काठमाडौं । बिना बिल कारोबार गर्ने १ सय ४५ फर्म तथा व्यापारीलाई आन्तरिक राजस्व विभागको टोलीले कारबाही गरेको छ । राजधानीमा चाडबाडको बेला धेरै व्यवसायीले बिल बिना कारोबार गर्ने गरेको उजुरी परेपछि विभागको टोली अनुगमनमा निस्किएको थियो । अनुगमनका क्रममा १ सय ४५ फर्म तथा व्यापारीले बिल विना कारोबार गरेको देखिएकाले उनीहरुलाई कारबाही गरिएको विभाग स्रोतले बताएको छ ।
विभाग र कर कार्यालयको टोलीले दशै र तिहारभर छुट्टाछुट्टै अनुगमन गरेका थिए । सरकारले भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लागू गरेपछि कारोबार कम देखाउन व्यापारीले बिना बिल कारोबारलाई बढावा दिएका थिए । सोहि बिषयमा उजुरी परेपछि विभागले काठमाडौंका ठाउँ–ठाउँमा अनुगमनलाई तिब्रता दिएको थियो ।
विभाग स्रोतका अनुसार अनुगमनका क्रममा बिना बिल कारोबार गरेको, गरिएको कारोबारलाई पनि पारदर्शी रुपमा नदेखाइएको, मूल्य सूची बिनै सामान बेचेको जस्ता कैफियत भेटिएको थियो । व्यापारीले आयकर तथा मूल्य अभिवृद्धि कर छल्न बिना बिलको कारोबार गर्न थालेपछि विभागले आफू मातहतका कार्यालयलाई समेत यस विषयमा जानकारी गराएको थियो ।
‘बजारमा सामान आइरहेको छ, उद्योगबाट पनि सामान उत्पादन भइरहेको छ । तर, भ्याटमा कारोबार देखिएको छैन, उद्योगबाट उत्पादित सामग्री गोदाममा समेत छैन,’ एक कर अधिकृतले क्यापिटल नेपालसँग भने, ‘व्यापारीले कही न कही गडबढी गरेकाले अनुगमनमा निस्किएको र त्यसमा सत्यता समेत फेला परेको छ ।’ महँगा मोटरसाइकलका वर्कसप, गाडीका वर्कसप, ठूला कपडा व्यापारी, ठूला खाद्यान्न व्यापारीले भ्याट बिल बिनै कारोबार गर्ने गरेको अनुगमनमा फेला परेको थियो ।
विभागका महानिर्देशक विनोद कुँवरले दसैं अघि नै राजधानीका २० ओटा कर कार्यालयका प्रमुखलाई बोलाएर अनुगमन गर्न निर्देशन दिएका थिए । सोही निर्देशन पछि कर कार्यालयले टोली बनाएर अनुगमनमा खटिएको थियो । सरकारले केही उत्पादनमा भ्याट फिर्ता खारेज गरेपछि व्यवसायीले बिना बिलको कारोबार सुरु गरेको आशङ्का विभागले गरेको थियो । खासगरी, वर्कसप तथा मैदा र आँटा उत्पादक कम्पनीले खुद्रा व्यापारीलाई बिना बिलमा सामान बेच्ने गरेको सुनिएको छ ।
उद्योगले उत्पादन गरेको सामानको नक्कली भ्याट बिल काट्ने, बाटोमा सामान ल्याउँदा अनुगमनकारीको फेला परेमा त्यही नक्कली बिल देखाउने, त्यो सामान ल्याएर काठमाडौंमा व्यापारीलाई बिना बिल बेच्न प्रवृत्ति मौलाउँदै गएपछि विभागले सबै कर कार्यालयका प्रमुखलाई अलर्ट गराएको थियो ।
याे पनि पढ्नुहाेस्
विभागका महानिर्देशक स्वयं भन्छन् : ९०० प्रतिशतसम्म नाफा लिएर बेचिरहेका छन् तर, न्यून बिजकीकरणका कारण अनुगमन गर्न सकिएन
भ्याट बिल बिनै कारोबार गरेको पाइएपछि आन्तरिक राजस्वले थाल्यो अनुगमन
कर कार्यालयले थाल्यो बिल बिना कारोबार गर्ने व्यापारीको ‘डिटेल’ सङ्कलन