काठमाडौं। बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले ९ महिनामा ७ अर्ब बढीको व्यापार गरेको छ। कोका–कोला, स्प्राइट, फ्यान्टा र किन्ले उत्पादक कम्पनी बोटलर्स नेपालले आर्थिक वर्ष २०२४/२५ को पहिलो ९ महिनामा ७ अर्ब १० करोड रुपैयाँ (अपरिस्कृत) बराबरको व्यापार गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०२४ मा ११ अर्ब २७ करोड ८० लाख, २०२३ मा १२ अर्ब ६४ करोड १० लाख र आर्थिक वर्ष २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँ (परिस्कृत) बढीको व्यापार गरेको थियो।
सन् १९७९ मा स्थापित बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत मेसर्स कोका–कोला साउथवेस्ट एसिया होल्डिङको सेयर स्वामित्व छ भने २२ प्रतिशत सेयर गोर्खा बु्रअरी प्रालिको रहेको छ। बाँकी सेयर सर्वसाधारणको छ। कार्बोनेट गैर–अल्कोहोलिक पेय पदार्थ उत्पादन गर्ने बोटलर्स नेपालको सहायक कम्पनी तथा आधिकारिक बिक्रेता बोटलर्स नेपाल तराई हो।
बोटलर्स नेपाल तराईले भने आर्थिक वर्ष २०२४/२५ को ९ महिनामा ४ अर्ब ९६ करोड ७० लाख रुपैयाँ (अपरिस्कृत) बढीको व्यापार गरेको छ। कम्पनीले आव २०२४ मा ८ अर्ब ८० करोड ३० लाख, आव २०२३ मा ९ अर्ब ४० करोड १० लाख र आव २०२२ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँ (परिस्कृत) बराबरको व्यापार गरेको थियो। यो कम्पनीमा ९१ प्रतिशत सेयर स्वामित्व बोटलर्स नेपालको र बाँकी सर्वसाधारणको रहेको छ।
यी दुबै कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सीमा गराएको रेटिङअनुसार उनीहरुको अवस्था निम्नअनुसार रहेको पाइन्छ।
बोटलर्स नेपालले इक्रामा ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको कर्जाको लागि गराएको रेटिङमा ‘एट एनपीएवान’ प्राप्त गरेको छ।
बोटलर्स नेपालले इक्रामा ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको कर्जाको लागि गराएको रेटिङमा ‘एट एनपीएवान’ प्राप्त गरेको छ। ‘एट’ले ‘नकारात्मक प्रभावसहितको निगरानी भन्ने जनाउँछ’, उक्त रेटिङ अघिल्लो पटक गरिएको सोही परिमाणको कर्जा सिमा रेटिङको पुनःपुष्टी गरिएको हो। यस्तो रेटिङ प्राप्त गर्नुले अल्पकालिन कर्जा भुक्तानीको सन्र्दभमा तत्काललाई बलियो क्षमता भए पनि भविष्यमा नकारात्मक प्रभाव देखिन सक्छ भन्ने संकेत गर्छ।
इक्राले कम्पनीलाई नकारात्मक प्रभावसहितको निगरानी रहेको रेटिङ दिनुको कारणमा बढ्दो कर विवाद हो। कम्पनीसँगै बहुमत सेयर रहेको बोटलर्स तराईको कर निर्धारण पछि उठेको विवादले रेटिङमा समेत नकारात्मक प्रभाव पारेको छ।
अघिल्लो मुल्यांकनमै कम्पनीले कर, जरिवानासहित करिब १५.६० अर्ब रुपैयाँ सरकारलाई भुक्तानी गर्नुपर्ने देखिन्छ। अब अन्तिम कर दायित्व कम्पनीले कसरी भुक्तानी गर्ने भन्ने विषयमा प्रष्टता देखाएको छैन।
यसका साथै, कम्पनीको आम्दानीसमेत आव २०२४ मा १० प्रतिशतले घटेको थियो। कम्पनीले केहीहदसम्म निर्यातसमेत बन्द गरेको रेटिङ रिपोर्टमा उल्लेख छ। कोका–कोलाको घट्दो उत्पादन र बढेको कच्चा पर्दाथको मूल्यले कम्पनीको सञ्चालन मार्जिनमा दबाब सिर्जना भएको छ।
कोका–कोलाको घट्दो उत्पादन र बढेको कच्चा पर्दाथको मूल्यले कम्पनीको सञ्चालन मार्जिनमा दबाब सिर्जना भएको छ।
यस्तै, बोटलर्स नेपाल तराई इक्रा नेपालमा ३ अर्ब ९० करोड रुपैयाँ बरारबको अल्पकालिन कर्जाको लागि रेटिङ गराएको हो। कम्पनीलाई इक्राले अघिल्लो रेटिङ नै पुनःपुष्टी गरेको छ। बोटलर्स नेपाल तराईले पनि ‘एट एनपीएवान’ प्राप्त गरेको छ।
कम्पनीले २.६ अर्ब रुपैयाँ बरारबको कर दायित्व भुक्तानी गर्नुपर्ने देखिन्छ। साथै, आफ्नो मुख्य लगानीकर्ता कम्पनीलाई भुक्तानी बुझाउँनु पर्दा समेत आम्दानीमा असर परेको देखिन्छ। आव २०२५ मा कम्पनीको बजार हिस्सा ३८ प्रतिशत छ, जबकी गत वर्ष ४५ प्रतिशत बजार हिस्सा रहेको थियो।
यी कम्पनीलाई कर भुक्तानी दायित्वसँगै, आम्दानीमा कमी, मार्जिनमा दबाब र चालू पुँजी चक्रमा भएको वृद्धिका कारण पनि चुनौती छ। यद्यपि, दुवै कम्पनीसँग बलियो प्रवर्धक प्रोफाइल (द कोका–कोला कम्पनीको अप्रत्यक्ष स्वामित्व र गोरखा ब्रुअरीको स्थानीय साझेदारी) र अनुभवी व्यवस्थापनले गर्दा वर्तमान चुनौतीको सामान गर्दा भविष्यमा राम्रो व्यापार विस्तार गर्न सक्ने देखिन्छ।
उनीहरूको पुँजीकरण बलियो छ र तरलता स्थिति पनि सहज छ। नेपालमा कोका–कोला उत्पादनको आधिकारिक बोटलर्सको रूपमा, उनीहरूको लामो ट्र्याक रेकर्ड र बजारमा नेतृत्वदायी स्थानले केही स्थिरता प्रदान गरेको छ। दुबै कम्पनीले विवादित कर दायित्वको विषय समयमै समाधान गर्नुपर्ने देखिन्छ।