बिमामा अहिले मर्जर आवश्यक छैन : प्रभु लाइफ इन्स्योरेन्सका सीईओ नारायणप्रसाद  पौडेलसँगकाे अन्तर्वार्ता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ६, साेमबार,०३:५५:PM  
बिमामा अहिले मर्जर आवश्यक छैन : प्रभु लाइफ इन्स्योरेन्सका सीईओ नारायणप्रसाद  पौडेलसँगकाे अन्तर्वार्ता

तीन दशकभन्दा बढी समय नेपाल राष्ट्र बैंकमा काम गरेका नारायणप्रसाद पौडेल प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा कार्यरत छन् । पौडेल राष्ट्र बैंकको ३० वर्षे अवकाश नीतिका कारण कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका हुन् । अवकाश पाएलगत्तै उनी बिमा क्षेत्रमा प्रवेश गरेका छन् । पौडेलले लामो समय बैंकिङ क्षेत्रमा काम गरे पनि बिमा क्षेत्र उनका लागि नयाँ हो । नियमन निकायमा काम गर्नु र निजी क्षेत्रमा काम गर्नु नितान्त फरक कुरा हो । निजी कम्पनी त्यसैमाथि बैंक र बिमा– नाफा बढी कमाउनुपर्ने तथा व्यापार व्यवसाय बढाउनुपर्ने दबाब हुन्छ सीईओलाई । पौडेललाई पनि व्यवसाय बढाउनुपर्ने तथा नाफा बढी कमाउनु पर्ने दबाब छ । प्रभु लाइफ इन्स्योरेन्स स्थापना भएको झन्डै २ वर्ष पुग्दैछ । हाल कम्पनीले मुलुकका विभिन्न स्थानमा ६६ ओटा शाखा विस्तार गरिसकेको छ । गत वर्ष साढे ३ करोडको हाराहारीमा नाफा कमाएको कम्पनीलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने चुनौती सीईओ पौडेलमाथि छ । यसै विषयहरुको सेरोफेरोमा क्यापिटल नेपालका लागि कमला अर्यालले सीईओ पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः

सम्पूर्ण बैंकिङ क्षेत्रको अनुगमन गर्ने निकाय राष्ट्र बैंकमा लामो समय अनुभव हासिल गरेर बिमा क्षेत्रमा प्रवेश गर्नुभएको छ । अहिले केही फरक क्षेत्रको नेतृत्व सम्हाल्दा कस्तो लागिरहेको छ ?  

नेपाल राष्ट्र बैंक त मुलुकको केन्द्रीय बैंक हो । त्यहाँ म्याक्रो इकोनोमीको कुरा हुन्छ । समग्र देशकै आर्थिक तथा मौद्रिक नीतिलगायतका विषयमा छलफल हुन्छ । त्यसैले पनि राष्ट्र बैंकको दायरा निक्कै फराकिलो छ । अहिले मैले नेतृत्व गरेको बिमा कम्पनी विशुद्ध प्राइभेट सेक्टर हो । बिमा क्षेत्र समग्रमा वित्तीय प्रणालीको एउटा अंग भए पनि बैंकिङ क्षेत्रभन्दा केही फरक नै छ । यसको भूमिका र कामको प्रकृति नै फरक छ । सांगठनिक संरचना पनि भिन्न छ ।

केन्द्रीय बैंक सरकारी संगठन हो, त्यसैको एक कर्मचारी मात्र थिएँ म । तर, अहिले निजी क्षेत्रको कम्पनीको सम्पूर्ण जिम्मेवारी लिएर नेतृत्व गरिरहेको छु । त्यसैले पनि कम्पनीलाई अगाडि बढाउन हामीले केही लक्ष्यहरु निर्धारण गरेका छौं । उक्त लक्ष्य निर्धारित समयमा पूरा गर्नै पर्ने हुन्छ । लक्ष्यअनुसार काम गर्न सकिएन भने आफ्नै कार्यक्षमतामाथि पनि प्रश्न आउन सक्छ । 

जीवन बिमा क्षेत्रको बजारमा नयाँ कम्पनीलाई प्रतिस्पर्धा गर्न कठिन भएको देखिन्छ । प्रभु इन्स्योरेन्सले प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल देखाउन के कस्ता योजना तथा लक्ष्यहरु निर्धारण गरेको छ ?  

