काठमाडौं। मुलुकको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित पूर्वमहानिर्देशक र कर्मचारीहरुलाई १० अर्ब रुपैयाँ भ्रष्टचार गरेको आरोप लाग्यो।
संसदको लेखासमितिले गठन गरेकाे उपसमितिकाे अध्ययनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै लेखा समितिमा प्रतिवेदन बुझाइसकेको छ।
यद्यपि, लेखा समितिले हालसम्म उक्त प्रतिवेदन सरकारलाई कार्यन्वयनका लागि सम्बन्धित निकायलाई बुझाएको छैन। जसले गर्दा छानविनका क्रममा दोषी देखिएला वा नदेखिएला त्यो हेर्न बाँकी छ।
तर, सार्वजनिक रुपमा १० अर्ब भ्रष्टचारको आरोप लागेपछि प्राधिकरणभित्र आगो सल्किएको छ। अर्थात, सिंगो कर्मचारीले आफ्नो नेतृत्वमाथि अर्बौं रुपैयाँको भ्रष्टचारको आरोप लागेपछि शिर निहुरिएको कर्मचारीको गुनासो छ।
अहिले सार्वजनिक ठाउँमा होस् वा सामाजिक सञ्जालमा जहाँ पनि ऋण लिएर निर्माण गरेको विमानस्थलमा अर्बौं भ्रष्टचार गरेको भन्दै कर्मचारीहरु र नेताको आलोचना तीव्र बढेको छ।
वार कि पार गर्न कर्मचारीको सुझाव
भ्रष्टाचारसम्बन्धी लागेको आरोप तत्कालै वार कि पार गरेर सरकारले छिनोफानो गरिदिनुपर्ने कर्मचारीको भनाइ छ। ‘सांसदहरुले लेखासमितिदेखि संसदमा समेत प्राधिकरणका कर्मचारीले अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएर भाषण गरिदिँदा हाम्रो मानमर्दन भइरहेकाे छ,’ प्राधिकरणका एक उच्च तहका कर्मचारीले भने, ‘हामीलाई संस्थागत दाग लाग्यो, यो तत्कालै मेटियाेस्।’
क्यान टुक्रिने विधेयक अघि बढेपछि तनावमा कर्मचारी
प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय बनाउने गरी अहिले प्रतिनिधिसभामा विधेयक पेस भइसकेको छ। अहिलेको तयारीअनुसार हिउँदे अधिवेशनभित्रै विधेयक पारित गर्ने लक्ष्य राखिएको छ।
यो काम अगाडि बढे असारअघि विधेयक पास हुने र प्राधिकरण दुई वटा बन्ने छ। सरकारले आम्दानी वा खर्चको श्रोत जोहो नगरी हचुवाको भरमा प्राधिकरण दुई वटा बनाउन लागेको भन्दै कर्मचारीले विरोध गरिरहेका छन्।
प्राधिकरणका महानिर्देशक अधिकारीको इगो मेटाउनका लागि केही नेताहरुको स्वार्थमा नियामक निकायको श्रोतको सुनिश्चिततासमेत नगरिसकेको अवस्थामा दुई वटा बनाउन नमिल्ने कर्मचारीहरुको भनाइ छ।
‘जसरी पर्यटन बोर्ड गठन गरेको छ, बोर्डको अहिलेको अवस्था कस्तो छ भन्ने सबैलाई थाहा छ,’ ती कर्मचारीले भने, ‘प्राधिकरणको नियामक निकाय पनि त्यही हालतमा पुग्ने देखिन्छ, यसमा इगोभन्दा वास्तविकतालाई ध्यान दिन कसैले खोजेनन्।’
राजीनामाको दबाबमा महानिर्देशक
१० अर्ब भ्रष्टचारको आरोप लेखासमितिको उपसमितिले गरेपछि अहिले प्राधिकरण महानिर्देशक अधिकारीकाे विरोध भइरहेको छ। महानिर्देशक नियुक्ति गरेका पूर्वपर्यटनमन्त्री प्रेम आलेले सार्वजनिक रुपमा अयोग्य व्यक्तिलाई पार्टीको दबाबमा नियुक्ति गर्नुपरेको भन्दै पछुतो लागेको बताइरहेका छन्। यस्तै, अन्य सांसदले पनि विरोध जनाइरहेका छन्।
सार्वजनिक रुपमा महानिर्देशक अधिकारीको विरोध भइरहेको छ। यस्तो अवस्थामा आफूमाथि लागेको आरोपलाई छानविन गरी सत्यतथ्य पत्ता लगाउन सहयोग पुर्याउनका लागि तत्कालै पदबाट राजीनामा दिएर बाटो खुला गर्न कर्मचारीले सुझाव दिइसकेका छन्।
‘सार्वजनिक रुपमा आरोप लागेपछि पदमा बसिरहनु राम्रो हुँदैन,’ ती कर्मचारीले भने, ‘राजीनामा दिएर बाटो खुला गरी आरोप पुष्टि नभए प्राधिकरणमा फर्किंदा हुन्छ भनिसकेका छौं।’