×

बैंकिङ व्यवसायमा नैतिक जोखिमको सवाल

images

पृष्ठभूमि 

बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि आवश्यक साधनभित्र मूल रुपमा वित्तीय पुँजी र मानव पुँजी पर्छन् । मानव पुँजी वित्तीय विवरणमा लेखाङ्कित नहुने भए पनि संस्थाको सफलता–असफलताको भागिदार भने बन्छ । तर, वित्तीय पुँजीले सम्बन्धित संस्थाको वित्तीय विवरणलाई केलाउने काम गर्छ । 

संसारमा बैंकिङ व्यवसाय अत्यन्तै जोखिमपूर्ण मानिन्छ । खासगरी व्यवसायमा भौतिक प्लान्ट इक्विपमेन्ट एन्ड मेसिनरी सम्पत्तिभन्दा पनि वित्तीय  र दायित्वको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सम्पत्ति लोन एन्ड एडभान्स र दायित्व सरल ढंगले व्यवस्थापन नभएमा वित्तीय क्षेत्रमा विभिन्न किसिमका जोखिम निम्त्याउँछ ।  

जोखिम के हो ? 

हिजोआज जोखिम शब्द जतासुकै प्रचलित छ । खासगरी जलवायु जोखिम, पर्यावरण, सामाजिक र कर्पोरेट सुशासन जोखिम, कर्जा जोखिम, वित्तीय जोखिमजस्ता विषयमा दिनहुँ जसो चर्चापरिचर्चा हुने गर्छ । सन् २००७/०८ मा अमेरिकामा भएको वित्तीय संकटपछि वित्तीय क्षेत्रमा जोखिम शब्दले चर्चा पाउन थाल्यो ।

अमेरिकी वित्तीय संकटपछि बासल कमिटी, केन्द्रीय बैंकहरु र अन्य नियामक निकायहरुले जोखिम न्यूनीकरणका लागि भन्दै व्यावसायिक नीतिहरु, मार्गदर्शन, निर्देशिका तयार गर्ने र अनिवार्य अवलम्बन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिन थाले । वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले पनि अन्तर्राष्ट्रिय अभ्यासलाई अनुशरण नगर्ने कुरै भएन ।

आईएसओ–३१००’ ले जहाँ अनिश्चितता हुन्छ, त्यहाँ जोखिम बढी रहन्छ भन्ने उल्लेख गरेको छ । घटनाक्रम आशातित रुपमा अगाडि बढ्दा संभावित लाभ हुन्छ भने अनपेक्षित घटना घट्दा संभावित नोक्सान हुन्छ । जोखिमलाई घटनाको संभाव्यताद्धारा मापन र व्यवस्थापन गर्न सकिने विषयलाई  आईएसओ ३१०० ले समेटेको छ  ।

कोसो उद्यम जोखिम व्यवस्थापन अवधारणा (सीओएसओ इआरएम फ्रेमवर्क)अनुसार जोखिम भनेको कुनै पनि घट्ना घट्ने सम्भावना हो, जसले रणनीति र व्यापार उद्देश्यहरुको उपलब्धिमा प्रतिकूल प्रभाव पार्छ । 

त्यस्तै, बासलले पनि कुनै मानिस वा प्रणालीमा आन्तरिक प्रक्रियाको अपूर्णता वा असफलताका कारण उत्पन्न हुने जोखिमलाई  सञ्चालन जोखिम मानेको छ ।

सामान्यतः भविष्यमा घट्ने अनपेक्षित घटना र त्यसले निम्त्याउने परिस्थितिप्रति सजग र तयार रही वर्तमानमा चालिने व्यवस्थापकीय रणनीतिहरुलाई जोखिमअन्तर्गत हेरिन्छ । समग्रतामा जोखिमबारे जानकार भइसकेपछि वित्तीय क्षेत्रको जोखिमको पहिचान हुनुपर्छ । पछिल्लो समय वित्तीय क्षेत्रमा निम्न जोखिमहरुको पहिचान गरिएको छ ।

