काठमाडौं। नेपाली कामदारहरू भारतका विभिन्न विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जान थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूसँग विस्तृत तथ्यांक माग गरेको छ।
विभागले इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई पत्राचार गर्दै श्रम स्वीकृति लिएर विदेश गएका कामदारमध्ये कति जना कुन विमानस्थल प्रयोग गरेर गन्तव्य मुलुक पुगेका छन्? भन्ने विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। क्यापिटल नेपालले समाचार प्रकाशन गरेसँगै विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारलाई तोकिएको विमानस्थलमार्फत मात्रै पठाउनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।
पछिल्लो समय केही कामदारहरू भारतका विमानस्थल प्रयोग गरेर विदेश जाने क्रम बढेको तथा यससम्बन्धी अनुगमन आवश्यक देखिएकाले विवरण संकलन थालिएको विभागको संकेत छ। विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति प्राप्त गरेका कामदारको विवरण माग गरेको छ।

सो अवधिमा कति कामदार विदेश पठाइए, उनीहरू कुन मितिमा उडे, कुन गन्तव्य मुलुक गए तथा कुन विमानस्थल प्रयोग गरे भन्ने जानकारी उपलब्ध गराउन भनिएको छ। यसका साथै कामदारको नाम, राहदानी नम्बर, श्रम स्वीकृति प्राप्त मिति, उडान मिति र प्रयोग गरिएको विमानस्थल खुल्ने गरी विवरण तयार गर्न विभागले निर्देशन दिएको छ।
विभागले उक्त विवरण तीन दिनभित्र आफ्नो संस्था अनुगमन शाखामा बुझाउन म्यानपावर कम्पनीहरूलाई आग्रह गरेको छ। शाखा अधिकृत सुरेश श्रेष्ठद्वारा हस्ताक्षरित पत्रको बोधार्थ युवा, श्रम तथा रोजगार मन्त्रालय तथा वैदेशिक रोजगार व्यवसायी संघलाई समेत पठाइएको छ। विभागले यस कदमलाई वैदेशिक रोजगार क्षेत्रको अनुगमन र कानुनी व्यवस्था कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयासका रूपमा लिएको जनाएको छ।