काठमाडौं। पछिल्लो समय नेपालमा एडभेन्चर मोटरसाइकलको क्रेज निकै बढेको छ। विशेषगरी युवामा यसको आकर्षण अझ बढी देखिन्छ। विगतका दिनमा मानिसले स्पोट्र्स बाइक मात्र रोज्थे। तर, अब ट्रेन्ड फेरिएको छ। पहाडी बाटो र अफरोड यात्राका लागि उपयुक्त एडभेन्चर बाइक अहिले सबैको रोजाइमा पर्न थालेको छ।
चाडपर्वको समय साथीभाइ वा परिवारसँगको यात्रालाई अझ रमाइलो बनाउन धेरै मानिस अफरोडका लागि बाइक राइडमा जाने गर्छन्। त्यसका लागि एडभेन्चर बाइक एउटा उत्तम विकल्प बनेको छ।
युवा पुस्ताका लागि एडभेन्चर बाइक केवल सवारी साधन मात्र नभई यात्राको जोश र उत्साह पनि हो। एड्भेन्चर बाइक कालोपत्रे सडक होस् या कच्ची। दुवै बाटोमा सहजै चलाउन सकिने भएकाले यो बाइक मूल्यका हिसाबले केही महँगा मानिन्छन्।
विगतमा विश्वभर ठूला मोटरसाइकल निर्माताले मात्रै उत्पादन गर्ने एड्भेन्चर मोडल आजकल अधिकांश ब्राण्डले उत्पादन गर्दै आएका छन्। लामो यात्रामा पनि आरामदायी हुने, सामान बोक्न सजिलो हुने र जुनसुकै बाटोमा पनि सहजै चल्न सक्ने भएकाले यो मोटरसाइकल धेरैको मनपर्ने साधन बनेको छ।
पछिल्लो समय एड्भेन्चर बाइकप्रति युवापुस्ताको आकर्षण बढ्दै गएकाले कम मूल्यका एड्भेन्चर बाइक पनि नेपाली बजारमा धेरै आउन थालेका छन्। नेपालमा हिरोदेखि मोटरहेडसम्मका ब्रान्डले एड्भेन्चर मोडल बिक्री गर्दै आएका छन्। अहिले नेपालमा ३ देखि १२–१५ लाखसम्म मूल्य पर्ने एड्भेन्चर मोडल सहजै किन्न पाइन्छ।
बाइक उत्पादक कम्पनीले लामो दुरिको यात्रालाई मध्यनजर गर्दै आकर्षक फिचर, डिजाइन तथा पावरट्रेनका एडभेन्चर बाइक निर्माण गर्छन्। यो सेग्मेन्टका बाइकको बजार दिनानुदिन विस्तार हुँदै गएको छ।
यसको प्रत्यक्ष प्रभाव नेपाली अटो बजारमा देख्न सकिन्छ। अधिकांश कम्पनीले बिक्री गर्ने एड्भेन्चर मोटरसाइकल २०० सीसीभन्दा माथिका छन्। यद्यपि, कम मूल्य र हलुका तौल भएका १५० सीसी क्षमताका एड्भेन्चर मोडल पनि नेपाली बजारमा उपलब्ध रहेका छन्।
हिरो एक्सपल्स २०० फोर भी
सिजि मोटर्सले बिक्री गर्दै आएको हिरो एक्सपल्स २०० फोर भी धेरै घुमफिर गर्ने, अफरोड र एड्भेन्चर राइड गर्न रुचाउनेका लागि मूल्य पावर र फिचरका हिसाबले भरपर्दो मोटरसाइकल हो।
एक्सपल्स २०० फोर भी एड्भेन्चर डिजाइनमा छ। गोलाकार हेडलाइट सेटअप, उत्कृष्ट एड्भेन्चर डीएनए, अग्लो सिट हाइट र ग्राउन्ड क्लियरेन्स डिजाइनले लामो र अफरोड यात्राको लागि धेरै सजिलो बनाउँछ। कम्पनीले हिरो एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ।
जोनसोन क्यारेरा
एड्भेन्चर टुरिङ रुचाउने राइडरका लागि लक्षित गरी नेपाली बजारमा भित्रिएको जोनसेन क्यारेरा २२० सीसी को बाइक हो। नेपाली बजारमा ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङले बिक्री गर्दै आएको जोनसोन क्यारेराको मूल्य ५ लाख ६० हजार ५ सय रुपैयाँ तोकेको छ।
२२० सीसी इन्जिनयुक्त यो बाइकमा एड्भेन्चर मोटरसाइकलमा हुनु पर्ने विभिन्न विशेषता रहेका छन्। यसमा डिजिटल मिटर, फुल एलईडी लाइट, २०० एमएमको ग्राउन्ड क्लियरेन्स र फराकिला टायरलगायतका विशेषता छन्।
यामाहा एक्सटीजेड १५०
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइडले १४९ सीसी सिंगल सिलिन्डर, एफआई इन्जिन रहेको यामाहा एक्सटीजेड नेपाली बजारमा बिक्री गर्दै आएको छ।
यो इन्जिनले अधिकतम ७५०० आरपीएममा १२.५ पीएस पावर र ६००० आरपीएममा १३.१ न्यूटन मिटर टर्क दिन्छ। कम्पनीले यो बाइक ५ लाख ६९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ।
होन्डा एक्सआर १५० एल
विगतका दिनमा नेपालमा एड्भेन्चर मोडल भन्ना साथ धेरैले सम्झने होन्डा ब्राण्ड हो। अहिले बजारमा नयाँ नयाँ ब्रान्डका एड्भेन्चर बाइक उपलब्ध भएपनि मूल्यका हिसाबले भने होन्डाको सस्तो एड्भेन्चर पाउन सकिन्छ।
अहिले पनि होन्डाले थुप्रै एड्भेन्चर मोडल विक्री गर्दै आएको छ। होन्डाको सबैभन्दा सानो एड्भेन्चर मोटरसाइकल एक्सआर १५० एल मोडल हो। फोर बोल्ट माउन्टिङ सिस्टम, स्मुथ फोर स्ट्रोक पावर, डिजिटल स्पीडोमिटर रहेको एक्सआर १५० एलको मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ। १५० सीसी क्षमताको फोर स्ट्रोक, एसओएचसी, एयरकुल्ड इन्जिन यसमा रहेको छ।
हार्टफोर्ड भिआर १५०
हार्टफोर्ड नेपालमा बिक्री हुने सबैभन्दा पुरानो मध्यको एक एड्भेन्चर मोटरसाइकल हो। कुनै समय निकै चर्चामा रहेको यो बाइक अहिले पनि सडकमा गुडेको देख्न सकिन्छ।
यसमा १४९ सीसीको फोर स्ट्रोक सिगंल सिलिन्डर इन्जिन रहेको छ। उक्त इन्जिनले अधिकतम १३ ब्रेकहर्स पावर र १२.४५ एनएमको टर्क प्रदान गर्छ। यसमा ५ स्पीडको गियरबक्स छ। यो मोटरसाइकलको मूल्य ४ लाख ९० हजार रुपैयाँ रहेको छ। यसमा १२ लिटर क्षमताको इन्धन ट्यांकी छ।