काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सिजी सिमेन्ट इन्डस्ट्रिज प्रालि (सिजी पाल्पा)ले उत्पादन सुरु गरेको एक वर्षबीचमै पौने २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ।
सन् २०२३ मा व्यावसायिक रुपमा सञ्चालनमा आएको सिजी पाल्पाले सन् २०२४ मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँ बराबरको सिमेन्ट बिक्रीबाट आम्दानी गरेको हो।
सिजी पाल्पाले बैंकिङ प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा १२ अर्ब ६५ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको थियो। यसमा इक्राले १० अर्ब ९० करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि ‘एलडी’ र २ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन कर्जाका निम्ति ‘डी’ रेटिङ पाएको छ। दीर्घकालीन कर्जामा ‘एलडी’ रेटिङले लगानीकर्ता र ऋणदाताका लागि जोखिमपूर्ण संकेत हो।
कम्पनीको आर्थिक अवस्था कमजोर हुँदै गएको, अघिल्लो पटक लिएको दीर्घकालीन ऋणको कुनै किस्ता वा ब्याज समयमै तिर्न नसकेको (डिफल्ट) गरेको संकेत हो। साथै, अल्पकालीन कर्जाको ‘डी’ रेटिङले कम्पनीले लिएको ऋण तत्काल भुक्तानी गर्न नसक्ने ‘डिफल्ट’ को संकेत गर्छ।
उल्लिखित रेटिङ अघिल्लो रेटिङमा खस्किएको हो। अघिल्लो रेटिङमा कम्पनीले दीर्घकालीन कर्जामा ‘एलबी माइनस’ र अल्पकालीन कर्जामा ‘ए फोर’ रेटिङ प्राप्त गरेको थियो।
‘एलबी माइनस’ले कम्पनीको कमजोर वित्तीय अवस्था रहेको, कर्जा लगानी जोखिमपूर्ण र डिफल्टको सम्भावना उच्च र ‘ए फोर’ रेटिङले तिर्ने क्षमता कमजोर रहेको संकेत गर्छ। तर, कर्जा तिर्ने प्रयासमा कम्पनी रहेको उल्लेख गर्छ।
कम्पनीको रेटिङ समयमै कर्जा नतिरेको कारणले घटेको हो। इक्राको रेटिङ रिपोर्टअनुसार कम्पनीले बैंकबाट लिएको कर्जाको कुनै एक किस्ता ३० दिन ढिलो गरेर तिरेको थियो।
कम्पनीले २०२३ मा सञ्चालनमा आएलगत्तै १३ अर्ब २३ करोड ७० लाख रुपैयाँको क्लिंकरमा खर्च गरेको थियो, जुन ऋण र पुँजीमा करिब ७९.२१ अनुपातमा रहेको देखिन्छ।
सिमेन्ट उद्योगबीच मूल्यमा अस्वस्थ प्रतिस्पर्धा, सरकारी नीतिमा परिवर्तन, स्थानीय सिमेन्ट माग कम हुनु, मागभन्दा धेरै सिमेन्ट उत्पादन, नगद प्रवाहमा अस्थिरता, सिमेन्ट निर्यात योजना सफल नहुँदा कम्पनीले अपेक्षित उत्पादन र व्यापार गर्न नसक्दा बैंकको ऋण चुक्ता गर्नसमेत सकस परेको देखिन्छ।
चुनौतीका बाबजुद सिजी पाल्पा सिमेन्टले प्रतिदिन एक हजार टन क्षमताको आफ्नै ग्राइन्डिङ युनिट निर्माण गरिरहेको छ। यो युनिट सञ्चालनमा आएपछि सिजीको आम्दानीमा सुधार हुने अपेक्षा कम्पनीको छ।
सन् २०१३ मा १५ सय प्रतिदिन क्षमता ग्राइडिङ युनिट उत्पादन लक्ष्य राखेर पाल्पाको सर्वेदा रैनादेवी छहरा गाउँपालिकामा उद्योग स्थापना भएको थियो। निर्माण सम्पन्न भएर सन् २०२३ सेप्टेम्बरबाट उत्पादन सुरु गरेकाे हाे।
उद्योगको क्लिंकर उत्पादन क्षमता प्रतिदिन २९ सय ५० केट्रिक टन छ भने हाल १ हजार मेट्रिक टन उत्पादन गरिरहेको छ।