काठमाडौं। सरकारले यस वर्षको महत्त्वपूर्ण वर्ष व्यक्ति (सीआईपी)का रुपमा रिलायन्स स्पिनिङ मिललाई सम्मानित गरेको छ। भारततर्फ निर्यात गरेर सबैभन्दा बढी रकम आर्जन गरेको आधारमा रिलायन्स मिल्सलाई सरकारले सम्मानित गरेको हो।
रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँको निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ। केन्द्रले राष्ट्रिय अर्थतन्त्रमा उद्योग तथा वाणिज्य क्षेत्रमा योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट व्यवसायीलाई सम्मान र कदर गरेको हो।
रिलायन्स स्पिनिङ मिल्सले यसअघि विभिन्न सम्मान तथा अवार्ड पाउँदै आएको छ। २०८१ पुसमा मात्रै रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट रोजगारदाता उद्योगको रुपमा सम्मानित भएको थियो।
गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिएर योगदान गरेको भन्दैनेपाल समुन्द्रपार निकासी पैठारी संघले रिलायन्सलाई सम्मानित गरेको थियो। यसबाहेक रिलायन्स अन्य थुप्रै निकायबाट सम्मानित हुँदै आएको छ।
रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०७७/७७ मा भारततर्फ ३ अर्ब ३३ करोड ५१ लाख ६ हजार रुपैयाँ बराबरको निर्यात गरेकोमा चालु आवसम्ममा ४८.६ प्रतिशत बढी पुगेको छ। रिलायन्सले आव २०७७/७८ मा ४ अर्ब ६४ करोड ९३ लाख ९० हजार रुपैयाँ भन्दा बढीको निर्यात गरेकोमा आव २०७८/७९ मा ५ अर्ब ५० करोड ५७ लाख ६२ हजार रुपैयाँभन्दा बढी, आव २०७९/८० मा ६ अर्ब ४ करोड २८ लाख २० हजार रुपैयाँभन्दा बढीको र आव २०८०/८१ मा ६ अर्ब ४३ करोड ९३ लाख ३७ हजार रुपैयाँ भन्दा बढीको निर्यात गरेको छ। यससँगै कम्पनीले तेस्रो मुलुकतर्फको निर्यात पनि बढाउँदै लगेको छ।
कारोबारतर्फ पनि कम्पनीले पाँच वर्षमा ४१.४ प्रतिशत वृद्धि गरेको छ। आव २०७६/७७ मा ६ अर्ब १२ करोड ६२ लाख ८ हजार रुपैयाँ कुल कारोबार रहेकोमा २०७७/७८ मा ७ अर्ब ६२ करोड ४५ लाख ४० हजार, आव २०७८/७९ मा ९ अर्ब ८९ करोड १ लाख ६९ हजार, आव २०७९/८० मा ९ अर्ब ५१ करोड ९८ लाख ३३ हजार र आव २०८०/८१ मा ८ अर्ब ६६ करोड ३४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।
पाँच वर्षको अवधिमा कम्पनीले उत्पादनमा पनि ३८.१ प्रतिशतको वृद्धि गरेको छ। आव २०७६/७७ मा २२ हजार ४०४ मेट्रिक टन उत्पादन गरेकोमा आव २०७७/७८ मा २८ हजार ५१७ मेट्रिक टन, आव २०७८/७९ मा २९ हजार ३४१ मेट्रिक टन, आव २०७९/८० मा ३२ हजार २९५ मेट्रिक टन र आव २०८०/८१ मा ३० हजार ९३१ मेट्रिक टन उत्पादन भएको छ। यसरी हेर्दा रिलायन्सले हरेक वर्ष उत्पादन पनि बढाउँदै लगेको छ।
३६ वर्षीय अक्षय गोल्यानको नेतृत्वमा रहेको यस उद्योग आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ। विगत १२ वर्षभन्दा लामो समयदेखि गोल्यान ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका अक्षयले विभिन्न कम्पनीहरूलाई नेतृत्व गरिरहेका छन्।
अक्षयले कृषि, होटल,ऊर्जा, उत्पादन (म्यानुफ्याक्चरिङ) लगायतका विभिन्न उद्योगमा नेतृत्व सम्हाल्दै आएका छन्। उनले रिलायन्स स्पिनिङ मिल्स, गोल्यान पावर,गोल्यान होटल्स, हायात सेन्ट्रिक काठमाडौंलगायतको नेतृत्व गर्दै आइरहेका छन्। साथै, प्योर इनर्जीको अध्यक्षको भूमिकामा समेत रहेका अक्षय जैविक र प्राकृतिक उत्पादन उपलब्ध गराउने माटोमा निर्देशकको भूमिकामा छन्।
