पछिल्लो समय नेपालमा उद्यम तथा व्यावसायिक क्षेत्रमा महिला नेतृत्वको बाक्लो उपस्थिति देखिन थालेको छ। सफल व्यवसाय बन्न पुँजी मात्र भएर हुँदैन। त्यसका लागि गहिरो शैक्षिक आधार, कार्यकुशलता र निरन्तर लगाव आवश्यक पर्ने महिला उद्यमी ब्युटी कुमारी सर्राफ बताउँछिन्। अन्तर्राष्ट्रिय बेबी केयर ब्रान्ड आइबीबीको नेपालका लागि आधिकारिक बिक्रेता शुभम हेल्थकेयर प्रोडक्ट्स प्रालिकी प्रबन्ध निर्देशकसमेत रहेकी सर्राफ सफल एवं आत्मनिर्भर महिला उद्यमीको रुपमा परिचित छन्।
भारतको उत्तराखण्डस्थित क्वान्टम ग्लोबल युनिभर्सिटीबाट बीबीएमा तीन वर्ष निरन्त (ब्याच टपर) सर्राफ हाल चार्टर्ड एकाउन्टेन्सी कोर्स एसीसीएमा अध्ययनरत छन्। ग्रामीण भेगको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी सर्राफ सानैदेखि माइतीको किराना पसलमा काउन्टर सेल्स गर्दै व्यावसायिक अनुभव बटुलिन्। यही अनुभव र सीपलाई आधार बनाएर श्रीमान्सँग मिलेर व्यवसाय सुरु गरेकी सर्राफ अन्तर्राष्ट्रिय बेबी केयर ब्रान्ड ‘आइबीबी’लाई नेपाली बजारमा स्थापित गराउने प्रमुख पात्र बनेकी छन्।
विगत पाँच वर्षदेखि नेपाली बेबी केयर बजारमा गुणस्तरीय सामान आयात तथा बिक्री गर्दै आएकी सर्राफसँग चुनौतीपूर्ण नेपाली बजार, व्यावसायिक यात्रा, महिला उद्यमशीलताका अवसर र चुनौती विषयमा क्यापिटलकर्मी कमला भण्डारीले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंको व्यावसायिक यात्रा कसरी सुरु भयो? यो क्षेत्र रोज्नुका पछाडि केही खास कारण छ?
व्यावसायिक यात्रा मेरो भन्दा पनि हाम्रो भन्नुपर्छ। यो यात्रा श्रीमान्सँगै सुरु गरेका हौं। हामीले लकडाउन हुनुअगाडि क्षेत्रपाटीबाट होलसेल पसलबाट कामको सुरुआत गरेका थियौं। त्यहाँ म सेल्सको काम हेर्थें भने श्रीमानले मार्केटिङ र बाहिरको बिक्री हेर्नुहुन्थ्यो। काम गर्ने क्रममा व्यापार निकै राम्रो भयो। ग्राहकले डिल गर्ने शैली मन पराएपछि, यसलाई ठूलो मात्रामा लैजान सकिन्छ कि भन्ने सोच्यौं। त्यसपछि हामीले चीनबाट सामान आयात सुरु ग¥यौं। यिनमा सर्जिकल सामान पनि थिए। श्रीमान्लाई पहिल्यैदेखि बिजनेसको अनुभव थियो। उहाँले विभिन्न हस्पिटलमा ट्वाइलेट पेपरलगायत सामग्री सप्लाइ गर्नुहुन्थ्यो। मलाई पनि सानैदेखि सेल्सको अनुभव थियो। आफ्नो होमटाउनमा बुबाको काउन्टर सेल्स मैले सम्हाल्थें। विवाहपछि हामी दुवैको अनुभवलाई जोडेर क्षेत्रपाटीबाट यो यात्राको सुरुआत गरेका हौं।

सुरुमा हामी सर्जिकल सामान र हस्पिटल सप्लाइमा मात्र केन्द्रित थियौं। श्रीमानले मेडिसिटीलगायतका हस्पिटलमा ‘ट्वाइलेट पेपर’ र अन्य सामग्री सप्लाइ गर्नुहुन्थ्यो। काम गर्दै जाँदा हामीले नेपालको बजार अध्ययन गर्दा डाइपर श्रेणीमा एउटा ठूलो ‘ग्याप’ देख्यौं। दाइ अस्ट्रेलिया र चीनमा रहेकाले उनीहरूमार्फत यो ब्रान्डबारे जानकारी पायौं। त्यसपछि हामीले आइबीबी ब्रान्डबारे अनुसन्धान गर्यौं। तत्कालीन समयका लिडिङ ब्रान्डको क्वालिटी र टेक्नोलोजीमा सुधारको आवश्यकता महसुस गरेर हामीले आइबीबी ब्रान्डको डाइपरबाट आधिकारिक रूपमा यो यात्रा अघि बढायौं। त्यतिबेला यो ४० देशमा उपलब्ध थियो भने अहिले ९० भन्दा बढी देशमा पुगिसकेको छ। नेपालमा यो ब्रान्ड भित्रिएको ठ्याक्कै ५ वर्ष पूरा भएको छ। गत डिसेम्बरमा हामीले ५ वर्ष पूरा गर्यौं।
हाल आईबीबीले नेपाली बजारमा कुन–कुन उत्पादन बिक्री गरिरहेको छ?
