काठमाडौं। विभिन्न प्रकारका परिस्कृत खानेतेल र वनस्पति घ्यू उत्पादक पशुपति खाद्य तेल उद्योगले ९ महिनामा करिब साढे ६ अर्ब रुपैयाँको व्यापार गरेको छ। उद्योगले सनफ्लावर, सोयाबिन, पाप ओलिन तथा वनस्पति घ्यू उत्पादन तथा बिक्री गरेर आर्थिक वर्ष २०२४/२५ को ९ महिनामा ६ अर्ब ४४ करोड २० लाख रुपैयाँ (अपरिस्कृत) आम्दानी गरेको हो।
उद्योगले सन् २०२४ मा २ अर्ब ७ करोड, २०२३ मा ३ अर्ब ६६ करोड, २०२२ मा ७ अर्ब ७८ करोड र सन् २०२१ मा ४ अर्ब ६२ करोड रुपैयाँको व्यापार गरेको थियो।
सन् १९८२ मा मोरङको विराटनगर स्थापित उक्त उद्योगमा नन्दकिशोर राठी कम्पनीको सबैभन्दा बढी (करिब १३ प्रतिशत) सेयर स्वामित्व छ। बाँकी सेयर स्वामित्व शारदा, राठी र वैद्य परिवारका गरी अन्य १९ जनाको रहेको छ। उद्योगको अध्यक्ष भने श्रीनिवास शारदा हुन्। उद्योगको ठूला लगानीकर्ता सिमेन्ट, स्टिल, खाद्य, प्याकेजिङलगायतका विभिन्न ठूला उद्योगमा आवद्ध छन्।
उद्योगले रेटिङ एजेन्सी एक्रा नेपालमा ८ अर्ब रुपैयाँको बैंकिङ कर्जा प्रयोजनका लागि गराएको रेटिङमा अल्पकालीन कर्जामा ‘ए फोर’ पुनःपुष्टि भएको छ। उद्योगले पाएको उक्त रेटिङले छोटा समयको कर्जाका उच्च जोखिम रहने संकेत गर्छ। उद्योगको वित्तीय दायित्व समयमै भुक्तानी गर्न सक्ने विषयमा निश्चितता नभएको, नगद प्रवाह अस्थिर भएको रेटिङको संकेत हो।
पशुपति खाद्य उद्योगको आम्दानीमा अस्थिरता, चालू पुँजी कर्जाको उच्चतम उपयोग, भारतमा निर्भर आम्दानी, कच्चा पदार्थको मूल्य तथा विदेशी विनिमयको उच्च उत्तारचढावका कारण रेटिङ राम्रो नभएको रिपोर्टमा उल्लेख छ। भारतमा डुयुटी आर्बिटे«जमा आधारित निर्यात आम्दानीमा उद्योगको आम्दानी करिब ७७ प्रतिशत निर्भर छ।
भारतले डुयुटी आर्बिटेज परिवर्तन गर्दा उद्योगको आम्दानी प्रभावित हुन पुगेको हो। विगतमा निर्यातका अवसरलाई ध्यानमा राखेर कच्चा पदार्थको उच्च स्टकिङ (उच्च मूल्यमा) गरिएकाले निर्यातका अवसर सुक्दै जाँदा मौज्दातमा रहेका वस्तु बेच्न उद्योगलाई ठूलो दबाब परेको थियो।
उद्योग कच्चा पदार्थका लागि पूर्ण रूपमा आयातमा निर्भर छ, घरेलु उत्पादनले उद्योगको वार्षिक आवश्यकताको न्यून मात्रै पूरा गर्छ। अधिकांश कच्चा पदार्थ उद्योगले अर्जेन्टिना, युक्रेन, रुस, ब्राजिललगायत मुलुकबाट आयात गर्छ।