जुम्ला। सदरमुकाम खलंगामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ।
उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सञ्चालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार महोत्सवबाट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्न तथा औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आवश्यक भएको उनी बताउँछन्।
महोत्सव अवधिभर कर्णालीका स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ। महोत्सवमा २२ कक्ष राखिएका छन्। सबै कक्ष ‘बुकिङ’ भइसकेको अध्यक्ष देवकोटाले जानकारी दिए।
ती कक्षमा रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि राखिएका छन्। ‘स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौं। यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्नेछन्’, उनले भने।
महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नु एवं स्थानीय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ। महोत्सव वैशाख २४ सम्म चल्नेछ।