अहिले आइबीबीले नेपालमा बेबी केयरसम्बन्धी करिब ६० वटा प्रोडक्ट बजारमा ल्याइसकेको छ, जसले राम्रो मार्केट पनि पाइसकेको छ। यद्यपि कम्पनीसँग विश्व बजारमा १०० भन्दा बढी प्रोडक्ट रहेका छन्। ती सबै अझै नेपालमा ल्याइएको छैन। हाल मुख्य रूपमा बेबी डायपर केन्द्रित प्रोडक्ट उपलब्ध छन् भने भविष्यमा वयस्क श्रेणी र पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि पनि नयाँ प्रोडक्ट ल्याउने तयारी भइरहेको छ। साथै, कम्पनीले केही नयाँ प्रोडक्ट पनि डेभलपमेन्टमा राखेको छ, जसका भिडियोहरू क्रमशः सार्वजनिक भइरहेका छन्।
छिट्टै एउटा नयाँ उत्पादन पनि आउँदै छ। यिनको प्रवर्द्धनात्मक भिडियो पनि विस्तारै सार्वजनिक भइरहेका छन्। हाम्रो टिमले अस्ट्रेलिया र नेपाल दुवै ठाउँमा सक्रिय रूपमा काम गरिरहेको छ। बजार माग र आवश्यकताअनुसार नयाँ उत्पादन थप्दै जाने हाम्रो निरन्तर प्रक्रिया हो।
अहिले बजारमा धेरै ब्रान्डका डाइपर छन्। अन्यभन्दा यो ब्रान्डमा के फरक छ?
नेपालमा डाइपर ब्रान्ड नभएको होइन। नेपालमा पहिलेदेखि नै स्थानीय उत्पादनदेखि लिएर भारतीय र अन्तर्राष्ट्रिय ब्रान्डसम्मका डायपर उपलब्ध थिए। तर, तीमध्ये धेरैजसो प्रोडक्ट या त सस्तो मूल्यमा कम गुणस्तरका थिए वा महँगो मूल्यमा मात्रै राम्रो गुणस्तर पाइन्थ्यो। आइबीबीले यही ग्याप पहिचान गरेर ‘अफोर्डेबल प्राइसमा राम्रो क्वालिटी’ अवधारणासहित २०२१ तिर बजारमा प्रवेश गरेको हो।

हामीले सस्तो वा अत्यधिक महँगोभन्दा पनि ग्राहकले तिरेको मूल्यअनुसारको उच्च गुणस्तर दिनमा केन्द्रित छौं। हामीले समय अनुसार आफूलाई परिमार्जन गर्दै लगेका छौं। हामीले ‘एस्ट्रोनर सिरिजदेखि अल्ट्राथिन म्याजिसियन सिरिज’ सम्म आइपुग्दा प्रविधि र गुणस्तरमा धेरै सुधार भएको छ। यही निरन्तरता र गुणस्तरमा सुधारका कारण बजारमा भइरहेका अन्य पुराना वा नयाँ ब्रान्डको तुलनामा आईबीबीले बजारमा फरक पहिचान बनाउन सफल भएको हो।
बजारमा डाइपर प्रयोगबारे धेरै कुरा सुनिन्छ। एउटा डाइपर कति समयसम्म प्रयोग गर्न मिल्छ? यसको कुनै निश्चित समयसीमा हुन्छ?
