काठमाडौं। नेपाली अटो बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) का नयाँ ब्रान्ड आउने क्रम बढ्दो छ। हाल नेपाली बजारमा भित्रिएका अधिकांश ब्रान्डमध्ये चिनियाँको हिस्सा धेरै छ। यसलाई पछ्याउँदै पछिल्लो समय फरथिङ फ्राइडे ईभी नेपाली बजारमा आएको छ।
हाल नेपाली बजारमा वातावरणमैत्री प्रविधि र सस्तो सञ्चालन खर्चले उपभोक्ताको आकर्षण ईभीमा बढाएको छ। फरथिङ फ्राइडेको आगमनले उपभोक्तालाई थप विकल्प दिनुका साथै प्रतिस्पर्धालाई अझ चर्काउने देखिएको छ।
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले हालै फरथिङ फ्राइडे ईभी नेपाली बजारमा भित्र्याए पनि औपचारिक रुपमा सार्वजनिक भएको छैन। यसलाई कम्पनीले परीक्षण गरिरहेको जनाएको छ। अहिले बजारमा यही सेग्मेन्टमा दुई एसयूभी बिक्री भइरहेका छन। यसमा बिवाइडी एटो–थ्री को सुपेरियर भेरियन्ट र ओमोडा ई–५ को लग्जरी भेरियन्ट मुख्य प्रतिस्पर्धी हुन्।
नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक हो भने ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो। क्रसओभर स्पोर्टी एसयूभीको पहिचान बनाएको एटो–३ सुपेरियरकोे मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ। ओमोडा ई–५ लग्जरी भेरियन्टको मूल्य ६१ लाख ९९ हजार तोकिएको छ।
यी गाडीको मूल्यअन्तर ६ लाख रुपैयाँको छ। समान ब्याट्री साइज, पिकपावर र रेन्ज भएको फरथिङ फ्राइडेको सुरुआती मूल्य ५७ लाख हाराहारी हुने कम्पनीले जनाएको छ। बिवाईडी एटो–थ्री र ओमोडा ई–५ सँग प्रतिस्पर्धीको रुपमा नेपाल भित्रिएको फरथिङ फ्राइेड यी दुई एसयूभीभन्दा सस्तो हुने देखिन्छ।
ब्याट्री साइज करिब समान
तीन एसयूभीमा सबैभन्दा ठूलो ब्याट्री फरथिङ फ्राइडेमा पाउन सकिन्छ। कम्पनीले यसमा ६४.४ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरेको छ। ओमोडा ई–५ मा ६१ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ। एटो–३ सुपेरियरमा भने ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ।
रेन्ज
ब्याट्रीको साइज लगभग उस्तै रहेका एसयूभीको रेन्ज पनि लगभग समान छन्। एटो–३ सुपेरियरको डब्लुएलटीपी रेन्ज ४२० किलोमिटर छ भने ओमोडा ई–५ को ४३० किलोमिटर छ। त्यस्तै, फरथिङ फ्राइडेको डब्लूएलटीपीले प्रमाणित गरेको रेन्ज ४०० किलोमिटर छ।
साइज
बिवाईडी एटो–थ्रीको लम्बाइ ४४५५, चौडाइ १८७५, र उचाइ १६१५ एमएम छ। ओमोडा ई–५ को लम्बाइ ४४२४, चौडाइ १८३० र उचाइ १५८८ एमएम छ। यसमा २६१० एमएम लामो ह्वीलबेस छ।
त्यस्तै, फरथिङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ। यसको ह्वीलबेस २७१५ एमएम छ। प्रिमियम लाग्ने एसयूभीमा १९ इन्च ठूलो ह्वील पाउन सकिन्छ।
क्याबिन फिचर
सेफ्टी फिचरअन्तर्गत बिवाईडी एटो–थ्री मा ७ वटा एयरब्याग, अगाडि भेन्टिलेटेड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ। साथै, इलेक्ट्रिक पार्किङ ब्रेक, एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटिक ब्रेकिङ, फ्रन्ट कोलिजन वार्निङ, डोर ओपन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्टलगायतका फिचर छन्।
ओमोडाले ई–५ मा सुरक्षाका लागि ६ वटा एयरब्याग दिएको छ। साथै, एडास फिचरभित्र पर्ने १७ फिचर ग्राहकले यसमा पाउनेछन्। ई–५ मा ३६० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिकजाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङजस्ता फिचर दिइएको छ।
फरथिङ फ्राइडेमा सुरक्षाका लागि एडास फिचरसहित ६ वटा एयरब्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट/रियर पार्किङ राडार, एडाप्टिभ क्रुज कन्ट्रोल अपहिल÷डाउनहिल असिस्टलगायत विशेषता छन्।
यस्तै, भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध छ। यसमा ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६ स्पिकरसहितको म्युजिक सिस्टमलगायत फिचर यसमा पाउन सकिन्छ।