काठमाडौं। चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा ल्याएको छ। योसँगै चीनमा सञ्चालित रेल लाइनको दूरी ५० हजार किलोमिटर पार गरेको छ।
चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको इतिहास रचेको छ। यो रेल सञ्जालले चीनभित्र मात्र नभई क्षेत्रीय आर्थिक एकीकरण र विकासलाई समेत साथ दिने भएको छ।
चिनियाँ सञ्चार माध्यम सीसीटीभीका अनुसार नयाँ उच्चगतिको रेल सेवा चीनको ऐतिहासिक र सांस्कृतिक रूपमा प्रसिद्ध सिआन सहरबाट सुरु भई उत्तरतर्फ यानान सहरसम्म सञ्चालनमा आएको हो। यी दुवै सहर उत्तरी चीनको साङ्सी प्रान्तमा पर्दछन्।
यस रेल परियोजनाको निर्माण सन् २०२० मा सुरु भएको थियो। त्यतिबेला विस्थापित भएका बासिन्दालाई प्रतिघर पाँच हजार युआन (करिब ७०० अमेरिकी डलर)का दरले मुआब्जा दिएको समाचारमा जनाइएको छ।
राज्यको स्वामित्वमा रहेको चाइना रेलवेले शुक्रबार जारी गरेको विज्ञप्तिमा सन् २०२० को तुलनामा चीनको समग्र रेल नेटवर्क करिब ३२ प्रतिशतले विस्तार भएको उल्लेख गरिएको छ। यसलाई यातायात पूर्वाधारमा गरिएको दीर्घकालीन लगानीको परिणामका रूपमा हेरिएको छ।
सि९३०९ नामक ट्रेन अधिकतम ३५० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुने बताइएको छ। यस गतिले जापानको प्रसिद्ध शिन्कान्सेन रेललाई समेत उछिनेको छ।
सिआन–यान उच्चगतिको रेल लाइनको कुल लम्बाइ २९९ किलोमिटर रहेको छ। सबैभन्दा छिटो यात्रामा यस दूरी पार गर्न ६८ मिनेट मात्र लाग्ने समाचारमा जनाइएको छ। यो सेवाले दुवै सहरबीचको दूरीलाई छोट्याएको छ।
यसैबीच, बेइजिङले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत अन्य एसियाली मुलुकमा रेल पूर्वाधार विकासका लागि आर्थिक सहयोग गर्दै आएको छ।