सामान्यतया डायपरलाई २ देखि ४ घन्टासम्म मात्र प्रयोग गर्नु उपयुक्त मानिन्छ। अन्तर्राष्ट्रिय तथा नेपाली दुवै सन्दर्भमा पनि यही सिफारिस गरिन्छ। बच्चाले छिट्टै भिजाउँछ भने त्योभन्दा अगाडि नै परिवर्तन गर्नुपर्छ। धेरै अभिभावकले खर्च बचाउने सोचले लामो समयसम्म एउटै डायपर प्रयोग गर्ने गर्छन्, तर यो राम्रो अभ्यास होइन। विशेषगरी १२ घन्टा वा त्यसभन्दा बढी समयसम्म एउटै डायपर प्रयोग गर्नुहुँदैन, त्यो पूर्ण रूपमा भरेको नदेखिए पनि।
डाइपरको अत्यधिक प्रयोगले बालबालिकाको स्वास्थ्यमा असर पर्छ भन्ने कुरा पनि सुनिन्छ। यसमा तपाईंको धारणा के छ?
धेरै समयसम्म एउटै डाइपर लगाइराख्दा बच्चाको स्वास्थ्यमा पक्कै पनि असर पर्न सक्छ। कतिपय अभिभावकले एउटै डाइपर १२ देखि १६ घन्टासम्म वा रातभरि लगाइदिने चलन छ, जुन गलत हो। डाइपर प्रयोग हुने ठाउँ अत्यन्तै संवेदनशील हुने भएकाले त्यहाँ ओस र फोहोर जम्मा हुँदा संक्रमणको जोखिम हुन्छ। यदि कुनै ब्रान्डले ‘८ घन्टासम्म धान्ने’ भनेर लेखेको छ र त्यो आधिकारिक ब्रान्ड हो भने प्रयोग गर्न सकिन्छ। तर, त्योभन्दा बढी समय एउटै डाइपर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ।
हाम्रो टिममा रहेका पेडियाट्रिसियन (बाल रोग विशेषज्ञ)को सल्लाहअनुसार पनि जतिसुकै राम्रो क्वालिटीको डाइपर भए पनि ४ देखि ६ घन्टाभन्दा बढी प्रयोग गर्नु उचित हुँदैन। रातीका लागि विशेष प्रकारका डाइपर (जस्तै, ‘एस्ट्रोनर सिरिज’) उपलब्ध छन्, जसले ८ घन्टासम्म सुरक्षा दिन सक्छन्। तर, सामान्य अवस्थामा भने समय-समयमा डाइपर फेरिरहनु नै बच्चाको स्वास्थ्यका लागि राम्रो हुन्छ।
हाल नेपाली बजारमा डाइपरको माग कस्तो छ?सहरमा त यसको प्रयोग सामान्य भइसक्यो। ग्रामीण भेगमा यसको प्रभाव र पहुँच कस्तो पाउनुभएको छ?
समग्रमा डाइपरको माग उत्साहजनक छ। हाम्रो ब्रान्ड ‘आईबीबी’को कुरा गर्दा यो पहाडी र दुर्गम भेगका हुम्ला, जुम्लाजस्ता जिल्लामा पनि पुगिसकेको छ। जब हाम्रो यो प्रोडक्ट आएको थियो, त्यो बेला अनलाइनमा जुम्लाबाट अर्डर आएको थियो- पठाओ पार्सल केही गरिदिनुहुन्छ कि भनेर। त्यो बेला हाम्रो त्यहाँसम्म लिंकक थिएन। तर, डिमान्ड त्यहाँबाट पनि आएको थियो। यसले डाइपर प्रयोग सहरमा मात्र सीमित छैन भन्ने देखाउँछ।

यसमा वैदेशिक रोजगारीको ठूलो भूमिका छ। अहिले नेपालको प्रत्येक घरबाट कोही न कोही सदस्य विदेशमा छन्। उनीहरूमार्फत आधुनिक वस्तु प्रयोग र आवश्यकताबारे ग्रामीण परिवारमा पनि चेतना पुगेको छ। सात-आठ वर्षअघि कालिकोट वा जुम्लाको जीवनशैली र अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ। अहिले दुर्गम भेगमा पनि डाइपरको कन्सेप्ट राम्रोसँग विकास भएको छ। मुख्य कुरा खरिद गर्न सक्ने/नसक्नेभन्दा पनि आवश्यकता र चेतनाको हो। मानिसले आफ्नो क्षमता र बजेटअनुसारका ब्रान्ड रोज्छन्, जुन राम्रो कुरा हो। तर, खुसीको कुरा के भने अहिले दुर्गम भेगका आमाहरूमा पनि बच्चाको सरसफाइ र आधुनिक सुविधाबारे राम्रो शिक्षा र जानकारी पुगेको छ। ग्रामीण बजारमा पनि हाम्रो उत्पादनको माग निरन्तर बढ्दो छ।
नेपालमै उत्पादन गर्ने डाइपर ब्रान्ड छन्। तपाईंहरूले अहिले आयात गरिरहनुभएको छ, आगामी दिनमा नेपालमै उत्पादन गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ?
