काठमाडौं। जीओ अटोमोबाइल्सले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका गाडीको आधिकारिक आयातकर्ता एवम् वितरकको हैसियतमा नेपाली बजारमा नयाँ एमजी हेक्टर भित्र्याएको छ। बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा आयोजित एक विशेष कार्यक्रमबीच यो बहुप्रतीक्षित एसयूभी औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
यसअघि एमजी विन्डसर र एमजी कोमेट नेपाली बजारमा भित्र्याइसकेको जीओ अटोमोबाइल्सले अब हेक्टरसमेत थपेर एमजी ब्रान्डको उत्पादन श्रृंखला अझ विस्तार गरेको छ। कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा अघिल्लो संस्करणको तुलनामा डिजाइन, प्रविधि र समग्र प्रिमियम अनुभवमा उल्लेखनीय सुधार गरिएको छ। गाडीमा आधुनिक आन्तरिक सजावट, स्मार्ट कनेक्टिभिटी प्रणाली, उच्चस्तरीय सुरक्षा सुविधा, फराकिलो केबिन र प्रयोगकर्तामैत्री फिचरहरू समावेश गरिएका छन्। एउटै मूल्य दायरामा पाइने प्रतिस्पर्धी गाडीहरूको तुलनामा यसले ठूलो एसयूभी अनुभव, उच्च आराम र दैनिक उपयोगिता प्रदान गर्ने दाबी कम्पनीले गरेको छ।
सार्वजनिकरण कार्यक्रममा बोल्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर विश्वभर एमजीकै सर्वाधिक लोकप्रिय एसयूभीमध्ये एक रहेको बताए। उनका अनुसार गाडीको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि र फराकिलो बनावटले ग्राहकको विश्वास आर्जन गरेको छ। शैली, सुरक्षा, प्रविधि र व्यावहारिकताको उचित संयोजन खोज्ने नेपाली ग्राहकका लागि यो गाडी उत्तम विकल्प साबित हुने उनको विश्वास छ।
नयाँ एमजी हेक्टर ६६ लाख ९९ हजार रुपैयाँको आधार मूल्यबाट उपलब्ध छ र यसलाई चार फरक संस्करणमा बजारमा ल्याइएको छ। रुचि राख्ने ग्राहकले थापाथलीस्थित एमजी शोरुममा गई यो गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। कम्पनीले विश्वस्तरीय सवारीसाधनसँगै भरपर्दो बिक्रीपश्चात् सेवा, आधिकारिक पार्टपुर्जाको सहज आपूर्ति र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।