काठमाडौं। चीनको विद्युतीय सवारी साधन (ईभी) बजारमा एकपछि अर्काे अटो ब्राण्डले आफ्नो सवारी साधनमा भारी छुट दिइरहेका छन्। चीनका प्रमुख ईभी निर्माता कम्पनी बिवाईडी, एक्सपेङ, साओमीलगायत ब्राण्डले आफ्नो गाडीको मूल्यमा ठूलो छुट घोषणा गरेका हुन्।
पछिल्ला महिनामा अटो निर्माता कम्पनीहरुको मूल्य छुट घोषणा झनै तीव्र बन्दै गएको छ। चिनियाँ उद्योगको ठूलो कम्पनी बिवाईडीले गत हप्ता आफ्ना पूर्ण ब्याट्री र हाइब्रिड गाडीको मूल्यमा करिब ३० प्रतिशत छुट दिने घोषणा गरेपछि अटो उद्योगमा तरंग आएको हो।
दोयचे बैंकका एनालिस्ट वाङ बीनका अनुसार पछिल्लो समयमा बिवाईडीका स्थानीय डिलरमा ठूलो संख्यामा स्टक थुप्रिएकाले ‘छुटको स्किम’ सार्वजनिक गरेको हो। बिवाईडीका डिलरमा सन् २०२५ को पहिलो ४ महिनामा अघिल्लो सोही अवधिको तुलनामा एक लाख ५० हजारभन्दा बढीले स्टक थुप्रिएको बैंकको दाबी छ। अहिले बिवाईडीका डिलरसँग ३-४ महिनाका लागि पुग्दो स्टक रहेको बताइएको छ।
चिनियाँ अटोमोबाइल डिलर्स एसोसिएसनका विश्लेषक झोङशिले मन्डारिनका अनुसार बिवाईडीको मूल्य छुटका घोषणाले अन्य ब्राण्डलाई दबाब परेको छ। ‘बिवाईडीको यस निर्णयले साना अटोमेकर अब प्रतिस्पर्धा गर्ने क्षमताबारे बढी चिन्तित छन्।’
बिवाईडीले आफ्ना विभिन्न मोडलमा भारी छुट घोषणा गरेपछि सोमबार चीनका ठूला अटोमेकरको सेयर घट्यो। विभिन्न कम्पनीले चीनको ईभी बजारमा भएको ‘प्राइस वार’को बारेमा खुलेर चिन्ता व्यक्त गरे। बिवाईडीले आफ्नो सबैभन्दा सस्तो मोडेल सीगल ह्याचब्याकको सुरुवाती मूल्य १० हजार डलरबाट घटाएर ७ हजार ७६५ डलर (५५ हजार ८०० युआन) सम्म झारेको छ। जसले उपभोक्तालाई ठूलो आकर्षण गरेको देखिएको छ। यसैको प्रभाव स्वरुपम चीनका अन्य कम्पनीले पनि मूल्यमा छुट दिन थालेका हुन्।
विगत एक दशकमा चीनको कार बजारमा धेरै स्टार्टअप कम्पनीहरू आएका छन्। बढ्दो प्रतिस्पर्धा र मूल्य कटौती प्रतिस्पर्धाले धेरैजसो कम्पनीले भारी घाटा बेहोरिरहेका छन्।
बेइजिङ सरकारले हालै खपत प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ ऊर्जा सवारी साधनका लागि नयाँ अनुदान कार्यक्रम घोषणा गरेको छ। यस योजनामा ब्याट्री आधारित र हाइब्रिड कारहरू दुवै समावेश छन्। जसले बजारमा थप चहलपहल ल्याएको छ। तर, विशेषज्ञका अनुसार ‘प्राइस वार’लामो समयसम्म कायम रह्यो भने यसले बजारको संरचना बिग्रन सक्छ। विशेषगरी साना तथा नयाँ कम्पनीहरूको अस्तित्व संकटमा पर्न सक्ने आंकलन उनीहरुले गरेका छन्।
चीनको ईभी बजार विगत दुई वर्षदेखि ‘प्राइस वार’मा होमिएको छ। जसको सुरुवात टेस्लाले गरेको थियो। हाल चीनमा बेचिने लगभग ५० प्रतिशत बजार हिस्सा नयाँ ऊर्जा सवारी साधनको छ।
दुई वर्षमा १९ प्रतिशत मूल्य गिरावट
पछिल्ला दुई वर्षमा चीनमा गाडीको खुद्रा मूल्यमा झण्डै १९ प्रतिशतको गिरावट आएको छ। अटोहोम रिसर्च इन्स्टिच्युटको अटो उद्योग तथ्यांकअनुसार विगत दुई वर्षमा औसत कार खुद्रा मूल्य लगभग १९ प्रतिशतले घटेको हो।
हाइब्रिड वा रेन्ज–एक्सटेन्डर सवारीहरूको मूल्यमा २७ प्रतिशतले गिरावट आएको छ भने, शुद्ध ब्याट्रीचालित गाडीहरूको मूल्य २१ प्रतिशतले घटेको छ। परम्परागत इन्धनबाट चल्ने गाडीहरूमा भने औसतभन्दा कम १८ प्रतिशतले मात्र मूल्यमा गिरावट आएको छ।
एक वर्षमा २० प्रतिशतले घट्यो ब्याट्रीको मूल्य
इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए)का अनुसार सन् २०२४ को एक वर्षमै २० प्रतिशतले ब्याट्रीको मूल्यमा गिरावट आएको छ। ब्याट्रीको मूल्यमा आएको ब्यापक गिरावटसँगै विद्युतीय साधनको मूल्य कटौती भएको सहजै अनुमान लगाउन सकिन्छ।
त्यसैको प्रभावस्वरुपम चीनमा अहिले ईभीमा ठूलो स्कीमहरु चलिरहेको छन। ब्याट्रीको मूल्यमा उच्च गिरावट आएकै कारण टोयोटा, फोर्ड र जनरल मोटर जस्ता स्थापित ब्राण्डले आफैँ ब्याट्री प्लान्ट लगाउन थालेका छन्।
विशेषगरि चीनमा इभीको बढ्दो उत्पादन र प्रयोगले लिथियमको माग बढाएको छ। अमेरिका, जापान, भारत, चीन, नेदरल्याण्ड र अन्य धेरै यस्ता देशहरूले इभी अपनाउनका लागि महत्त्वाकांक्षी लक्ष्यहरू राखेका छन् उदाहरणका लागि, भारतले २०३० सम्ममा नयाँ सवारी साधनको बिक्रीको ३० प्रतिशत ईभी हुने लक्ष्य राखेको छ। यद्यपि चार्जिङ पूर्वाधार र दायराको चिन्ताले यो लक्ष्य हासिल गर्न चुनौती खडा गरिरहेको छ, ब्याट्री प्याकको घट्दो लागतले थप ईभीतर्फ डोर्याउने अवस्था बन्दै गइरहेको छ।
केही वर्षअगाडि प्लगइन हाइब्रिड कारमा उपलब्ध हुने २० किलोवाट आवरको ब्याट्री पाइने मूल्यमा अहिले ६५ किलोवाट आवरको ब्याट्री पाउन थालिएको छ। यसले समग्र ईभीको विकासमै सहयोग पुगेको छ।