यसको सम्भावना भन्दा पनि यो प्रविधि देशमा ल्याउन ल्याउन सक्छौ कि सक्दैनौं भन्ने हो। चाहे जे पनि गर्न सकिन्छ। नेपालमै उत्पादन गर्न सकिने सम्भावना छ। गर्न जब हामीले यो ब्रान्ड बजारमा ल्यायौं त्यो बेला स्थापित ब्रान्डको बजारमा ठूलो पकड थियो। त्यस्तो अवस्थामा पनि आज ‘लिडिङ ब्रान्ड’ बन्न सफल भएका छौं भने उत्पादन गर्न नसकिने भन्ने कुरै हुँदैन। तर, यसका लागि उपयुक्त प्रविधि र दक्ष जनशक्ति चाहिन्छ।
सबैभन्दा ठूलो चुनौती भनेको दक्ष जनशक्तिलाई दीर्घकालीन रूपमा टिकाई राख्नु हो। हामीले प्रविधि ल्यायौं र जनशक्तिलाई तालिम दिएर दक्ष बनायौं। तर, एक वर्षपछि उनीहरू वैदेशिक रोजगारीमा जाने सोच राख्छन् भने त्यो प्रोजेक्ट सफल हुन सक्दैन। कुनै पनि प्रोजेक्ट सफल हुनका लागि सेवा क्षेत्र मात्र होइन, उत्पादन क्षेत्रमा पनि इमानदार, मिहिनेती र दक्ष टिमको आवश्यकता पर्छ। प्रविधि त भित्र्याउन सकिन्छ, तर त्यो प्रविधिलाई चलाउने र निरन्तरता दिने दक्ष जनशक्ति हुनुपर्छ। यदि हामीले दक्ष जनशक्तिलाई नेपालमै रोकेर एउटा राम्रो टिम बनाउन सक्यौं भने प्राविधिक रूपमा नेपालमै यो गुणस्तरको उत्पादन गर्न सम्भव छ। अतः कुनै पनि नयाँ प्रोजेक्ट सुरु गर्दा त्यसको दीर्घकालीन प्रभाव र जनशक्ति व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने हुन्छ।
आइबीबीको उत्पादन अहिले विभिन्न देशमा हुन्छ, तर गुणस्तरमा कुनै फरक हुँदैन। यदि नेपालमा प्लान्ट राख्ने वा वैदेशिक लगानी भित्र्याउने हो भने पनि गुणस्तरमा ‘सम्झौता’ गर्न मिल्दैन। यसका लागि प्रविधिको निरन्तर अपग्रेड र ठूलो बजारको आवश्यकता पर्छ। उत्पादित सामानलाई नेपालमा मात्र नभई निर्यात गर्ने सोच पनि राख्नुपर्छ। अहिले नै हामी उत्पादनका लागि पूर्ण तयारी अवस्थामा नभए पनि भविष्यमा यो सम्भव छ।
हाल यो ब्रान्डको बजार र कारोबार कस्तो चलिरहेको छ?
पाँच वर्षको अवधिमा यो ब्रान्डले निकै राम्रो प्रगति गरेको छ। ठ्याक्कै अंकमा नभने पनि हाम्रो ‘सेल्स टर्नओभर’ र ग्रोथ राम्रो छ। यो एउटा ‘जेनेरेसनल प्रोडक्ट’जस्तो भएको छ। हामीले ग्राहकको विश्वास जितेकै कारण पहिलो बच्चाका लागि आईबीबी प्रयोग गरेका आमाहरूले अर्को सन्तानको लागि पनि ढुक्क भएर यही ब्रान्ड रोज्छन्। आईबीबीमा डाइपर मात्र नभई बेबी कस्मेटिक्स र बेबी फर्मुला पनि छन्। हामीले आर्जन गरेको ग्राहकको विश्वास नै हाम्रो सफलताको मुख्य आधार हो। बजारमा हाम्रो उपस्थितिको निरन्तरता र वृद्धि दुवै सकारात्मक दिशामा अगाडि बढिरहेको छ।
तपाईं सफल महिला उद्यमीको रूपमा स्थापित हुनुहुन्छ। उद्यमी बन्नु कत्तिको गाह्रो रहेछ?