प्रभु इन्स्योरेन्स दुई वर्षमा हिँड्दै गरेको बिल्कुलै नयाँ कम्पनी हो । सरकारी तथ्यांकअनुसार अहिले पनि १९/२० प्रतिशत जनसंख्याको हाराहारीमा मात्रै बिमाको पहुँच पुगेको छ । बाँकी जनसंख्यामा हामी जस्ता नयाँ कम्पनीका लागि ठूलो बजार छ । त्यसैले वित्तीय साक्षरतमा जोड दिनुपर्छ । बिमाका बारेमा पर्याप्त जानकारी दिँदै यसका फाइदा तथा प्रतिफलका विषयमा आम सर्वसाधारणलाई पनि सचेत बनाउनु पर्छ । 

बैंकहरुले केवाईसी भरेर ग्राहकको पहिचान गरेजस्तै बिमा कम्पनीले पनि आफ्ना ग्राहक पहिचान गर्नुपर्छ । बिमितहरुले प्रिमियम तिर्ने रकमको स्रोत पनि पहिचान गर्नुपर्ने हुन्छ ।

अर्काेतर्फ सर्वसाधारणको आम्दानीको स्रोत, पारिवारिक संरचना, पेशालगायतका कारणले कम्पनीहरुले सार्वजनिक गरेका फरक फरक प्रोडक्टहरु रुचाइरहेका हुन्छन् । त्यसैले हामीले सम्भाव्य व्यक्तिको आम्दानी र प्रिमियम बुझाउन सक्ने अवस्थालाई ध्यानमा राख्नुपर्छ । बैंकहरुले केवाईसी भरेर ग्राहकको पहिचान गरेजस्तै बिमा कम्पनीले पनि आफ्ना ग्राहक पहिचान गर्नुपर्छ । बिमितहरुले प्रिमियम तिर्ने रकमको स्रोत पनि पहिचान गर्नुपर्ने हुन्छ । हामीले यस्तै विषयलाई ध्यानमा राखेर आफ्ना लक्ष्य तथा योजना बनाएका छौं । अहिले हामी ८÷१० ओटा नयाँ प्रोडक्टका विषयमा छलफल गरिरहेका छौं ।

मुलुक संघीयतामा गइसकेको छ । बिमा कम्पनीहरु पनि संघीयताअनुसार विस्तार भइरहेका छन् । प्रभु लाइफलाई कसरी संघीयताअनुसार सबै प्रदेश र स्थानीय तहमा विस्तार गर्ने योजना छ ?

प्रभु लाइफको उपस्थिति सातै प्रदेशमा भइसकेको छ । सबै प्रदेशमा प्रदेश प्रमुख तोकिसकेका छौं । तर, प्रदेश २, ३, ४ र ५ मा ओभर ल्यापिङको अवस्था आउने देखिन्छ । प्रदेश २ का केही स्थान भौगोलिक हिसाबले प्रदेश १ को नजिक हुने भएकाले प्रदेश १ को शाखाले नै हेर्ने गरेको छ । प्रदेश २ को कार्यालय वीरगन्जमा छ । त्यस्तै प्रदेश ३ को कार्यालयले पनि आफ्नो कार्यक्षेत्रका सबै स्थान कभर नगर्ने अवस्था हुन सक्छ ।  

त्यसैले जहाँबाट नजिक पर्छ त्यहींबाट हेर्ने गरी काम गर्न गरेका छौं । सकेसम्म बढीभन्दा बढी जिल्लामा उपस्थिति बढाउन हामी लागेका छौं । आवश्यकताअनुसार केही जिल्लामा २/३ ओटासम्म शाखा खोल्न सक्छौं । अहिले हामीसँग ६६ ओटा शाखा कार्यालय छन् । चालू आर्थिक वर्षमा ५०/५५ ओटा शाखा स्थापना गर्ने योजना छ ।  

बैंक तथा वित्तीय संस्था जस्तै बिमा कम्पनीलाई पनि मर्जरमा जान दबाब परिरहेको छ । भर्खरै स्थापना भएको नयाँ कम्पनीको सीईओले यसलाई कस्तो रुपमा हेर्नुभएको छ ? 

