काठमाडौं। नेपालको दाल उद्योगमा स्थापित नारायणी मोर्डन पल्सेस इन्डस्ट्रिजले पछिल्लो एक वर्षमा करिब २ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ। केयर रेटिङ नेपालका अनुसार आर्थिक वर्ष २०२५ मा उद्योगले कुल १ अर्ब ९५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार (सञ्चालन आम्दानी) गरेको हो।
उद्योगले अघिल्लो आर्थिक वर्ष २०२४ मा २ अर्ब १६ करोड ४० लाख रुपैयाँ र आव २०२३ मा २ अर्ब ६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। अघिल्लो वर्षको तुलनामा व्यापारमा करिब १० प्रतिशतको गिरावट देखिए पनि उद्योगले आफ्नो व्यावसायिक आकारलाई २ अर्बकै हाराहारीमा कायम राख्न सफल भएको छ। यो उद्योग नेपालको प्रतिष्ठित व्यावसायिक घराना चाचान ग्रुपद्वारा प्रवद्र्धित हो। सन् १९९४ मा स्थापना भएको यो एक साझेदारी फर्म हो।
यसको नेतृत्व मोहन लाल अग्रवाल र श्रवण कुमार चाचानले गरिरहेका छन्, जोसँग दाल व्यापारमा तीन दशकभन्दा लामो अनुभव छ। चाचान ग्रुपको सिमेन्ट, तेल र अन्य खाद्यान्न उद्योगमा पनि ठूलो लगानी रहेको छ। बाराको लिपिनीमालमा उद्योग रहेको यो संस्थाले मुसुरो, मटर र मुगीको दाल प्रशोधन गरी देशभरका मुख्य सहरहरूमा बिक्री गर्दै आएको छ। उद्योगको वार्षिक उत्पादन क्षमता ५० हजार मेट्रिक टन रहेको छ।
व्यापारको आयतन उत्साहजनक देखिए पनि उद्योगको अत्यधिक ऋण भार र कमजोर पुँजीगत संरचनाका कारण यसको वित्तीय साख (रेटिङ) मा भने गिरावट आएको छ। केयर रेटिङ नेपालले उद्योगले बैंकहरूबाट उपयोग गर्ने कुल १ अर्ब ८३ करोड ५५ लाख रुपैयाँ बराबरको ऋण सुविधाका लागि रेटिङ सार्वजनिक गरेको छ।
एजेन्सीले उद्योगको १६ करोड ५४ लाख रुपैयाँको दीर्घकालीन ऋणका लागि यसअघिको ‘डबल बी माइनस’ बाट एक तह घटाएर ‘सिंगल बी प्लस’ रेटिङ प्रदान गरेको छ। त्यस्तै, १ अर्ब ६७ करोडको अल्पकालीन ऋणका लागि ‘एफोर’ रेटिङलाई पुनः पुष्टि गरेको छ। यी रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा उच्च जोखिम रहेको र वित्तीय सुरक्षाको आधार कमजोर रहेको संकेत गर्दछ।
नारायणी मोर्डन पल्सेसको सबैभन्दा ठूलो चुनौती यसको कमजोर पुँजीगत संरचना हो। विगतका दुई आर्थिक वर्ष (२०२३ र २०२४) मा उद्योगले निरन्तर खुद नोक्सानी बेहोरेका कारण यसको स्वपुँजी निकै खिइएको छ। सन् २०२५ को अन्त्यसम्म उद्योगको कुल ऋण र पुँजीको अनुपात २५.७३ गुणा पुगेको छ। यसको अर्थ उद्योगमा सञ्चालकहरूको १ रुपैयाँ लगानी हुँदा बैंकको ऋण २५ रुपैयाँभन्दा बढी पुगेको छ।
यस्तो उच्च ऋणको भार र सञ्चालन मुनाफा कम हुँदा ब्याज तिर्ने क्षमता १.१० गुणामा खुम्चिएको छ। आम्दानीको ठूलो हिस्सा बैंकको ब्याज र किस्तामै खर्च हुने भएकाले उद्योगलाई नगद प्रवाह व्यवस्थापनमा कठिनाइ भइरहेको हो।
नेपालको दाल उद्योग पूर्ण रूपमा आयातमा निर्भर छ। यस उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको ९६ प्रतिशत हिस्सा विदेशबाट आयात गरिन्छ। डलरको विनिमय दरमा हुने उतारचढाव र भारतको निर्यात नीतिले यसको लागतलाई प्रत्यक्ष असर पार्ने गरेको छ। चालुपुँजीको सघनता उच्च हुनु र उधारो असुली अवधि १७९ दिनबाट बढेर २०३ दिन पुग्नुले उद्योगलाई बैंक ऋणमा झन् बढी आश्रित बनाएको छ। आगामी दिनमा नाफाको मार्जिन सुधार गर्दै बैंकको ऋण घटाउनु नै उद्योगको मुख्य काम रहेको प्रतिवेदनले औँल्याएको छ।