महिला उद्यमी मात्र होइन, सबैलाई सफल हुन धेरै साहस चाहिन्छ। यो क्षेत्र एकदमै अनपेक्षित हुन्छ। जब तपाईं म आफैं केही गर्छु भनेर अगाडि बढ्नुहुन्छ, त्यो अनपेक्षित हुन्छ। तपाईं सफल पनि हुन सक्नुहुन्छ वा सबै कुरा गुम्न पनि सक्छ। यदि तपाईंसँग पारिवारिक व्यावसायिक पृष्ठभूमि वा पुस्तैनी सम्पत्ति छैन भने संघर्ष अझ बढी हुन्छ। हामीले पनि व्यवसाय सुरु गर्दा परिवार र आफन्तबाट ऋण लिएर पसल सुरु गरेरै जोखिम मोलेका हौं।
तर, एकचोटि तपाईंले हिम्मत गरेर सुरु गर्नुभयो, निरन्तरता दिनुभयो र मिहिनेत गर्नुभयो भने अगाडि बढ्न सकिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको तपाईंको टिम हो। टिम इमानदार र मिहिनेती हुनुपर्छ। टिममा एकजना पनि बेइमान भए तपाईंको सबै मिहिनेत खेर जान सक्छ।
जोखिम हरेक क्षेत्रमा हुन्छ। जागिरमै पनि हुन्छ। तर, व्यवसाय गर्दा योजना बनाउने तरिका महत्त्वपूर्ण हुन्छ। नेपालमा व्यवसाय गर्दा झन् बढी सजग हुनुपर्छ, किनकि यहाँ विदेशजस्तो कडा नियमन छैन। त्यसैले प्लान बीको पनि प्लान बी हुनुपर्छ। यदि एउटा प्लान फोल भयो भने अर्काे के गर्ने भन्ने तयारी हुनुपर्छ। कसैले प्लान बी केही होइन प्लान एमै फोकस गरौं भन्छन्। नभए आफ्नो योजना सफल हुँदैन भन्ने हुन्छन्। त्यस्तो हुँदैन। नेपालमा व्यवसाय गर्नु भनेको जहिल्यै पनि जोखिमको घेरामा रहनु हो। यहाँका नियम र बजारको अवस्थाका कारण एउटा उद्यमीसँग ‘प्लान बी’ मात्र होइन, ‘प्लान बी को पनि प्लान बी’ हुन आवश्यक छ।
एउटा महिला उद्यमीका रूपमा व्यवसाय र घर-परिवारबीचको सन्तुलन मिलाउन कत्तिको कठिन हुन्छ?
नेपालमा लैंगिकताका आधारमा हेर्ने हो भने महिलाका लागि उद्यमी बन्नु निकै चुनौतीपूर्ण छ। एउटा निश्चित उमेरसम्म शिक्षामा ध्यान दिइन्छ, तर जब केही गर्ने समय आउँछ, त्यतिबेला धेरैजसो महिलाको विवाह भइसकेको हुन्छ। सपना र इच्छा सानैदेखि भए पनि त्यसलाई व्यवहारमा उतार्ने बेला महिलाहरू पारिवारिक जिम्मेवारीमा बाँधिएका हुन्छन्। उनीहरूको जिम्मेवारी पनि बढिसकको हुन्छ। व्यवसाय एउटा समुद्रजस्तो हो। त्यसमा गहिरिएर नछिर्दासम्म सफलता पाउन गाह्रो हुन्छ। त्यसका लागि दृढता र निरन्तर प्रयास आवश्यक हुन्छ। यस्तो अवस्थामा श्रीमानको सहयोग धेरै महत्वपूर्ण हुन्छ।
महिला उद्यमीका लागि श्रीमान्को सपोर्ट एकदमै महत्त्वपूर्ण हुन्छ। व्यवसायमा छिर्दा सुरुमा धेरै बाह्य र आन्तरिक कारणले सपोर्ट गरिरहेका हुँदैनन्। तर, श्रीमान्को साथ पाइयो भने महिलाले ढुक्कसँग अगाडि बढ्ने आँट गर्न सक्छिन्। व्यवसायमा आर्थिक जोखिम हुने भएकाले पनि दम्पतीबीचको समझदारी आवश्यक छ।
महिलामा व्यवस्थापकीय क्षमता राम्रो मानिन्छ। हाम्रो धेरै सोच्ने र सबै पक्षलाई केलाउने बानी हुन्छ, जसले गर्दा व्यवसायका हरेक सम्भावना र जोखिमलाई मसिनो गरी हेर्न सकिन्छ। यही क्षमताका कारण महिलाले चुनौतीका बाबजुद पनि व्यवसायलाई राम्रोसँग अगाडि बढाउन सक्छन्। जब तपाईं आफ्नो लक्ष्यमा अडिग रहेर काम गर्नुहुन्छ र आर्थिक रूपमा सबल बन्न थाल्नुहुन्छ, तब सुरुमा सपोर्ट नगर्नेले पनि विस्तारै सहयोग गर्न थाल्छन्। मानिसको हेर्ने दृष्टिकोण र धारणा नै परिवर्तन हुन्छ। मुख्य कुरा भनेको सुरुआती संघर्षको समयमा आफ्नो लक्ष्यबाट विचलित नभई निरन्तर अगाडि बढ्नु हो।
पछिल्लो समय महिलाको नेतृत्वमा उद्यम व्यवसाय बढ्दै गइरहेका छन्। समग्रमा यो महिलाको ‘ग्रोथ’ लाई तपाईं कसरी लिनुहुन्छ?
पछिल्लो समय महिला सहभागिता र नेतृत्व बढ्दो छ। देशमा महिलामैत्री नीति पनि निकै राम्रा छन्। बैंकिङ क्षेत्रमा ऋण लिँदा होस् वा मालपोतमा जग्गा रजिस्ट्रेसन गर्दा। महिला वामित्वमा धेरै छुट र सुविधा दिइएको छ। सरकारले करमा पनि सहुलियत दिएको छ। तर, नीति राम्रो हुँदाहुँदै पनि यसको कार्यान्वयन पक्ष र पारिवारिक दृष्टिकोणमा अझै चुनौती छन्।
मुख्य कुरा परिवारले यसलाई कसरी लिन्छ भन्ने हो। छोरीको हकमा अर्को घर जाने सोचले उनको नाममा सम्पत्ति राख्न हिच्किचाइन्छ। बुहारीको हकमा पनि संयुक्त परिवारमा महिलाको नाममा सम्पत्ति रजिस्ट्रेसन गर्न वा उनलाई व्यवसायको नेतृत्व दिन परिवारले धेरै पटक सोच्ने गर्छन्। यसमा समाजको दृष्टिकोण पूर्ण रूपमा सकारात्मक छैन। हुन त, यसमा धेरै डिफल्ट रेसियो पनि छ। यसलाई पुरुष वा परिवारलाई दोष दिन खोजेको होइन।

समाजले यसलाई पूर्ण रूपमा सकारात्मक रूपमा लिन सकिरहेको छैन। त्यसैले सरकारले नीति बनाउँदा त्यसको प्रभावकारी कार्यान्वयन र सामाजिक स्वीकृतिका लागि पनि योजना बनाउनु आवश्यक देखिन्छ। अहिले सामाजिक सञ्जालदेखि हरेक क्षेत्रमा महिलाको उपस्थिति बढेको छ। मलाई के लाग्छ भने अहिलेको समयमा आर्थिक भार सबैभन्दा ठूलो कुरा भएको छ। घरको आर्थिक जिम्मेवारी एकजना पुरुषले मात्र धान्न सक्ने अवस्था नभएकाले पनि महिला अगाडि बढ्नुपर्ने बाध्यता र आवश्यकता दुवै सिर्जना भएको छ। यसले गर्दा धेरै महिलाले परिवारको सपोर्ट पनि पाउन थालेका छन्। यद्यपि, हामी अझै पूर्ण समानताको अवस्थामा पुगिसकेका छैनौं। अहिले जो महिलाले व्यवसायको नेतृत्व गरिरहेका छन् उनीहरू प्रशंसाको पात्रको रुपमा देखिएका छन्। अझै पनि धेरै महिलालाई थप प्रोत्साहन र परिवारको साथ आवश्यक छ।
कतिपय महिलाले व्यवसाय सुरु गरे पनि पारिवारिक वा अन्य कारणले बीचमै छाड्ने गरेको देखिन्छ। उनीहरूलाई व्यवसायमा टिकाइराख्न सरकारले कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ?
