भारतीय बजारमा कहिल्यै नबिर्सने स्वादका रूपमा चिनिएको ‘क्याम्पा कोला’ सन् २०२२ देखि बिक्री सुरु भयो। सन् १९७० र ८० को दशकमा चर्चित बनेको यो पेय पदार्थलाई रिलायन्स इन्डस्ट्रिजले नयाँ रूप दिँदै पुनः बजारमा उतारेको हो।
भारतमा बहुराष्ट्रिय कम्पनी कोका–कोला र पेप्सीको एकछत्र राज रहेको अवस्थामा ‘क्याम्पा कोला’ले स्वदेशी ब्रान्डको पहिचान बनाउँदै प्रतिस्पर्धामा उत्रिएको छ। रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको रिलायन्स रिटेलले सन् २०२२ मा क्याम्पा कोलाको ब्रान्ड अधिकार करिब भारु २२ करोडमा खरिद गर्दै यसको पुनरागमनको गराएको हो।
भारतको रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडले सन् २०२२ मा क्याम्पा कोलाको ब्रान्ड अधिकार खरिद गरेपछि मार्च २०२३ मा पुनः नयाँ डिजाइन, स्वाद र मूल्यमा बजारमा उतारियो।
रिलायन्सले क्याम्पा कोलालाई अल्पकालीन नाफाको होइन, दीर्घकालीन ब्रान्ड निर्माणको दृष्टिकोणले अगाडि बढाइरहेको छ। सस्तो मूल्य, देशभक्तिपूर्ण भावनात्मक अभियान र स्वदेशी स्वादको उपयोग गर्दै बहुराष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्ने बाटो रोजिएको छ।
क्याम्पा कोलाले सस्तो मूल्य, भावनात्मक सन्देश र व्यापक वितरण सञ्जालमार्फत बजार विस्तार गरिरहेको छ। रिलायन्सले भारतमा क्याम्पा कोलाको मूल्य रणनीति आक्रामक बनाएको छ।
२०० मिलिलिटरको बोतलको मूल्य भारतिय मूल्य १० र ५०० मिलिलिटरको मूल्य २० तोकिएको छ । यसले ग्रामीण तथा मूल्य–संवेदनशील उपभोक्ता लक्षित गर्दै कोका–कोला र पेप्सीलाई प्रतिस्पर्धा दिइरहेको छ।
आईपीएललगायतका ठूला इभेन्टमा प्रायोजन गर्दै ब्रान्ड प्रमोसन गरिएको छ भने रिलायन्सका रिटेल स्टोर, जिओ मार्ट र किराना नेटवर्कमार्फत देशभर वितरण विस्तार गरिएको छ।
इतिहासमा झुल्किएको क्याम्पा
सन् १९७७ मा भारतले विदेशी कम्पनीहरूलाई निष्कासन गरेपछि ‘प्योर डिंक्स ग्रुपले क्याम्पा कोलालाई स्थानीय उत्पादनका रूपमा बजारमा ल्याएको थियो। केही दशकसम्म लोकप्रिय बनेको यो ब्रान्ड सन् १९९० को दशकमा भारतमा पुनः प्रवेश गरेका कोका–कोला र पेप्सी जस्ता बहुराष्ट्रिय ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न नसकेर हराउँदै गएको थियो।
रिलायन्सको रणनीति
रिलायन्सले क्याम्पा कोलालाई ‘स्वदेशी स्वाद’ को नारासँग पुनः स्थापित गर्ने रणनीति बनाएको छ। रिलायन्सका खुद्रा बिक्री केन्द्र जस्तै, जिओ मार्ट, रिलायन्स फ्रेस, स्मार्ट रिटेल आदिको माध्यमबाट देशभर वितरण सञ्जाल फैलाइरहेको छ।
क्याम्पा कोला, क्याम्पा अरेन्ज र क्याम्पा लेमनलगायतका फ्लेबर बजारमा उपलब्ध छन्। विशेषतः सस्तो मूल्य र बलियो वितरण नेटवर्कको मद्दतले क्याम्पा कोलाले ग्रामीण भारतमा समेत बजार पकड बनाउँदै लगेको छ।
क्षेत्रीय र अन्तर्राष्ट्रिय विस्तार
रिलायन्सले क्याम्पा कोलालाई दक्षिण एसियाली बजारतर्फ विस्तार गरिरहेको छ। बंगलादेश, श्रीलंकालगायतका छिमेकी देशसँगै खाडी राष्ट्र, बेलायत र अमेरिकाजस्ता प्रवासी भारतीयको बाक्लो उपस्थिति भएका मुलुकमा समेत निर्यातको योजना बनाइएको छ। नेपालमा सोमबारदेखि चौधरी ग्रुपको साझेदारीमा उपलब्ध हुन थालेको छ।
हालको रणनीतिअनुसार रिलायन्सले क्याम्पा कोलालाई अल्पकालीन नाफाको होइन, दीर्घकालीन ब्रान्ड निर्माणको दृष्टिकोणले अगाडि बढाइरहेको छ। सस्तो मूल्य, देशभक्तिपूर्ण भावनात्मक अभियान र स्वदेशी स्वादको उपयोग गर्दै बहुराष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्ने बाटो रोजिएको छ।
क्याम्पा कोलाले भारतमा पुनःप्रवेशसँगै राम्रो व्यावसायिक नतिजा दिइरहेको छ। आर्थिक वर्ष २०२४ मा आरसीपिएल को आम्दानी भारु ३,००० करोड पुगेको छ, जसमा क्याम्पा कोलाको योगदान महत्त्वपूर्ण रहेको छ। कम्पनीले २०२५ सम्म क्याम्पालगायतका ब्रान्डबाट भारु १,००० करोडभन्दा बढी आम्दानीको लक्ष्य लिएको छ।