उत्कृष्ट रोजगारदाता रिलायन्स आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट उद्योगमात्र नभएर उत्कृष्ट रोजगारदाता समेत हो। लामो विरासत बोकेको यस उद्योगमा ४ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन्।
रिलायन्समा आवद्ध जनशक्तिलाई उद्योग परिसरमै आवासीय सुविधासमेत रहेको छ। कम्पनीमा स्थापना कालदेखि अहिलेसम्म बन्दहड्ताल भएको रेकर्ड छैन। यसले यस उद्योग जनशक्तिको रुचाइको उद्योगसमेत बन्न सफल भएको देखाउँछ।
उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न ुलेबर कोलोनु, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ। महिलाका लागि स्तनपान कक्ष, बालबालिकाहरुका लागि 'डे केयर सेन्टर' र कर्मचारीका छोराछोरीका लागि कक्षा १२ सम्म अध्ययनको व्यवस्था पनि दिँदै आएको छ।
कर्मचारीको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै रिलायन्सले मनोसामाजिक परामर्श पनि दिने गरेको छ। कम्पनीले कर्मचारीहरूका लागि सामाजिक सुरक्षा कोषको समेत व्यवस्था गरेको छ।
रिलायन्स २०५४ सालमा स्थापना भएको यस उद्योग नेपालकै सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो। यस उद्योगले कपास, पोलिएस्टर, भिस्कोज, एक्रिलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ। स्थापनाको २७ वर्षसम्ममा रिलायन्समा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको छ।
सुरूवातमा ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको यस उद्योगले हालसम्म कुल एक लाख २ हजार ८२४ स्पिन्डल (७९ हजार ८२४ रिङ स्पिन्डल र २,४०० भर्टेक्स स्पिन्डल, जुन ४८ हजार रिङ स्पिन्डल बराबर)को जडित क्षमतासहित सञ्चालन भइरहेको छ।
कम्पनीले ६ वर्षको अवधिमा ३९.३ प्रतिशत प्रतिशत उत्पादन क्षमता वृद्धि गरिसकेको छ। आव २०७६/७७ मा ३० हजार मेट्रिक टन उत्पादन क्षमता रहेकोमा आव २०७७/७८ मा ३७ हजार ९४२ मेट्रिक टन, आव २०७८/७९ मा ४० हजार ६८० मेट्रिक टन, आव २०७९/८० मा ४२ हजार ९५७ मेट्रिक टन, आव २०८०/८१ मा ४८ हजार ९६० मेट्रिक टन र आव २०८१/८२ मा ५० हजार १६३ मेट्रिक टन उत्पादन क्षमता राख्द छ।
कम्पनीले यसअवधिमा उद्योगको युनिट सात र युनिट ८ मा ४ वटा मेसिन थपेर क्षमता वृद्धि गरेको छ। साथै सोलार प्लान्टसमेत जोडेको छ। जसले गर्दा विद्युत प्राधिकरणले गर्ने अघोषित लोडशेडिङमा पनि निर्बाध रुपमा उद्योगले उत्पादन गरिरहेको छ। सो सोलार प्लान्टबाट ९.२ मेगावाट (डिसी) विद्युत उत्पादन गर्छ।
यस क्षमताले प्रति वर्ष ५० हजार १६३ मेट्रिक टन उत्पादन गर्ने क्षमता राख्दछ भने प्रतिदिन १३६ मेट्रिक टन उत्पादन गर्न सक्छ। यसमा ओपन एन्ड प्लान्टको उत्पादनसमेत समावेश गरिएको छ।
सुनसरीको खनार र दुहबीमा रहेका दुई उत्पादन केन्द्रहरू रहेको यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात गर्दै आएको छ। यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ।