काठमाडौं। नाडा अटो शो २०२५ सुरु भएसँगै नेपाली अटो बजारले नयाँ मोडलको आगमन देखेको छ। एलआरआर मोटर्सले चीनको जिली ब्रान्डअन्तर्गतको नयाँ इलेक्ट्रिक एसयूभी ग्यालेक्सी ईएक्स फाइभ आजदेखि औपचारिक रूपमा बिक्री सुरु गरेको हो।
डिमस्मार्ट ग्रुपमार्फत आधिकारिक रुपमा नेपाल ल्याइएको यो मोडल अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय मानिन्छ र विशेषगरी अष्ट्रेलियामा बिक्री हुँदै आएको स्पेक नेपालमा प्रस्तुत गरिएको हो।
ग्यालेक्सी ईएक्स फाइभ दुई भेरियन्टमा उपलब्ध छ-प्रो र म्याक्स। कम्पनीले प्रो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने म्याक्स भेरियन्ट ६७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने जनाएको छ। अटो शोको अवसरमा प्रो भेरियन्टमा ३ लाख रुपैयाँ नगद छुट दिइएको छ जसपछि यसको मूल्य ५४ लाख ९९ हजारमा पर्छ।
त्यस्तै, म्याक्स भेरियन्टमा ४ लाख रुपैयाँ छुट दिइँदा ६४ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। नगद छुटका साथै दुबै भेरियन्ट किन्ने ग्राहकलाई एक तोला सुन र आइफोन १६ प्रो म्याक्स उपहारको रूपमा प्रदान गरिनेछ।
डिजाइन र प्रविधि पक्षमा पनि ईएक्स फाइभ आकर्षक देखिन्छ। स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टर्क्वोइज ग्रिन गरी पाँच रङमा उपलब्ध यो एसयूभीमा १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले २१५ हर्सपावर पावर उत्पादन गर्छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न मात्र ६.९ सेकेन्ड लिन्छ।
यसमा ६०।२ किलोवाट आवर क्षमताको सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसलाई सुरक्षित र भरपर्दो मानिन्छ। कम्पनीले ब्याट्रीमा ८ वर्ष वा अनलिमिटेड किलोमिटर वारेन्टी दिने घोषणा गरेको छ।
भित्री भागमा १५।४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, १०।२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड र प्यानोरामिक सनरुफ जस्ता फिचर राखिएका छन्।
सुरक्षा पक्षमा पनि ईएक्स फाइभ बलियो छ। यसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल असिस्ट लगायतका आधुनिक सुरक्षा प्रविधि छन्। साथै, इन्टिग्रेटेड स्मार्ट यूआईमार्फत एप प्रयोग गरी गाडीको गति नियन्त्रण गर्न सकिने सुविधा पनि प्रदान गरिएको छ।
नाडा अटो शो २०२५ बाट पहिलो पटक नेपाल प्रवेश गरेको जिली ग्यालेक्सी ईएक्स फाइभलाई कम्पनीले नेपाली बजारमा विद्युतीय एसयूभीको नयाँ विकल्पको रूपमा अघि सारेको छ। प्रतिस्पर्धात्मक मूल्य, आधुनिक फिचर र आकर्षक अफरका कारण यसले ईभी बजारमा उत्साहजनक प्रभाव पार्ने अपेक्षा गरिएको छ।