काठमाडौं। शंकर र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित रिद्धिसिद्धि सिमेन्टले करिब चार अर्ब रुपैयाँको व्यापार गरेको छ। सिमेन्टले आर्थिक वर्ष २०२४/२५ को ९ महिनामा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँ (अरिस्कृत)को व्यापार गरेको हो।
मकवानपूर जिल्लाको हेटौंडा रातमाटेमा सन् २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले क्लिंकर र सिमेन्ट उत्पादन बिक्री गरिरहेको छ। सन् २०२४ मा कम्पनीले पाँच अर्ब ८१ करोड, २०२३ मा पाँच अर्ब ४६ करोड र सन् २०२२ मा ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर उत्पादन तथा बिक्री गरेर आम्दानी गरेको थियो।
कम्पनीको वार्षिक ०.७ मिलियन मेट्रिक टन प्रतिवर्ष उत्पादन क्षमता रहेको रहेको छ भने, ०.८४ मिलियन मेट्रिक टन क्लिंकर उत्पादन क्षमता छ। क्लिंकरको करिब ८४ प्रतिशत सिमेन्ट उत्पादन गर्छ। बाँकी क्लिंकर अन्य स्थानीय ग्राइन्डिङ युनिटहरुलाई बिक्री गर्छ।
हाल रिद्धिसिद्धि सिमेन्टको उत्पादन ‘मकवानपूर सिमेन्ट’ ब्रान्टमा बजारमा अर्डिनरी पोर्टल्यान्ड (ओपिसी) र पोर्टल्यान्ड पोजोलना सिमेन्ट (पिपिसी)मा बिक्री भइरहेको छ।
कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्समा गराएको कुल ११ अर्ब ९३ करोड ५७ लाख रुपैयाँ कर्जामा दीर्घकालिन कर्जामा ‘त्रिपल बी माइनस’ र अल्पकालिन कर्जामा ‘एथ्री’ पुनः पुष्टी भएको छ। कम्पनीले पाएको ८ अर्ब २७ करोड ५९ लाख रुपैयाँ दीर्घकालिन कर्जामा ‘त्रिपल बी माइनस’ले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। यस्तै, ३ अर्ब ६६ करोड १५ लाख रुपैयाँ अल्पकालिन कर्जामा ‘एथ्री’ रेटिङले वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको सुरक्षा रहेका संकेत गर्छ।
कम्पनीलाई इन्फोमेरिक्सले उक्त रेटिङ आर्थिक मन्दी र उच्च प्रतिस्पर्धाबीच पनि आव २०२४/२५ को ९ महिनामा वित्तीय सुधार गरेको भनेर दिएको रिपोर्टमा उल्लेख छ। कम्पनीमा चालु वर्षमा निजी इक्विटी/भेञ्चर क्यापिटलले सेयर पुँजी लगानी गरेका छन्।
साथै, कम्पनीले आफ्नो सञ्चालन मार्जिनसमेत घटाउँदै लगेको उल्लेख छ। कम्पनीले आफूलाई आवश्यक पर्ने सम्पूर्ण क्लिंकर आफ्नै ब्याकवर्ड इन्टिग्रेटेड प्लान्टबाट उत्पादन गर्न थालेको हुँदा लागतमा कमी आएको छ। अन्तर्राष्ट्रिय स्तरमा कोइलाको मूल्यमा कमी आउँदासमेत कम्पनीको सञ्चालक खर्च घटेको छ।