काठमाडौं। अन्तःशुल्क ऐनमा १ केजी अंगुरबाट डेढ लिटर वाइन उत्पादन गर्नुपर्ने प्रावधानको कारण नेपाली व्यवसायी समस्यामा परेका छन्।
सरकारले जति धेरै वाइन उत्पादन भयो उति नै बढी अन्तःशुल्क लिन पाउने लोभमा १ केजी अंगुरबाट डेढ लिटर वाइन उत्पादन गर्नुपर्ने प्रावधान राखेकै कारण व्यवसायीले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या भएको बताउँदै आएका छन्।
वाइन उत्पादक संघ नेपालका अध्यक्ष आश्रय रञ्जितकारले १ केजी अंगुरबाट डेढ लिटर वाइन उत्पादन गर्नुपर्ने प्रावधान गलत रहेको बताए। ‘अन्तःशुल्क ऐनमा भएको विषयलाई लागू नगर्ने भन्ने हुँदैन’ अध्यक्ष रञ्जितकारले भने, ‘तर, १ किलो अंगुरबाट ६५० देखि ७०० एमएलसम्म मात्र राम्रो वाइन उत्पादन गर्न सकिन्छ।’
वाइन उत्पादन सम्बन्धी गाइडलाइननै नभएको कारण सरकारले अन्धाधुन्ध रुपमा अन्तःशुल्क उठाउने ध्यानमा डेढ लिटरको प्रावधान ल्याएकोले यसलाई सच्याउनका लागि पटकपटक आन्तरिक राजश्व विभागसँग छलफल भइरहेको बताए।
अन्तःशुल्ककै कारण धेरै स्वदेशी वाइन उद्योगहरु समस्यामा परेको र धेरै बन्दसमेत भइसकेको अवस्थामा भएका उद्योगहरु बचाउनकै लागि पनि विभागले व्यवसायीसँग निरन्तर रुपमा छलफल गरिरहेको र आवश्यक सुझाव संघले पनि दिइरहेको अध्यक्ष रञ्जितकारको भनाइ छ।
सरकारले अंगुरबाट उत्पादन हुने एक लिटर वाइनमा ४६५ रुपैया अन्तःशुल्क लिँदै आएको छ। यसरी हेर्दा १ किलो अंगुरबाट डेढ लिटर वाइन उत्पादन गर्दा सरकारले अन्तःशुल्क मात्र ६ सय ९७ रुपैयाँ पाउँछ।बिगमास्टर वाइन उत्पादक रोयल काठमाडौं हिमालयन बेभरेजका प्रवन्ध निर्देशक जिशुन चापागाईले राम्रो वाइन उत्पादन गर्ने हो भने एक किलो अंगुरबाट ७०० एमएलभन्दा बढी गर्न नसकिने बताए।
वाइन उत्पादक संघ नेपालका अध्यक्ष आश्रय रञ्जितकारले १ केजी अंगुरबाट डेढ लिटर वाइन उत्पादन गर्नुपर्ने प्रावधान गलत रहेको बताए।
‘अहिलेको प्रावधानअनुसार १ केजीबाट डेढ लिटर वाइन उत्पादन गर्दा पनि गुणस्तरहिन हुन्छ भन्ने हुँदैन,’ प्रवन्ध निर्देशक चापागाईले भने, ‘मात्र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली वाइनले प्रतिस्पर्धा गर्न सक्दैन।’
नेपालमा आउने विदेशी वाइनमा कति अंगुरबाट कति वाइन उत्पादन गर्ने भन्ने कुनै मापदण्ड तोकिएको हुँदैन। जसको कारण क्वालिटीको वाइन उत्पादन हुने र अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो प्रतिस्पर्धा गर्न सकिरहेको उनको भनाइ छ।
छिमेकी मुलुक भारत,चीन, युरोपीयन मुलुकसहित सबै ठाउँमा १ किलो अंगुरबाट जति वाइन उत्पादन हुन्छ त्यति मात्र उत्पादन गर्न पाउने प्रावधान छ। नेपालमा पनि लामो समयदेखि सरकारलाई यो प्रावधान हटाउन सुझाव दिइरहेको भए पनि ऐनमा कुनै परिवर्तन नभएको प्रवन्ध निर्देशक चापागाईको गुनासो छ।
अनिवार्य रुपमा ढेड लिटर वाइन उत्पादन गर्नुपर्ने प्रावधानका कारण व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने खालको वाइन अंगुरबाट उत्पादन गर्न नसकेको बताउँदै आएका छन्।
आन्तरिक राजश्व विभागका महानिर्देशक महेश भट्टराईले १ किलो अंगुरबाट डेड लिटर वाइन उत्पादन गर्न समस्या भएको विषयमा गुनासो आइरहेको बताए। अहिले वाइन उत्पादनका लागि आवश्यक गाइडलाइन विभागले बनाइरहेकोले व्यवसायीको सुझावको सम्बोधनमा छलफल भइरहेको उनको भनाइ छ।