काठमाडौं। बरुण बेभेरेज प्रालिले साढे ८ महिनामै पौने ६ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। पेप्सी, माउन्टेन ड्यु, मिरिन्डा, सेभेन–अप, एक्वाफिना पानी उत्पादक बरुण बेभेरेजले आर्थिक वर्ष २०२४/२५ को साढे ८ महिनामा ५ अर्ब ७८ करोड २० लाख रुपैयाँ (अरिस्कृत) बराबरको व्यापार गरेको हो।
कम्पनीले आव २०२४ मा ७ अर्ब ७४ करोड ७० लाख, २०२३ मा ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँ, २०२२ मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँ र आव २०२१ मा ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीले कुल ३ अर्ब ४७ करोड ३० रुपैयाँ बैंकिङ कर्जा प्रयोजनको लागि रेटिङ एजेन्सी इक्रा नेपालले अल्पकालिन कर्जाको लागि ‘एवान प्लस’ पुनःपुष्टी गरेको छ। उक्त रेटिङले ‘सबैभन्दा कम क्रेडिट जोखिम’ अर्थात् कम्पनीले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सन्दर्भमा उच्च स्तरको सुरक्षा रहेको संकेत गर्छ। इक्राले वरुणको सुधारिएको सञ्चालन र वित्तीय प्रोफाइल, घरेलु कार्बोनेटेड सफ्ट ड्रिंक्स उद्योगमा बढेको बजार हिस्सा, ऋणमा कम निर्भरताका कारण बलियो पुँजीकरण र निरन्तर स्वस्थ नाफा तथा नगद प्रवाहलाई मुख्य रूपमा कारक मान्दै रेटिङ प्रदान गरिएको रिपोर्टमा उल्लेख गरेको छ।
कम्पनीले गत वर्ष ३९ प्रतिशत रहेको बजार हिस्सा चालू वर्षको ९ महिनामा करिब ४६ प्रतिशत पुर्याएकाे छ। साथै, कम्पनाीको वास्तविक खुदसम्पत्तिमा ऋण अनुपात ०.२ गुणा र सञ्चालन नाफा, ब्याज, कर, ह्रास र परिशोधन ०.३ गुणा रहेको छ। समीक्षा अवधिमा कम्पनीको ब्याज कभरेज अनुपात समेत करिब ३८ गुणाले बढेको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन समेत समीक्षा अवधिमा २८.४ प्रतिशतको वृद्धि भएको छ।
वरुणको नाफा मुख्यतया चिनी, कन्सेन्ट्रेट आदि विभिन्न कच्चा पदार्थहरूको मूल्यमा हुने उतारचढावले प्रभावित भइरहेको हुन्छ। साथै, अस्थिर भन्सार नीति, मौसमी प्रभावले उत्पादन क्षमता प्रभावित हुने, उपभोक्तामो बदलिँदो स्वादले व्यापारमा नकारात्मक प्रभाव पारेको रिपोर्टमा उल्लेख छ।
कम्पनी भारतको वरुण बेभरेजको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी हो। काठमाडौंको पेप्सीकोला र नवलपरासीमा कारखाना रहेको वरुणले पेप्सी, माउन्टेन ड्यू, स्लाइस, मिरिन्डा, सेभेन–अप, एक्वाफिना, सोडा, स्टिङ जस्ता ब्रान्ड नामहरूमा कार्बोनेटेड गैर–अल्कोहोलिक पेय पदार्थहरू उत्पादन र बिक्री गर्छ।