काठमाडौं। होङ्सी शिवम सिमेन्टले ९ महिनामै सवाँ ९ अर्बको व्यापार गरेको छ। उद्योगले चालू आर्थिक वर्ष २०२४/२५ पहिलो ९ महिनामा ९ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
उद्योगले आर्थिक वर्ष २०२४ मा ११ अर्ब ९२ करोड ६० लाख रुपैयाँ, २०२३ मा १३ अर्ब ८१ करोड १० लाख रुपैयाँ, २०२२ मा १७ अर्ब ४ करोड ४० लाख रुपैयाँ र आर्थिक वर्ष २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
उद्योगले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको ६ अर्ब रुपैयाँ कर्जाको रेटिङमा ‘एटुप्लस’ पाएको छ। इक्राले उद्योगलाई अल्पकालिन कर्जाको लागि एटुप्लस असाइन्ड गरेको हो।
उक्त रेटिङले उद्योगले अल्पकालिन कर्जा भुक्तानीमा कम जोखिम रहेको संकेत गर्छ। उद्योगले लिएको अल्पकालिन कर्जा भुक्तानी समयमै गर्न सक्ने रेटिङ रिपोर्टले प्रष्ट गर्छ।
हङकङक रेड लायन सिमेन्टको ७० प्रतिशत र शिवम सिमेन्टको ३० प्रतिशत स्वामित्वमा नवलपरासीको विनय त्रिवेणीमा सन् २०१५ मा स्थापना भएको होङ्सी शिवम सिमेन्टले क्लिंकर र सिमेन्ट उत्पादन गर्ने यो नेपालको सबैभन्दा ठुलो एकीकृत ‘ग्रीनफिल्ड सिमेन्ट युनिट’ भएको उद्योग हो।
उद्योगको क्लिंकर उत्पादन क्षमता २ मिलियन टन र ग्राइन्डिङ युनिटको क्षमता करिब २.३ मिलियन प्रतिवर्ष रहेको छ। हङकङक रेड लायन सिमेन्टको चीनमा करिब ५० वटा ठुला सिमेन्ट उद्योगहरु सञ्चालनमा छन्। होङसी ग्रुपको लाओस्, इन्डोनेसिया र म्यानमार जस्ता अन्य देशमा पनि उपस्थिति रहेको छ।
उद्योगले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको ६ अर्ब रुपैयाँ कर्जाको रेटिङमा ‘एटुप्लस’ पाएको छ।
उद्योगको बिक्रीमा सुधार गर्दै जानु र बिजुली/इन्धनको लागतमा कमी हुँदा राम्रो रेटिङ प्राप्त गर्न सकेको हो। साथै, उद्योगको कुल सम्पत्तिमा ऋण अनुपात समेत ०.२४ गुणामात्रै रहेको छ भने आपिबिडिआईटी अनुपात समेत १.५ गुणामात्रै छ।
यद्यपि, उद्योगले अघिल्लाे वर्षमा ३०७ प्रतिशत लाभांश वितरण गरेको थियो। जसअनुसार चालू वर्षमा समेत भुक्तानी हुन बाँकी रहेको हुँदा ऋण भुक्तानीमा प्रभाव पर्न सक्ने सम्भावना रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। उद्योगले चालू वर्षको ९ महिनामा उत्पादित क्लिंकरको करिब ९६ प्रतिशत र सिमेन्टको करिब २७ प्रतिशत १० जना ग्राहकलाई मात्रै बिक्री गरेर आम्दानी गरेको छ।
सिमेन्ट उद्योगमा अन्य प्रतिस्पर्धी उद्याेगहरु थपिएर मूल्यमा अस्थिरता आएको अवस्थामा यी ग्राहकहरु अन्य क्षेत्रमा व्यापार गर्न थालेमा होङसीको आम्दानीमा नकारात्मक प्रभाव पर्ने देखिन्छ।
यसका साथै, कुल बिक्रीमा क्लिंकरको हिस्सा आर्थिक वर्ष २०२१ मा करिब ६५ प्रतिशतबाट आर्थिक वर्ष २०२५ मा करिब १३ प्रतिशतमा उल्लेखनीय रूपमा घटेको छ। यसो हुनुमा बजारले ग्राइन्डिङ–आधारित सिमेन्ट युनिटद्वारा ब्याकवर्ड–इन्टिग्रेटेडमा वृद्धि देखेको छ। तेस्रो–पक्ष क्लिंकरको माग कमजोर भएको छ, जसले ठूला ग्राहक निर्भरतासँग जोडिएका जोखिमहरूलाई अझ बढाएको छ।