काठमाडौं। मारुती सुजुकीको पहिलो विद्युतीय मोडल ई–भिटारा नेपाल आइपुगेको छ। नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले आगामी नाडा अटो शोमा सोकेस गर्नको लागि ई–भिटारा नेपाली बजारमा ल्याएको हो।
मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार मोडल ई–भिटारा गत जनवरीमा भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको थियो। ई–भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको छ। सुजुकी ई–भिटारा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउनेछ।
सुजुकी ई–भिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यो फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०६, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा उपलब्ध छ।
ई–भिटाराको लम्बाई ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम छ। ई–भिटाराको क्याबिनमा ड्युअल स्क्रिनका साथ नयाँ अपरेटिङ सिस्टम वा युजर इन्टरफेस दिइएको छ।
गाडीमा टचस्क्रिन सुविधा मात्र नभई डिजिटल डायल धेरै इन्फोर्मेटिभ हुने बताइएको छ। पछिल्लो भागमा स्प्लिट फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट र सबै यात्रीका लागि थ्री–पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्टलगायत सुविधा उपलब्ध हुनेछन्।
गाडीमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्विल ड्राइभ भर्सनका लागि ‘ट्रेल’सहित ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र एडासजस्ता सेफ्टी फिचर रहेका छन्।
सुरक्षाको लागि आधुनिक फिचरको लामै लिस्ट उपलब्ध ई–भिटारामा एडास लेभल २ फिचर पाउन सकिन्छ। लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर उपलब्ध छ।