म स्वयं निजी क्षेत्रमा छु र हाम्रो कम्पनीमा महिलालाई समान अवसर दिइरहेका छौं। हाम्रा डिलरमध्ये दुईवटा क्षेत्रको नेतृत्व महिलाले नै गरिरहेका छन्। उनीहरूले विगत ५ वर्षदेखि सफलतापूर्वक बजार लिइरहेका छन्। मेरो विचारमा निजी क्षेत्रले महिला उद्यमीमाथि लगानी गर्दा पुरुषसरह नै जोखिम लिन डराउनु हुँदैन। धेरै कम्पनीले महिलालाई डिलरसिप दिँदा पछाडि सपोर्ट गर्ने पुरुष छ कि छैन भनेर सोध्ने गर्छन्। तर, हामीले क्षमता र इमानदारी हेरेर अवसर दिनुपर्छ। हामीले हाम्रा महिला डिलरलाई वित्तीय मात्र होइन, ‘इमोसनल सपोर्ट र मोटिभेसन’ पनि दिइरहेका छौं।
म र श्रीमान् दुवै मिलेर व्यवसाय सम्हालिरहेका छौं। यसले गर्दा योगदान बराबर हुन्छ। त्यसैले अन्य कर्पोरेट हाउसलाई पनि म भन्न चाहन्छु–महिला सुन्ने बित्तिकै नाक खुम्च्याउनुपर्दैन, उनीहरूलाई अवसर दिनुस्। आफूलाई प्रमाणित गरेर देखाउँछन्।
सरकारले महिला उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ। यो पाउन कत्तिको सहज छ? तपाईंको अनुभव के छ?
सरकारले २० लाख रुपैयाँसम्म बिनाधितो ३ प्रतिशत ब्याजमा महिला उद्यमी कर्जा दिने नीति ल्याएको छ। हाम्रो टर्नओभर राम्रो थियो, तर त्यो लोन लिन म र श्रीमान् एक वर्षसम्म बैंक धाइरहनुपर्यो। यो ६-७ वर्ष अगाडिको मेरै अनुभव हो।
देशमा नीतिहरू कागजमा निकै राम्रा छन्, तर कार्यान्वयन पक्ष एकदमै फितलो छ। नीति बनाउने काम सरकारको हो भने कार्यान्वयन गर्ने निकाय बैंक तथा अन्य संयन्त्रले त्यसलाई पालना गर्नुपर्छ। एउटा व्यवसायीको दिमाग ऋणका झमेलामा मात्र अल्झिनु हुँदैन। उसलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण चाहिन्छ। यदि हामी सक्षम छौं र किस्ता तिर्न सक्छौं भने सहजै ऋण पाउनुपर्ने वातावरण हुनुपर्छ।
नयाँ सरकार आएसँगै बजेट पनि आउने तयारीमा छ। आगामी बजेटमा महिला उद्यमी वा समग्र व्यवसायीका लागि कस्तो नीति आओस् भन्ने चाहनुहुन्छ?
प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग मेरो आग्रह छ- महिला उद्यमी मात्र होइन, समग्र उद्यमीका लागि सहज वातावरण बनाइदिनुस्। हामी व्यवसायीहरूले ‘जब क्रिएसन’ देखि देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका छौं। हामी जस्ता युवाहरू विदेश नगएर यहीँ केही गरौं भनेर लागेका छौं। त्यसैले भोलि पछुताउनुपर्ने स्थिति नआओस्।

अर्को महत्वपूर्ण कुरा, नीतिमा स्थिरता हुनुपर्छ। आज एउटा नीति छ, भोलि अर्को आउँदा पूरै व्यवसाय उथलपुथल हुने अवस्था आउनु भएन। साथै, व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण पनि बदल्नुपर्छ। नयाँ पुस्ताका युवाहरू अहिले पैसा कमाउन मात्र होइन। एउटा ‘स्ट्याटस’ र पहिचानका लागि व्यवसायमा आइरहेका छन्। उनीहरूलाई काम गर्ने सुरक्षित र स्थिर वातावरण सरकारले सुनिश्चित गरिदिनुपर्छ।