एउटै घराना या व्यावसायिक समूहलले प्रमोट गरेका २/३ ओटा कम्पनीलाई मर्ज गरेर एउटा बनाउँ भन्ने कुरा नीतिगत रुपमा आफैंमा राम्रो हो । तर, त्यसलाई व्यवहारमा उतार्न कति सम्भव हुन्छ÷हुँदैन आफ्नै ठाउँमा छ । मर्जर पुँजी बढाउन गर्ने हो । पुँजी पुर्याउन नसक्ने कम्पनीहरुले विकल्पका रुपमा मर्जरमा जाने हो । अहिले अधिकांश बिमा कम्पनीले बिमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याइसकेका छन् । त्यसैले अहिले मर्जरको आवश्यकता छैन । 

मर्ज गरेर संख्या घटाउँदा कम्पनी बलिया हुन्छन् र शाखा सञ्जाल पनि बढेर जान्छ । साना धेरै कम्पनीभन्दा एउटै ठूलो कम्पनीको उपस्थिति नीतिगत रुपमा राम्रो हो ।  

अहिले जीवन बिमा कम्पनीहरुको संख्या १९ र नीर्जिवन बिमा २० ओटा छन् । समग्रमा ३९ ओटा कम्पनी केही बढी भयो कि भन्ने नियमनकारी निकायलाई लाग्नु स्वाभाविक हो । मर्ज गरेर संख्या घटाउँदा कम्पनी बलिया हुन्छन् र शाखा सञ्जाल पनि बढेर जान्छ । साना धेरै कम्पनीभन्दा एउटै ठूलो कम्पनीको उपस्थिति नीतिगत रुपमा राम्रो हो ।  

१९ ओटा जीवन बिमा कम्पनी रहेको बजारमा प्रभु लाइफ इन्स्योरेन्सको अवस्था कस्तो छ ?  

चालू आर्थिक वर्षको २ महिना बित्दा हामीले तय गरेको लक्ष्यमा पुग्न सकेका छैनौं । तर, व्यवसायको वृद्धि भने राम्रै भएको छ । अहिले बर्खाको मौसम भएकाले पनि बाढी पहिरोलगायतका कारण केही कठिनाइ भएको छ । कम्पनीको मासिक लक्ष्यलाई यस्ता प्राविधिक कुराले केही प्रभाव पारे पनि आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्यमा पुग्नेछौं ।

गत वर्षको नाफाको अन्तिम तथ्यांक आएको छैन । तर, साढे ३ करोडको हाराहारीमा मुनाफा भएको अनुमान छ । कम्पनीमा प्रमोटरको पुँजी १ करोड ४० लाख रुपैयाँ छ । यही आर्थिक वर्षभित्र ६० करोडको आईपीओ निष्कासन गर्दै छौं । त्यसका लागि बिमा समिति, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलगायतसँग छलफल भइरहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पुँजी बिमा समितिले तोकेअनुसार २ अर्ब रुपैयाँ पुग्छ । 

अहिलेको अवस्थामा जीवन बिमा कम्पनीहरुले भोग्नुपरेका कठिनाइहरु के कस्ता छन् ?

नेपालमा अहिलेसम्म जम्मा १९ प्रतिशत जनसंख्यामा मात्रै बिमाको पहुँच पुगेको छ । यो ज्यादै न्यून हो । यसलाई विस्तार गर्दै लैजानु पर्ने चुनौती हामीसँग छ । नयाँ कम्पनी आएसँगै पहुँच केही बढेको देखिए पनि डुब्लिकेसन पनि धेरै रहेको अनुमान छ । 

उपभोक्ताको आवश्यकता र क्षमताअनुसार बिमाका प्रोडक्ट चयन गर्ने तरिका बुझाउन जरुरी छ । सोही कारण कहिलेकाहीँ ओभर इन्स्योरेन्स पनि हुन सक्छ । यसमा राज्य र नियमनकारी निकायको भूमिका महत्त्वपूर्ण हुन्छ । विशेष गरी एजेन्ट बिजनेसमा आधारित भएकाले उहाँहरु नै बढी जिम्मेवार भएर काम गर्नुपर्छ । बैंकमा ग्राहकको प्रत्यक्ष संलग्नता हुन्छ भने बिमामा बीचमा एजेन्ट हुन्छ ।  

पछिल्लो समय बिमा क्षेत्रमा बढी रकमको बिमा गर्ने र सोही रकमको लोभले हत्या गरिएका केही घटना सार्वजनिक भए । यसलाई बिमा कम्पनीहरुले कसरी लिएका छन् ? 

यसलाई दुई तरिकाबाट हेर्नुपर्ने हुन्छ । एउटा त बिमा पोलिसीको गलत तरिकाले व्याख्या गरियो । जीवन बिमामा ग्राहकको सम्पूर्ण पारिवारिक पृष्ठभूमि हेर्नुपर्ने हुन्छ । तर, बिमा प्रोडक्ट बिक्री गर्ने उद्देश्यले अन्डर राइटिङलाई बेवास्ता गरिदिन्छन् । कम्पनीभन्दा पनि एजेन्टले आफ्नो आम्दानी बढाउन ध्यान नदिँदा कहिलेकाहीँ समस्या निम्तिन्छ । तर, पैसाको लोभमा भएको हत्या नितान्त अपराध हो । कसैले पैसाको लोभमा आफ्नै सन्तान मार्छ भने त्यसलाई बिमासँग जोडेर हेर्नु उचित हुँदैन ।  

उपभोक्ताको आवश्यकता र क्षमताअनुसार बिमाका प्रोडक्ट चयन गर्ने तरिका बुझाउन जरुरी छ । सोही कारण कहिलेकाहीँ ओभर इन्स्योरेन्स पनि हुन सक्छ । यसमा राज्य र नियमनकारी निकायको भूमिका महत्त्वपूर्ण हुन्छ ।

बैंकमा जस्तै बिमा कम्पनीका सीईओलाई पनि कुलिङ पिरियड तोकिएको छ । यसलाई यहाँले कसरी हेर्नु भएको छ ?

एउटा बैंकबाट अर्को बैंकमा जाने सीईओले आफ्नो कोर टिम नै बोकेर जाने र पुरानो  बैंकका राम्रा ग्राहक पनि तान्ने प्रवृत्ति रोक्न राष्ट्र बैंकले ६ महिनाको कुलिङ पिरियड तोकेको थियो । बिमा क्षेत्रमा पनि त्यस्तै हो । कम्पनीका सीईओहरुको उद्देश्य कसरी नाफा गरौं र बिजनेस बढाउँ भन्ने नै हुन्छ । जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन सक्छ । अस्वस्थ प्रतिस्पर्धालाई रोक्न यस्तो नियम उपयुक्त छ । कुलिङ पिरियड केही समयको विश्राम हो । 

नाफा कमाउन कम्पनी सञ्चालकको दबाब कत्तिको हुन्छ ?

सरकारी÷निजी सबै कम्पनीहरुको पहिलो उद्देश्य नै राम्रो व्यवसाय गरेर मुनाफा कमाउने हुन्छ । व्यवसायको प्रकृतिअनुसार लक्ष्य भने फरक फरक हुन्छ । त्यस्तै, बिमा कम्पनीहरुलाई पनि निश्चित बिजनेस बढाउने टार्गेट दिइएको हुन्छ । सो टार्गेट मिट गर्न दबाब आउनु त स्वाभाविक हो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');