काठमाडौं। जेनजी आन्दोलनले दसैंको घटस्थापनामा हुने सवारी साधनको बिक्री र डेलिभरीमा कमी आएको छ। आन्दोलनका कारण धेरै ग्राहकले गाडीको बुकिङ फिर्ता गरेका छन् भने कतिले डेलिभरी स्थगित गरेका छन्।
दसैंको पहिलो दिन अर्थात् घटस्थापनामा नयाँ सवारी साधन घर भित्र्याउनु नेपाली समाजमा शुभ मानिन्छ। त्यस कारण हरेक वर्ष घटस्थापनाको दिन गाडीको बिक्री र डेलिभरी ह्वात्तै बढ्ने गर्छ। तर, जेनजी आन्दोलनका कारण यस वर्ष घटस्थापनामा हुने सवारी साधनको डेलिभरीमा ठूलो असर पुगेको अटो व्यवसायीको भनाइ छ।
दसैंको घटस्थापनाको दिनमा गाडी लिने चाहाना राखेका ग्राहकले बुकिङ फिर्ता गरेका छन्। धेरै मानिसले देशको अस्थिर अवस्था देखाउँदै गाडीको बुकिङ फिर्ता गरेका छन्। कतिले अवस्था सामान्य भएपछि खरिद गर्ने भन्दै पोस्पोन्ड गरेका छन्। जसका कारण घटस्थापनाको दिनमा हुने गाडी डेलिभरीमा कमी आएको हो।
नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका सञ्चालक शिरिष मुरारकाका अनुसार जेनजी आन्दोलनका कारण यस वर्षको दसैंमा गाडीको व्यापारमा ठूलो धक्का लागेको छ। घटस्थापनाको दिन ६० युनिट गाडी डेलिभरी गर्ने तयारी भए पनि आधा मात्रै डेलिभरी भएको उनी बताउँछन्।
‘जेनजी आन्दोलनका कारण यस वर्ष दसैंको समयमा गाडीको व्यापार डामाडोल भएको छ,’ मुरारका भन्छन्, ‘घटस्थापनाको दिन ६० युनिट गाडी डेलिभरी गर्ने तयारी थियो। तर, जेनजी आन्दोलनका कारण बुकिङ फिर्ता हुँदा ३० युनिट गाडी मात्र डेलिभरी गर्यौँ।’ घटस्थापनाको दिन मात्रै डेलिभरी हुने भनिएका ६० युनिट गाडीमा ५० प्रतिशत अर्थात आधा मात्र गाडी डेलिभरी भएको मुरारकाको भनाइ छ।
दसैंको अवसर पारेर नयाँ गाडी किन्न चाहने ग्राहकले गरेको बुकिङमा आन्दोलनको ठूलो असर देखिएको सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल युनिटका जनरल म्यानेजर शावान्तजंग सिजापति बताउँछन्।
नेपालमा दसैंलाई गाडी किन्ने उपयुक्त अवसर मानिन्छ। नयाँ गाडीको बुकिङ दसैंअघि सुरु हुन्छ र घटस्थापनाको शुभ साइत पारेर ग्राहकहरुले गाडी लग्ने गर्छन। घटस्थापनामा गाडी डेलिभरी गर्ने प्रचलन नेपालमा निकै पुरानो हो। तर, यस वर्ष दसैंको मुखमा भएको जेनजी आन्दोलनले सवारी साधनको व्यापारमा ठूलो असर पारेको छ।
दसैंको अवसर पारेर नयाँ गाडी किन्न चाहने ग्राहकले गरेको बुकिङमा आन्दोलनको ठूलो असर देखिएको सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल युनिटका जनरल म्यानेजर शावान्तजंग सिजापति बताउँछन्।
‘नाडा अटो शोमा राम्रो बुकिङ भए पनि अहिले देशको परिस्थिति ठिक नभएका कारण धेरै ग्राहकले तत्काल गाडी लिन आनाकानी गरिरहेका छन्,’ सिजापति भन्छन्, ‘दसैंअगाडि गाडी लिनेभन्दा पनि अहिले देशको स्थिति हेरेर एक-दुई महिना कुरौँ, स्थितिमा सुधार आएपछि लिउँला भनेर तत्कालका लागि डेलिभरी रोकिएको छ।’ जुन हिसाबमा गाडीको बुकिङ भएको थियो आन्दोलनका कारण यसमा असर देखिएको सिजापतिको भनाइ छ।
‘गत वर्षको तुलनामा यस वर्ष घटस्थापनामा गाडी डेलिभरी निकै कम भएको छ।’ टाटा मोटर्सले घटस्थापनाको दिन देशभरका शोरुमबाट ११७ युनिट गाडी डेलिभरी गरेको छ। घटस्थापनाको दिन जति सवारी साधन डेलिभरी गर्ने तयारी कम्पनीहरुले गरेका थिए। जेनजी आन्दोलनका कारण सवारी खरिद गर्ने मोड बिग्रिदा त्यो पूरा हुन नसकेको व्यवसायी बताउँछन्।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलिया घटस्थापनाको दिन जति गाडी डेलिभरी हुनुपर्ने थियो त्यति नभएको बताउँछन्।
जेनजी प्रदर्शनीको कारण दसैंको समयमा हुने गाडी बिक्रीमा कमी आउनुका साथै समग्र अटोमोबाइल उद्योगलाई असर पुगेको छ।
‘घटस्थापनाको दिन जति गाडी डेलिभरी गर्ने सोच थियो। यति डेलिभरी भएन,’ उनले भने, ‘आन्दोलनका कारण केही गाडीको डेलिभरी पोस्पोण्ड भएको छ।’ जेनजी आन्दोलनको ठूलो प्रभाव अटो उद्योगमा परेको उनको भनाइ छ। जेनजी प्रदर्शनीको कारण दसैंको समयमा हुने गाडी बिक्रीमा कमी आउनुका साथै समग्र अटोमोबाइल उद्योगलाई असर पुगेको छ।
बिवाईडीको गाडी घटस्थापनाको दिन मात्र ४०-५० युनिट डेलिभरी भएको साइमेक्स इंकका सेल्स हेड आशुतोष गौतम बताउँछन्। ‘हाम्रो नयाँ मोडलको गाडी आइपुगेको छैन, त्यसैले हामीले पुरानै मोडलका डल्फिन र एम सिक्स गाडीहरू मात्र डेलिभरी गर्यौँ,’ गौतमले भने, ‘घटस्थापनाको दिन कम्पनीले ४०-५० युनिट गाडी डेलिभरी गर्न सफल भएको छ।’
बिवाईडीले सार्वजनिक गरेको नयाँ मोडलका गाडी अझै नआइपुगेकाले स्टकमा भएको पुराना मोडलका गाडी मात्र डेलिभरी गरेको गौतमको भनाइ छ।
खासगरी घटस्थापनाको शुभ अवसर पारेर नयाँ सवारी साधन घर भित्र्याउने चलन छ। त्यसैले सवारी खरिद गर्ने धेरैजसो ग्राहकले घटस्थापनाकै दिन शोरुमबाट गाडी लाने गर्छन्। अटो व्यवसायीका अनुसार यस वर्ष घटस्थापनामा जति गाडी डेलिभरी गर्ने लक्ष्य राखिएको थियो, त्यो पूरा हुन सकेन। गाडी बुकिङ गरेका धेरै ग्राहकले आन्दोलनका कारण बुकिङ रद्द गरेको कम्पनीहरूले जनाएका छन्।