनुप¥यो, जसले गर्दा बैंकमा रहेको अधिक तरलता कर्जाका रूपमा खपत हुन सकोस्।
हामीले मौद्रिक नीतिबाट धेरै अपेक्षा गरेका थियौं। अहिलेको अवस्थामा बैंकहरूमा अत्यधिक तरलता छ। अटोमोबाइल क्षेत्रको कुरा गर्दा, गाडी वा बाइक बिक्री हुँदा सरकारलाई राजस्व त उठ्छ नै, तर त्योभन्दा महत्त्वपूर्ण कुरा यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ। देशमा जति मोबिलिटी बढ्छ र ढुवानी प्रणाली सुधारिन्छ, त्यति नै अर्थतन्त्रका लागि राम्रो हुन्छ। हामीले सवारी साधन कर्जा प्रवाह गर्दा कायम गरिने डाउन पेमेन्ट र ‘लोन टु भ्यालु रेसियो’ लाई व्यावहारिक बनाउन माग गरेका थियौं। कर्जाको पहुँच सहज हुनुपर्यो, जसले गर्दा बैंकमा रहेको अधिक तरलता कर्जाका रूपमा खपत हुन सकोस्। यसबाट ग्राहकलाई पनि गाडी वा बाइक किन्न सुविधा पुग्छ, सरकारको राजस्व पनि उठ्छ र देशको समग्र आर्थिक गतिविधिमा सुधार आउँछ। तर, गभर्नरज्यूले यस पटकको मौद्रिक नीतिमा यी कुरालाई सम्बोधन गर्नुभएन। के अपेक्षा छ भने आगामी दिनमा आउने मौद्रिक नीतिको समीक्षा वा नयाँ नीतिमा अलिकति सुस्त भएको अर्थतन्त्रलाई फेरि चलायमान बनाउन केही न केही प्रोत्साहनमूलक प्याकेज वा नीतिगत सहजता पक्कै ल्याइनेछ।