काठमाडौं। नेपालको तार, केबुल तथा कन्डक्टर उत्पादक लिटमस इन्डस्ट्रिजका उत्पादनले सीमापार विद्युत् परियोजना निर्माणमा आफ्ना उत्पादन प्रयोग गर्ने स्वीकृति पाएको छ।
भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया (पीजीसीआईएल) र कम्पनीका उच्च क्षमताका उत्पादन प्रयोग गर्न विद्युत् प्रसारण लाइन आपूर्तिसम्बन्धी दुई पक्षबीच सम्झौता भएपछि लिटमस सीमापार विद्युत् प्रसारण परियोजनाका लागि छनोट हुने एक मात्र नेपाली उत्पादक बनेको छ।
यसले देशको प्राविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने लिटमसको दाबी छ। पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय हो, जसले देशको अन्तरराज्य तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्दै आएको छ।
सम्झौताअनुसार लिटमसले ४०० केभी एसीएसआर मुस कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ। यी कन्डक्टर नेपालको ढल्केबर र भारतको बथनाहा सीमापार विद्युत् प्रसारण लाइन परियोजनामा प्रयोग गरिनेछ।

उक्त प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ। नेपालमै पहिलो पटक ४०० केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको हो। परियोजना स्वीकृत गर्नुअघि पावर ग्रीड कर्पोरेसन अफ इन्डियाले लिटमस इन्डस्ट्रिजका कारखानाको विस्तृत मूल्यांकन गरेको थियो।
यस क्रममा उत्पादन प्रक्रिया, उत्पादन क्षमता, गुणस्तर नियन्त्रण तथा परीक्षण प्रणाली, साथै समग्र कारखाना पूर्वाधारको समीक्षा गरिएको थियो। मूल्यांकनपछि लिट्मस् इन्डस्ट्रिजलाई परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्न योग्य एक मात्र नेपाली उत्पादकका रूपमा स्वीकृति दिएको छ। लिट्मसले अन्तराष्ट्रिय प्रतिस्पर्धामा सामेल भएर छनोट हुनु नेपालका लागि गौरवको विषय भएको कम्पनीको भनाइ छ।
कम्पनीले बुटवल र नवलपरासीमा अवस्थित दुई अत्याधुनिक उत्पादन केन्द्र सञ्चालन गरिरहेको छ। यसमा नेपालमै पहिलो पटक स्थापना गरिएको एल्युमिनियम रड उत्पादन प्लान्ट पनि समावेश छ।
ढल्केबर–बथनाहा प्रसारण लाइन नेपालका महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित मुख्य सीमापार संयोजन हो। ९०० मेगावाट क्षमताको यो आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। यसले औद्योगिक विकासलाई सहयोग गर्ने र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्न सघाउनेछ।
लिटमस इन्डस्ट्रिजसँग ठूला प्रसारण परियोजनामा काम गरेको प्रमाणित अनुभव छ। यसअघि कम्पनीले हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरणलाई ४०० केभी एसीएसआर मूस कन्डक्टर ३,६०० किलोमिटर आपूर्ति गरिसकेको छ। यो परियोजना नेपालका महत्त्वपूर्ण आन्तरिक प्रसारण मार्गमध्येको हो।
हालको स्वीकृतिले लिटमसलाई विश्वसनीय अन्तर्राष्ट्रिय आपूर्तिकर्ताका रूपमा स्थापित गरेको कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए। उनले भने, ‘यसले नेपाली उद्योगको विस्तार हुँदै गएको भूमिका उजागर गर्छ। साथै, सीमापार ऊर्जा पूर्वाधार विकासमा नेपालको सहभागिता सशक्त बन्दै गएको संकेत पनि हो।’
लिटमस रमेश कर्प समूहअन्तर्गतको उद्योग चार दशक सन् १९७७ देखि नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको उद्योग हो। कम्पनीले औद्योगिक तथा पूर्वाधार विकास परियोजनाका लागि मध्यम भोल्टेज एक्सएलपीई आवरणयुक्त कन्डक्टर, एसीएसआर कन्डक्टर, एरियल बन्च्ड केबल, न्यून भोल्टेज पावर केबल तथा कन्ट्रोल केबल पनि उत्पादन गर्दै आएको छ।

लिटमसले घरायसी विद्युत् जडानका लागि लिट्मस् केबल्स, जसमा एफआरएलएस केबल र इकोवायर–जेडएच हलोजनरहित तार समावेश छन्। उत्पादन तथा आपूर्ति गर्दछ।कम्पनीले बुटवल र नवलपरासीमा अवस्थित दुई अत्याधुनिक उत्पादन केन्द्र सञ्चालन गरिरहेको छ। यसमा नेपालमै पहिलो पटक स्थापना गरिएको एल्युमिनियम रड उत्पादन प्लान्ट पनि समावेश छ।
लिटमसले आफ्ना सबै उत्पादन तथा प्रक्रिया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर र सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्दै आएको छ।