काठमाडाै। नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५ सम्पन्न भएको छ। ६ दिनसम्म चलेको एक्स्पोमा देखिएको अवलोकनकर्ताको उत्साहजनक सहभागिता र उच्च कारोबारले नेपाली बजारमा सवारीसाधनको माग बढिरहेको स्पष्ट देखाएको व्यवसायीहरुको दाबी छ।
एक्स्पोले सवारीसाधन अब लक्जरी मात्र नभई दैनिक जीवनको लागि अति आवश्यक हिस्सा बनेको देखाएको छ। नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको पहिलो संस्करणको नाइमा मोबिलिटी एक्स्पोमा १ लाखभन्दा धेरै अवलोकनकर्ताले एक्स्पो भिजिट गरेको नाइमाले जनाएको छ। गत बुधबार(साउन २१ गते)देखि सोमबार (साउन २६ गते)सम्म चलेको एक्स्पोमा १ लाख अवलोकन कर्ताले एक्स्पाे अवलोकन गरेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिएकी छन्।

प्रदर्शनीको पहिलो दिन बुधबार १५ हजारले अवलोकन गरेको एक्स्पो दोस्रो दिन बिहीबार १३ हजार ५००, तेस्रो दिन शुक्रबार १९ हजार ५००, शनिबार साढे २१ हजार र आइतबार २२ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ। नाइमा मोबिलिटी एक्स्पोमा ५० ब्रान्डका ४८ वटा स्टलमा विभिन्न ब्रान्डका सवारीसाधन प्रदर्शनी गरिएको छ।
कुन ब्रान्डको बुकिङ कति?
पहिलो संस्करणको नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५ मा साइमेक्स इंकले प्रदर्शनीमा राखेको बीवाईडीका विभिन्न मोडल ८०० युनिट बुकिङ भएको जनाएको छ। सामेक्स इंकले एक्स्पोमा बीवाईडी एटो–वान सिलायन–७ प्रदर्शनीमा राखेको थियो।
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रीला मोटर्सले लिपमोटर टी०३, बी–१०, सिट्रोनलगायतका मोडल प्रदर्शनीमा राखेको छ। सांग्रीला मोटर्सले २२५ भन्दा बढी गाडी बुकिङ भएको कम्पनीले जनाएको छ।
टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले प्रदर्शनीमा राखेका आफ्ना मोडलका गाडीहरु २६ युनिट बुकिङ भएको बताएकाे छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रदर्शनीमा राखेको हुन्डाई २०० युनिट फरथिङ फ्राइडे ३८ युनिट बुकिङ भएको छ।त्यसैगरी,एलएस अटाेको एलइभि ३७ युनिट बुकिङ भएको जनाएको छ। फक्स्वागन २८ युनिट बुकिङ भएको छ।
यसैगरी, ओमोडा र जेइको ३६७, एमजी १५०, महिन्द्रा १००, काइयी ५० र म्याक्सस १२ वटा बुकिङ भएको छ। याेसँगै नाइमा मोबिलिटी एक्स्पोमा जम्मा २२४६ वटा गाडी बुकिङ भएकाे बताइएकाे छ।
त्यस्तै, दुईपांग्रे सवारीतर्फ वैद्य एनर्जीले प्रदर्शनमा राखेको एथरको १५०युनिटभन्दा बढी बुकिङ हुँदा हंसराज हुलासचन्द एन्ड कम्पनीले प्रदर्शनीमा राखेको बजाज चेतक २०० युनिट, केटिएम २०० युनिट, ट्रायम्फ २०० युनिट भएको छ। मोर्बिडेलि र बेनेलि गरी ८० वटा बुकिङ भएको कम्पनीले जनाएको छ। 
नाइमा मोबिलिटी एक्स्पाेमा सोल्ड आउट भएका गाडी
साे एक्स्पोमा राखिएका गाडीमध्ये ४ वटा प्यासेन्जर बेनेली एक युनिट र एउटा कमर्शियल सेग्मेन्टका गाडी सोल्ड आउट भएका छन्। नाइममा राखिएका निसानको लिफ, सिट्रोन सीथ्री, ईसीथ्री र लिपमाेटर टी-०३ कार सोल्ड आउट भएका हुन् भने दुईपांग्रेमा बेनेलीको सबैभन्दा महंगो ७५२ एस सोल्ड आउट भएको छ। त्यस्तै, कमर्शियलतर्फ निसानकाे अर्बान माइक्रोबस सोल्ड आउट भएको छ।
नाइमामा निसान लिफमा सबैभन्दा धेरै २० लाख रुपैयाँ छुट दिइएको थियो। निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ नाइमामा ४४ लाख ९९ हजार रुपैयाँमै दिएको थियो। पायोनियरले अर्बान माइक्रोबसमा पनि भारी छुट दिएको थियो।
लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले टी ०३ मा ६ लाख रुपैयाँ छुट दिएको थियो। कम्पनीले ३४ लाख रुपैयाँमा बेच्दै आएको टी ०३ नाइममा २७ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको थियो।
त्यसैगरी, सिट्रोन सी थ्रीमा पनि साढे ६ लाख रुपैयाँ छुट दिइएको थियो। सांग्रिला मोटर्सले साढे ३६ लाख रुपैयाँमा बिक्री गर्दै आएको सी थ्री नाइमामा २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको थियो। दुईपांग्रे ब्रान्ड बेनेली ७५२ एसको मूल्य नेपाली बजारमा २५ लाख रुपैयाँ रहेको छ।