स्याङ्जा। वालिङमा एक युवाले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका हुन्।
दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव संगालेका तिवारी आफ्नै ठाउँमा फर्केर व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किएका थिए। स्वदेश फर्केको ३ महिनापछि उनले व्यावसायिक अकबरे खुर्सानी लगाउने योजना बनाएका हुन्।
‘स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ,’ उनले भने, ‘आफूलाई कृषि क्षेत्रमा भएको अनुभव साथै खुर्सानीको बजारीकरण तथा खपत राम्रो हुने देखेर व्यावसायिक रुपमा अगाडि बढेको हुँ।’
मातृभूमि कृषि तथा पशुंपक्षी फार्म दर्ता गरेर व्यवसाय थालेका तिवारीले ३० रोपनी जमिन भाडामा लिएका छन्। उनले भाडामा लिएको जमिनको व्यवस्थापन, मलखाद, खनजोत तथा खुर्सानीको नर्सरी आफैँ राखेर जेठको पहिलो साता खुर्सानी रोपेका थिए।
‘जग्गा व्यवस्थापन, जग्गा सम्झौता, आवश्यक यन्त्र उपकरण खरिद, कामदार लगायतको कामका लागि हालसम्म झण्डै २५ लाख लगानी भएको छ,’ उनले भने, ‘करिब ३० रोपनी क्षेत्रफलमा झण्डै २५ हजार अकबरे खुर्सानी लगाएको छु।’
खुर्सानी उत्पादनका लागि यहाँको हावापानी उपयुक्त रहेको उनको भनाइ थियो। जेठको पहिलो साता लगाइएको खुर्सानीले भदौ, असोजमा उत्पादन दिन्छ।
एउटा राम्रो बोटबाट एकदेखि तीन किलोसम्म खुर्सानी उत्पादन हुने उनले बताए। तिवारीसँगै अहिले व्यावसायिक अकबरे खेतीमा अन्य दुई जनाले साथ दिएका छन्।
गाउँघरमा पछिल्लो समय खेतीपाती नगरी जमिन बाँझो राख्ने क्रम बढ्दै गइरहेका बेला बाँझो जमिनको सदुपयोग गर्दै युवाले ठूलो मात्रामा थालेको व्यावसायिक अकबरे खेतीबारे जान्न बुझ्न आसपासका स्थानीय फर्ममा पुग्ने गरेका छन्।