(क) कर्जा तथा लगानी जोखिम 

(ख) विदेशी विनिमय जोखिम 

(ग) ब्याजदर जोखिम

(घ) तरलता जोखिम 

(ङ) सञ्चालन जोखिम

(च) बजार जोखिम

(छ) नैतिक जोखिम

(ज) अन्य जोखिम 

समग्रतामा बैंकिङ व्यवसायको प्रमुख काम नै जोखिम व्यवस्थापन हो । जोखिमभित्र अवसर खोजेर उच्चतम प्रतिफलका लागि वित्तीय संस्थाहरुले काम गर्छन् । जोखिम व्यवस्थापनको पूर्वकार्यहरु गरेर संस्थालाई सुरक्षित र बलियो बनाउन वित्तीय संस्थाहरु जोखिमका विभिन्न चरणहरु पार गरेर अघि बढ्ने गर्छन् । 

(क) जोखिमको पहिचान 

(ख) जोखिमको विश्लेषण 

(ग) जोखिमको मापन 

(घ) जोखिमको उपचार

(ङ) जोखिमको निगरानी र पुनरावलोकन  

जोखिमका प्रकृति र त्यसको निराकरणका विषयमा सामान्य जानकारी राखेपछि नैतिकता जोखिम (मोरल हजार्ड्स) अथवा मानवीय जोखम (हुमन रिस्क)का विषयमा लेख केन्द्रित गर्न चाहन्छु ।

मूलतः नैतिक जोखिम (मोरल हजार्ड) भनेको के हो त ? यसलाई ‘प्रिन्सिपल–एजेन्ट प्रोब्लम’ पनि भन्न सक्छौं । बैंकिङ पुँजी लगानीकर्ता र निक्षेपकर्ताले जुटाएको कोषको व्यवस्थापन गर्ने जिम्मा बैंक व्यवस्थापकलाई सुम्पिएको हुन्छ । जसकाे कोष (फण्ड) हो उसले सुरक्षित राख्ने जोखिम नलिएर अर्कोलाई सुम्पिएको हुन्छ । अर्थात्  यसलाई प्रतिनिधिमार्फत जोखिम उठाउँछ । 

के साँच्चिकै मूलधन मालिक (प्रिन्सिपल)ले आशा गरेअनुसार नै सम्बन्धित प्रतिनिधि (एजेन्ट)ले जोखिम लिइरहेको छ त ? कतै पस्थिति र घटनाक्रम बाहिर गएको त छैन ? परिस्थिति बिग्रँदै जाँदा संस्था समस्याग्रस्त भई विघटनसम्म पनि पुग्यो कि ? भन्ने जस्ता महत्वपूर्ण विषयहरु यसअन्तर्गत हेरिन्छ । 

छिमेकी मुलुक भारतको आइसीआइसीआई बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) आफैं संलग्न भिडियोकनमा गरेको ऋण तथा यस बैंकका प्रवन्ध निर्देशक तथा सीइओ राना कपूरले छोरीको नामबाट सेयर स्वामित्व ग्रहण गरेको घट्नालाई नैतिकता जोखिमका उदाहरणका रुपमा लिन सकिन्छ ।

सन् २००७–०८ को वित्तीय संकटपछि अमेरिकाले वित्तीय संकट अनुसन्धान आयोग गठन गरेर कारणहरुको खोजी गरेको थियो । सो आयोगले मानवीय वा नैतिक समस्या, नियामक निकायको निगरानीमा कमजोरी, सरकारले विगतमा समस्याग्रस्त संस्थाको बचाउ (बेल आउट) गरेका कारण अमेरिकामा वित्तीय संकट आएको ठहर गरेको थियो ।

बासल मापदण्ड र अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आइएफआरएस–९) ले पनि नैतिक जोखिम न्यूनीकरणका लागि अतिरिक्त कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । बैंकिङ व्यवसायमा नैतिक जोखिम उत्पन्न हुने विभिन्न कारणहरुलाई यहाँ केलाउने कोसिस गरिएको छ ।

