बेइजिङ। चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी लिपमाेटरले चीनमा १० लाख कार उत्पादन गरेको छ। ६ वर्षमा कम्पनीले उक्त उपलब्धि हासिल गरेकाे हाे। कम्पनीका अधिकारीहरूले जनाएअनुसार पाँच लाख कारबाट दश लाख पुग्न मात्र ३४३ दिन लगेको छ। यसले चिनियाँ नवउदीयमान अटोमेकरहरूमध्ये सबैभन्दा छिटो उत्पादन वृद्धिको कीर्तिमान कायम गरेको छ।
२०१७ मा स्थापना भएको यो नयाँ ऊर्जा सवारी साधन निर्माता कम्पनीले २०१९ जुनमा पहिलो कार बजारमा ल्याएको थियो। त्यसको पाँच वर्षपछि कम्पनीले पाँच लाख कार उत्पादनको लक्ष्य पूरा गरेको थियो। गत वर्ष विश्वका प्रमुख अटोमोबाइल समूहमध्ये पर्ने स्टेलान्टिसले लिपमाेटरमा लगानी गरेपछि कम्पनीको उत्पादन क्षमता र अन्तर्राष्ट्रिय विस्तारमा उल्लेखनीय प्रगति भएको छ।
कम्पनीका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी झि जियाङमिङले भने, 'हामी अर्को वर्ष थप दश लाख कार उत्पादन गर्ने लक्ष्य लिएका छौं।' हालका तथ्याङ्कअनुसार अगस्तमा मात्रै लिपमाेटरले विश्वभर ५७ हजार ६६ कार बिक्री गरेको छ। यसमध्ये चीनमा मात्रै ५१ हजार १६२ कार बिकेको चाइना ईभी डाटा ट्र्याकरले जनाएको छ।
वर्षको सुरुवातदेखि अहिलेसम्म कम्पनीले विश्वभर तीन लाख २० हजारभन्दा बढी कार बेचेको छ भने चीनमा मात्रै झन्डै दुई लाख ९० हजार कार ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीसँग हाल सात मोडलका कारहरू उत्पादनमा छन्। यो वर्ष नयाँ ह्यचब्याक मोडल लेफा ५ पनि बजारमा ल्याउने तयारी छ।

विदेशी बजार विस्तारका लागि कम्पनीले युरोपलाई मुख्य लक्ष्य बनाएको छ। यसका लागि गत वर्ष ग्रिमाल्डी लाइन्स लजिस्टिक्स कम्पनीसँग मिलेर ग्रान्डे टियांजिन नामक विशेष पोत निर्माण गरेको छ जसले एकैपटक ९ हजारभन्दा बढी कार ढुवानी गर्न सक्छ। हालसम्म कम्पनीले युरोप, मध्यपूर्व, अफ्रिका र एसिया प्रशान्त क्षेत्रका तीस देशभन्दा बढीमा सात सयभन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू स्थापना गरेको छ।
विशेष उपलब्धिको रूपमा अगस्तमा जर्मनीको इलेक्ट्रिक कार बजारमा लिपमाेटरले चिनियाँ कम्पानी बिवाइडीलाई उछिनेर पहिलो स्थान हासिल गरेको छ। यस सफलताले चिनियाँ इलेक्ट्रिक कार उद्योगको बढ्दो प्रभावलाई झल्काउँछ र अन्तर्राष्ट्रिय बजारमा चिनियाँ ब्राण्डहरूको बलियो स्थितिलाई देखाउँछ।
स्राेत कारन्यूज चाइना डटकम