काठमाडौं। नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय ह्याचब्याक सेग्मेन्टका गाडीहरूप्रति ग्राहकको आकर्षण निरन्तर बढ्दै गएको छ। विशेष गरी सहरी क्षेत्रका ग्राहकका लागि ह्याचब्याक गाडी पहिलो रोजाई बन्न थालेका छन्।
ह्याचब्याक सेग्मेन्टका गाडी साना साइजका हुने भएकाले सहरका सडक र साँघुरा पार्किङस्थलमा सहज रूपमा चलाउन सकिन्छ। साथै, मूल्य पनि सेडान वा एसयूभीको तुलनामा सस्तो हुने भएकाले कम बजेटमा सवारी खोज्नेका लागि ह्याचब्याक उपयुक्त विकल्प बन्दै गएको हो।
विगतका अटो शोमा पनि ह्याचब्याक सेग्मेन्टका गाडीले ग्राहकको ध्यान सधैं तान्ने गरेको थियो। यस वर्ष पहिलो पटक आयोजित नेपाल नाइमा मोबिलटी एक्स्पोमा पनि ह्याचब्याक सेग्मेन्टमा नेपाल आएको बिवाइडी एटो वानलाई एक्स्पोमा‘हट केक’को रुपमा हेरिएको थियो।
अब आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने १७ औँ संस्करणको नाडा अटो शोमा पनि ह्याचब्याक सेगमेन्टका गाडी ग्राहकको रोजाइमा पर्ने अनुमान व्यवसायीहरूले गरेका छन्।
यसअघि ह्याचब्याग सेग्मेन्टमा नेपाल भित्रिएका गाडी उत्कृष्ट मानिएका छन्। नेपाल भित्रिएको छोटो समयमै लोकप्रिय भएको टाटा टियागो, बुलिङ बिङगो, बिवाइडीको डल्फिन, नामी ०१, लिपमोटर टी० ३, काई इक्युट फोरलगायत ह्याचब्याग गाडीसँग नाइमा मोबिलिटी एक्पोमा भित्रिएका र आगामी नाडा अटो शोमा लञ्च हुने ह्याचब्याग सेग्मेन्ट इभीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। यो प्रतिस्पर्धाले गर्दा सस्तो र राम्रो इभी खोज्ने ग्राहकका लागि थुप्रै नयाँ विकल्पहरू उपलब्ध हुने छन्।
नाडा अटो शोका लागि नयाँ मोडलको रुपमा आयोन युटी, चांगन लुमिन र एलइभी ०५ लगायत ब्रान्डका ह्याचब्याग कार अटो शोमा सोकेस हुने छन्। यी गाडीको प्रवेशले सस्ता कार खोज्नेका लागि पनि विकल्प बढ्ने छ।
आयोन युटी
आगामी भदौ ३ गतदेखि सुरु हुने १७ औँ संस्करणको नाडा अटो शो २०२५ मा आयोन युटी सार्वजनिक हुने भएको छ। नेपालका लागि आयोनको आधिकारिक वितरक सिजी मोटर्सले आयोन युटी सार्वजनिक गर्ने तयारी गरेको छ। आयोन युटी कम मूल्यमा फ्यामली ह्याचब्याक कार खोज्नेलाई उपयुक्त हुनेछ।
नेपाली बजारमा प्रिमियम ह्याचब्याक सेग्मेन्टमा बिवाइडी डल्फिन र डोङफेङ नामी ०१ जस्ता मोडल छन्। यी कारको मूल्य ३० लाखदेखि ४१ लाखसम्म छ। यही मूल्यको बीचमा रहने गरी आयोन युटीको बिक्री हुने अनुमान छ।
चिनियाँ अटोमोबाइल ब्रान्ड जीएसीले युटी ह्याचब्याक कार चीनमा १२ हजार ३०० देखि १५ हजार अमेरिकी डलर कायम गरेर बिक्री गर्दै आएको छ। यसमा ४४ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। यसको सीएलटीसी रेञ्ज ४२० किलोमिटर भनिएको छ। यसमा मोटर भने १०० किलोवाटको दिइएको छ।
आयोन युटीको लम्बाई ४२७० एमएम, चौडाई १८५० एमएम र उचाई १५७५ एमएम छ। यसमा २७५० एमएम लामो ह्विलवेस रहने छ। १७ इन्चको अलोय ह्विल पाउन सकिन्छ।
फरक डिजाइनको ह्विल, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचब्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ। यसको इन्टेरियरमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्विल, वायरलेस चार्जर, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ।
निकै आकर्षक फ्रन्ट ग्रिलमा देखिएको आयोन युटीमा अगाडिको दायाँ फेन्डरमा चार्जिङ पोर्ट छ। हेडलाइट र फगलाइट पनि पृथक डिजाइनमा छ।
चांगन लुमिन
नाडा अटो शोमा ह्याचब्याक सेग्मेन्टमा देख्न सकिने अर्काे मोडल चांगन लुमिन हो। नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले चांगन लुमिन नेपाल ल्याएको हो। कम्पनीले यसअघि यसको अधिकतम खुद्रा मूल्य २१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
यसमा १७.६५ किलोवाट आवर र १७.६५ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ। यसमा भएको १७.६५ किलोवाट आवरको ब्याट्रीले २१० किलोमिटरको रेन्ज दिन्छ।
यस्तै, टप भेरियन्टमा भएको २८.०८ किलोवाट आवर क्षमताको ब्याट्रीले ३०१ किलोमिटर रेन्ज प्रदान गर्ने छ। यो गाडी नेपालमा ३५ किलोवाट क्षमताको मोटर पावरमा ल्याइएको छ।
यसको लम्बाई ३२७० एमएम छ भने उचाई १७०० एमएम छ। १५४५ एमएम फराकिलो यो इलेक्ट्रिक कारको ह्विलबेस १९८० एमएम र १४ इन्चको ह्विल छ। चार सिट भएको लुमिन मिनी इभीमा तीन वटा ढोका छन्। यसको इन्टेरियरमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ।
एलएस अटोको एलइभी ०५
आगामी नाडा अटो शोमा एलएस अटोको एलइभी ०५ नामक ह्याचब्याक सेगमेन्टको इलेक्ट्रिक कार पनि सार्वजनिक हुँदै छ। यसलाई नेपालमा नेक्सन भेन्चर प्रा.लि.ले आधिकारिक रुपमा बिक्री गर्ने तयारी गरेको छ।
नाइमा मोबिलिटी एक्स्पो २०२५ मा लन्च गर्ने तयारी गरेको कम्पनीले अब भने नाडामा लन्च गर्ने जनाएको छ। एलइभी ०५ एक प्रिमियम ह्याचब्याक मोडल हो। यसको ब्याट्री निकै ठूलो साइजमा उपलब्ध हुनेछ।
एलइभी ०५ मा ५६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ। जसले एक पटकको फुल चार्जमा ४०० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
कम्पनीले यसलाई ५० किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटरमा ल्याउने जनाएको छ। यसको अधिकतम टर्क १८० न्युटन मिटर छ। यसलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ।
यसको लम्बाई ४२०० एमएम, चौडाई १७७० एमएम र उचाई १६१० एमएम रहेको छ। यसको ह्विलवेस २६५० एमएम छ। यसमा १७ इन्चको ह्विल दिइको छ। यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ।