काठमाडौं। आज वैशाख १२। २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ ले नेपालीलाई झस्काइरहन्छ/चस्काइरहन्छ।
आजकै दिन गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले नेपालमा ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने अर्बाैं रुपैयाँको भौतिक क्षति भएको थियो।
दशकअघिको भूकम्पलाई सम्झिएर आज धरहरा परिसरमा भूकम्प स्मृति दिवस मनाइँदै छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
७.६ म्याग्निच्युडको भूकम्पमा परेर २२ हजार ३०९ घाइते भएको सरकारी तथ्यांक छ।
यद्यपि दशक बित्दासमेत भूकम्पले हिर्काउँदा भत्किएका घरटहरा, भौतिक संरचनाले अझै ठडिन सकेका छैनन्। भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन्।
भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको विवरण सरकारले सार्वजनिक गरेको थियो।
४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो। तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको थियो।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको कार्यान्वयन इकाइ (भवन तथा आवास)अन्तर्गतका निकायबाट सम्पादन भएका आयोजनाको विवरण सार्वजनिक गरेको छ। इकाइका अनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार १८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन्।
पहिलो किस्ता प्राप्त गर्नेमध्ये सात लाख ७० हजार ७७५ (९२.४ प्रतिशत)ले दोस्रो किस्ता र सात लाख ४३ हजार २४९ (८९.१ प्रतिशत)ले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख प्रकाश अर्यालले बताए।

७२ भूकम्पले तहसनहस पुरातात्त्विक तथा पयर्टकीय क्षेत्र हनुमानढाेका। फाइल तस्बिर
यद्यपि सरकारले उपलब्ध गराएको तीन लाख अनुदानले निजी आवास निर्माण हुन नसक्ने भएकाले थप लगानीका लागि क्षमता नहुने सर्वसाधारणले ढिलो निर्माण थालेकाले पनि पुनःनिर्माण पूरा हुन नसकेको उनको बुझाइ छ। अर्यालले आगामी एक वर्षमा ९९ प्रतिशत काम सम्पन्न हुने दाबी गरे।
एकीकृत बस्ती विकासतर्फ विभिन्न जिल्लामा ९७ वटा बस्ती विकासका कार्य सम्पन्न भइसकेका र ९ वटा कार्यकम कार्यान्वयनको क्रममा रहेको अर्यालले जानकारी दिए।
पुरातात्त्विक सम्पदा पुनर्निर्माणका लागि आवश्यक बजेट अभाव, नीतिगत अस्पष्टता, आवश्यक कच्चा पदार्थ अभावले समयमै निर्माण सम्पन्नमा चुनौती रहेको पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले बताए।
उनका अनुसार विश्वसम्पदा क्षेत्रभित्रका १७० र बाहिरका ७५०, गुम्बा २१५, अन्य भूकम्पबाट क्षति भएको तर सूचीकृत नभएका ३६५ गरी १ हजार ५०० वटा संरचनामा भूकम्पले क्षति पुर्याएको थियो।
हालसम्म पुरातात्त्विक संरचना निर्माण गर्दा करिब ७ अर्ब २० करोड खर्च भएको प्रधानांगको भनाइ छ।
भूकम्पपछि सरकारले पुनर्निर्माण प्राधिकरण संरचना बनाएकामा त्यसलाई खारेज गरेर हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)लाई कार्यकम हस्तान्तरण गरिएको छ।
पुनर्निर्माण प्राधिकरणले २०७६ पुस २८ मा विपद्पछि पुनर्निर्माण तथा पुनर्लाभ कार्य ढाँचा तयार गरी पुनर्निर्माण कार्यको संशोधित लागत अनुमान ४ खर्ब ८९१३ करोड ५३ लाख कायम गरेको थियो।
७२ भूकम्पपछि सरकारले पुनर्निर्माणका आयोजना गरेको दाता सम्मिलित सम्मेलनमा ४ खर्बभन्दा बढी रकम सहयोग गर्ने घोषणा भए पनि प्राप्त हुन नसक्दा संरचना निर्माणले अझै पूरा हुन नसकेको हो।
बारपाक भूकम्पले गोरखासहित राजधानी काठमाडौं, काभ्रे, सिन्धुली, भक्तपुर, ललितपुर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो।
यसैगरी गुल्मी, अर्घाखाँची, पाल्पा, संखुवासभा, भोजपुर, खोटाङ, सोलु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएको सरकारी विवरणमा उल्लेख छ।