–   व्यवस्थापनलाई पर्न जाने नाफाको दबाबः

लक्षित नाफा उपलब्ध गराउन आय विवरण (इन्कम स्टेट्मेन्ट) मा ‘डाउन साइड अप’ विधि अपनाइन्छ । सबैभन्दा पहिले तोकिएको नाफा देखाइसकेपछि त्यसलाई आवश्यक पर्ने आय तथा खर्चको अनुमान गरिन्छ । यो विधिमा अधिकतम सूचनाहरु लुकाउने काम गरिन्छ अर्थात् कार्य (एक्सन) भन्दा सूचनाहरु लुकाउन बढी समय खर्चिइन्छ ।

–    सूचनाको अनविज्ञतालाई आधार मानिन्छ ।

–    सामूहिकभन्दा व्यक्तिगत निर्णय हुन्छ

–    तार्किक तर्कभन्दा पनि भावनात्मक वा तर्कहीन तर्कलाई बढी जोड दिइन्छ ।

–    जुनसुकै व्यक्तिगतको परिस्थितिलाई विश्लेषण गर्ने र ज्ञान ग्रहण गर्ने सीमा भन्दा बाहिर गएर वा अधिक बोझ (ओभर वर्डेन) भएर निर्णय गरिन्छ । 

–    जति ठूलो त्यति असफल (टु बीग टु फेल) मानसिकता पनि नैतिक जोखिमको कारक मानिन्छ । व्यवस्थापकमा संस्था जति ठूलो हुन्छ त्यति नै जोखिम लिन सकिन्छ भन्ने मानिसकता हावी हुँदा ठूलो दुर्घटना निम्तिन सक्छ । पछिल्लो समय नेपालमा बैंकहरुलाई मर्जरमा मात्र जोड दिइरहेको स्थितिले भविष्यमा यस्तै जोखिम निम्तिने हो कि भन्ने आशंकाहरु पैदा गरेको छ । 

निष्कर्ष 

अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त डेनियल काहनेमनकाअनुसार कुनै पनि मानिसले सधैंभरि तथ्यगत र विवेकशीलभन्दा पनि मनोगत रुपमा निर्णय लिने गर्छ । जसअनुसार व्यक्तिगत सन्तुष्टिलाई सर्वोपरि मान्दा संस्थाको हित र जोखिमलाई नजरअन्दाज गर्न पुग्छ । निर्णयकर्ताले विवेक पुर्याउन नसकेको खण्डमा प्रणालिगत जोखिम निम्तिने खतरा बढी रहन्छ ।  

वित्तीय र आर्थिक जोखिम अवधारणाभन्दा पनि उच्च तहका व्यस्थापनको उच्च व्यावसायिक नैतिकता, संस्थागत सुशासन, पारदर्शिता, सहभागितामूलक व्यवस्थापन, उच्च मनोवलयुक्त वातावरण आदिको निर्माण गर्नु अपरिहार्य हुन्छ । जोखिम प्रति संस्थाको मनोवृत्ति, व्यवहार र संस्कृति जसलाई ‘एबीसी अफ रिस्क’ भन्ने गरिन्छ । जसअनुसार

(ए) मनोवृत्तिगत जोखिम (एट्टीच्यूड टु रिस्क )

(बी) व्यवहारगत जोखिम (बिहेभियर टु रिस्क )

(सी) सांस्कृतिक जोखिम (कल्चर टु रिस्क )

अतः जोखिमलाई संस्कृतिको रुपमा विकास गर्न सके भविष्यमा कुनै पनि संस्था तथा कार्यरत कर्मचारी दुवै पक्ष लाभान्वित हुने कुरामा दुईमत नहोला ।

(आचार्य सनराइज बैंकका नायव महाप्रवन्धक हुन्)  


 

मङ्गलबार १८ माघ २०७८ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया