काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सजिलो पे सर्भिसेज र पेवेल नेपालको अवैध भुक्तानीमा संलग्न थप ९ जना एजेन्टलाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएका सजिलो पे र पेवेल करिब ढेड वर्ष अघिदेखि सिआईबीको अनुसन्धानमा छ।
सजिलो पे र पेवेलले अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा डिजिटल पेमेन्ट भएको भन्दै यसबीच ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यी कम्पनीहरुको अवैध कारोबारमा संलग्न थप ९ जना व्यक्तिलाई पक्राउ गरिएको सिआईबी प्रवक्ता युवराज खड्काले जानकारी दिए।
‘सजिलोपे र पेवेलको अवैध भुक्तानीमा संलग्न देखिएका थप ९ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ,’ प्रवक्ता खड्काले क्यापिटल नेपालसँग भने, ‘यसअघि विभिन्न ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरिएको थियो, सजिलो पे र पेवेलको अवैध भुक्तानीमा संलग्न कुल ३० जना पुगे।’
सिआईबीले यी संस्थाहरू अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा संलग्नता रहेको भन्दै पहिलो चरणमा १२ जना, दोसो र तेस्रो चरणमा गरी ३० जनालाई प्रक्राउ गरी अनुसन्धान गरिरहेको छ। सिआईबीको अनुसन्धानमा उनीहरूले कुल १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार रुपैयाँ अवैध वित्तीय कारोबार गरेको भेटिएको खड्काले जानकारी दिए।
सिआईबीले डेढ वर्षअघि डिजिटल पेमेन्ट सजिलो पे र गेटवे पेवेल अवैध सुनको ५५ अर्ब ७९ करोड ८८ लाख भुक्तानी गरेको भेटिएको थियो। ‘पक्राउ परेको व्यक्तिहरूले गैरकानुनी रकमलाई डिजिटल वालेट सजिलो पे र पेवेल कम्पनीको नाममा नेपालका विभिन्न बैंकमा रहेको खातामा जम्मा गरेर त्यसलाई विभिन्न तवरले रेमिट्यान्सको भुक्तानी गरेर पाइएको छ,’ उनले भने, ‘यो पहिले नै भएको कारोबारमा थप व्यक्तिहरू प्रक्राउ परेका हुन्, थप अनुसन्धान भइरहेको छ, उनीहरू अभियुक्त हुन सक्छन्।’
ती व्यक्तिहरुले सजिलो पे र पेवेलको बैंक खातामा गैरकानुनी रुपमा आर्जित पैसा जम्मा गर्न ‘मनी म्युल’ परिचालन गरेर आन्तरिक र अन्तर्राष्ट्रिय रेमिट्यान्सको गरेका थिए। मनी म्युल भन्नाले अरू कसैको अवैध वा गैरकानुनी तरिकाबाट आर्जन गरिएको रकमलाई आफ्नो खातामा राखेर वा आफूमार्फत अरूको खातामा ट्रान्सफर गरिदिने व्यक्ति हुन्।
राष्ट्र बैंकबाट रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएको मनिट्रान्सफरले सजिलो पे र पेवेलमार्फत् गैरकानुनी रकमलाई ई-मनी बनाएर रकम रेमिट्यान्सको भुक्तानी गर्न विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरेको हुन्।
सिआईबीले मनिट्रान्सफरको संचालकलाई समेत पक्राउ गरी राष्ट्र बैंकबाट जारी आदेश र निर्देशनविपरीतको कार्य गरेको हुँदा राष्ट्र बैंक ऐन बमोजिमको कसुर उपर अन्सन्धान गरिरहेको प्रवक्ता खड्काले जानकारी दिए।
पछिल्लो पटक सिआईबीले पक्राउ गरेका सजिलो पे र पेवेलका एजेन्ट निम्नअनुसार छन्ः
१. १९ वर्षको भरतीय नागरिक श्रीकान्त विभूते
२. सिन्धुली जिल्लामा ५० वर्षको खड्क बहादुर श्रेष्ठ
३. सिन्धुली जिल्लाका २९ वर्षका विकाश श्रेष्ठ
४. सुनसरी जिल्लाका ३४ वर्षका विकेश अग्रवाल
५. सुनसरी जिल्लाका २५ वर्षका सुमन खनाल
६. झापा जिल्लाका ३२ वर्षका सुनिल राई
७. झापा जिल्लाका ३४ वर्षका अनुज मारु
८. झापा जिल्लाका ४० वर्षका कपिस मारु
९. झापा जिल्लाका ३७ वर्षका अंकित अग्रवाल
सजिलो पे र पेवेलका ललिता देवी महत्तो र ममता शाहलाई सिआईबीले हाजिरी जमानीमा छोडेको उनले जानकारी दिए।