काठमाडौं। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ एक दिन लम्बिएको छ। नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स (नाइमा)को आयोजनामा गत बुधबारदेखि सुरु एक्स्पो सोमबारसम्म चल्ने भएको हो।
शनिबारसम्म ६० हजार बढीले एक्स्पो अवलोकन गरेको नाइमाले जनाएको छ। एकै थलोमा सवारी साधनको सम्पूर्ण जानकारी दिने उद्देश्यसहित भृकुटीमण्डपमा जारी छ।
अवलोकनकर्ताको उत्साहजनक सहभागिता र प्रदर्शनीकर्ता माग भएबमोजिम एक्स्पो आयोजकले एक दिन थपेका हुन्। एक्स्पो समिति सदस्य गौरव शारडाका अनुसार आइतबार उपत्यकामा सार्वजनिक बिदा भएकाले थप अवलोकनकर्ता बढ्ने अपेक्षासहित एक दिन समय थपिएको हो।
उनले भने, ‘आइतबारसम्म तोकिएको नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शक र अवलोकनकर्ताको उत्साहजनक आवागनमलाई ध्यानमा राखेर थप एक दिन समय थप गरेका छौँ।’
एक्स्पोमा ५० हाराहारी ब्रान्डको सहभागिता रहेको नाइमाले जनाएको छ। प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको व्यवस्था मिलाइएको छ।
नाइमा एक्स्पोको यो संस्करणमा ३५ बढी दुई तथा चारपांग्रे सवारीका नयाँ मोडल सार्वजनिक भइसकेका छन्। एक्स्पो २०२५’ मा गाडी खरिद गर्नेलाई लक्षित गरी भारी छुट दिइएको छ। एक्स्पो अवधिभर विभिन्न ब्रान्डले ग्राहक आकर्षित गर्न कम्पनीहरूले अधिकतम २० लाखसम्म छुट सुविधा दिएका छन्।
४८ वटा स्टल रहेको एक्स्पोमा १८ दुई पांग्रे, २१ कार ब्रान्ड र आठ वटा व्यावसायिक सवारी ब्रान्ड सहभागी छन्। दुई पांग्रे सवारी ब्रान्डमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र जीहो रहेका छन्।
चार पांग्रे कार ब्रान्डमा बीवाइडी, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, किया, केई, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा÷जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर सिट्रोन र फर्थिङ रहेका छन्।
यस्तै, कमर्सियल ब्रान्डमा किङलङ, सनलङ चेरी वान्डा, डोङफेङ, कामा, क्यारी, फारिजोन र ह्वाजी रहेका छन्। एक्स्पो उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए।