काठमाडौं । निषेधाज्ञा लागू भएको बहाना देखाउँदै १० दिनदेखि थानकोटमा रोकिएका मालबाहक ट्रंक तथा कन्टेनर काठमाडौं भित्रिएका छन् । नेपालका विभिन्न ठाउँसहित भारत तथा तेस्रो मुलुकबाट सामान लिएर आएका कन्टेनर तथा ट्रंकलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलपछि गृहको निर्देशनमा काठमाडौं प्रवेश दिइएको हो ।
अत्यावश्यकसहित अन्य सामान बोकेर आएका ट्रंक तथा कन्टेनरलाई थानकोटबाट काठमाडौं प्रवेश नदिएकाले ती ट्रंक तथा कन्टेनर त्यही अलपत्र परेका थिए ।
सरकारले अत्यावश्यक ढुवानीका साधनलाई आवतजावातमा कुनै रोकतोक नरहेको जनाए पनि थानकोट प्रहरीले भारत तथा नेपालभित्रबाटै आएका ट्रंक तथा कन्टेनरलाई रोकेको थियो ।
तर, बुधबार तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैंठकले सामान ओसार–पोसारमा कुनै रोकतोक नगर्ने निर्णय गरेपछि थानकोट प्रहरीले ट्रंक तथा कन्टेनरलाई निर्वाध रुपमा आउन दिएको हो ।
याे पनि पढ्नुहाेस, भन्सार असुल्न कन्टेनर नेपाल छिराउने, बाटोमै रोक्दा थानकोटमै अलपत्र सयौं कन्टेनर
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्यालका अनुसार बुधबारबाट रोकिएर बसेको ट्रंक तथा कन्टेनरलाई आउन दिएको बताए । ‘अहिले निर्वाध रुपमा आइरहेका छन्,’ अर्यालले भने, ‘केही दिन अघिदेखि थानकोटको प्रहरीले ट्रंक तथा कन्टेनर काठमाडौं प्रवेश गर्न दिएन भन्ने गुनासो आइरहेको र अब त्यो समस्या हटेको छ ।’
विदेश तथा नेपालबाट ल्याएको सामान गोदाममा खन्याउने र फर्किन दिने निर्णय भएको छ । तर, सरकारले समयमै ढुवानीका साधनलाई निर्वाध रुपमा चल्न दिने निर्णय नगरेका कारण उद्योगी÷व्यवसायीले ‘डेमोरेज’ र ‘डिटेन्सन’ शुल्कबापत ठूलो नोक्सानी व्यहोर्नु परेको बताएका छन् ।
व्यवसायीका अनुसार, अहिले सामान बोकेर आएका ढुवानीका साधनलाई काठमाडौं प्रवेश दिएको बताएका छन् । झण्डै एक हप्ता रोकिएर बसेका ट्रंक तथा कन्टेनरहरु अहिले धमाधम काठमाडौं छिरेर गोदाममा सामान अनलोड गरिरहेको बताएका छन् ।