काठमाडौं। हाल नेपालको सार्वजनिक यातायात क्षेत्रमा ११ सिटरदेखि १९ सिटरसम्मका इलेक्ट्रिक माइक्रोभ्यानको माग बढ्दै गएको छ। डिजेल/पेट्रोल गाडीको तुलनामा ईभीमा सञ्चालन खर्च कम हुने भएकाले यसको प्रयोगकर्ता संख्या निरन्तर बढ्दै गएको हो।
नेपालमा प्यासेन्जर सेग्मेन्ट र माइक्रोभ्यानमा ईभी आयात तथा बिक्री बढ्दै गए पनि सार्वजनिक यातायतको रुपमा प्रयोग हुने ठुला बसको आयात तथा बिक्री भने बढ्न सकेको छैन। काठमाडौं उपत्यकामा केही युनिट ईभी बस चले पनि उपत्यकाबाहिर भने यसको प्रयोग बढेको छैन।
खासगरी ईभी माइक्रोभ्यानले पनि सुरुआती दिनमा खासै बजार लिन सकेको थिएन। तर, डिजेल÷पेट्रोल माइक्रोभ्यानभन्दा कम मूल्यमा ईभी आउन थालेपछि यसको माग बढ्दै गयो र इन्धन माइक्रोभ्यान अर्थात् हायसलाई विस्थापित गर्यो।
२४ सिटर मिनीबस कसरी ‘गेम चेन्जर’ बन्न सक्छ
नेपालको ईभी यातायात क्षेत्रमा महत्त्वपूर्ण कदम चाल्दै आएको दिगो ग्रुपले २४ सिटर मिनीबस नेपाली बजारमा ल्याउँदै गरेको जनाएको छ। हाल नेपाली बजारमा ११, १४, १५, १६ र १९ सिटरका ईभी भ्यान मात्रै सञ्चालनमा छन्।
तीमध्ये पनि ११ र १४ सिटरका इलेक्ट्रिक माइक्रोभ्यान सफल देखिएका छन्। तर, ठूला गाडीको सन्दर्भमा भने स्थिति अलि फरक देखिएको छ। प्यासेन्जर गाडी र माइक्रोभ्यानमा ईभीको वर्चस्व रहे पनि अझैसम्म ठूला इलेक्ट्रिक गाडी बजारमा व्यापक रुपमा प्रवेश गर्न सकेका छैनन्।
अहिले नेपालमा कमर्सियल क्षेत्रमा ११ सिटरजस्ता साना इलेक्ट्रिक भ्यान प्रयोग सफल देखिए पनि ठूला बसमा व्यवसायीले लगानी गर्न हिच्किचाइरहेको दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझी बताउँछन्।
‘नेपाली बजारमा अहिले ११ सिटे र १४ सिटे ईभी गाडी बढी चलनचल्तीमा भए पनि ठूला गाडीमा सुरुआती लगानी धेरै पर्ने भएकाले आउन सकेको छैन,’ अध्यक्ष रायमाझीले भने ‘तर, हामीले ल्याउन लागेको २४ सिटर ईभी बस ‘गेम चेन्जर’ बन्ने सम्भावना देखिएको छ।’ दिगोले ल्याउँदै गरेको २४ सिटे मिनीबस विद्युतीय सार्वजनिक यातायात क्षेत्रमा ‘गेम चेन्जर’ बन्ने उनको भनाइ छ।
यो मिनीबस सामान्य बसजस्तो देखिए पनि अलिकति फरक प्रकारको हो। दिगोले ल्याउन लागेको बस कोस्टर टाइपको हो। तर, कोस्टरमा वान बाइ टु को सिट हुन्छ भने यसमा टू बाइ टूको सिट हुनेछ।
अध्यक्ष राइमाझी भन्छन्, नेपाली बजारमा ११ सिटर गाडीको सञ्चालन खर्च कम र मूल्य पनि डिजेल÷पेट्रोल गाडीको हाराहारी भएकोले बजारमा टिक्न सफल भएको हो। तर, ठूला विद्युतीय बसमा हेर्दा यो फरक देखिन्छ। उदाहरणका लागि साझा यातायातलाई उपलब्ध गराइएको एउटा बसको लागत १ करोड ५० लाख रुपैयाँ पर्न जान्छ।
त्यसमा पाँच वर्षको एएमसी र २० वटा चार्जरको लागत घटाउँदा पनि गाडीको लागत १ करोड ३० लाख हाराहारी पर्छ। जबकि, त्यस्तै डिजेल बस ५० लाखको हाराहारीमा आउँछ।
‘भाडादर सरकारले तोकेको छ। सञ्चालन खर्च कम भएपनि एउटा समयमा गएर ब्याट्री फेर्नुपर्ने पनि हुन्छ। त्यति हुँदाहुँदै पनि मेन्टेनेन्स लागत सबै कुराले गर्दा ईभी बस बढ्न सकेका थिएनन्,’ अध्यक्ष रायमाझीले भने, ‘तर, अहिले हामीले यो सबै कुरालाई ब्यालेन्स मिलाएर २४ सिटे गाडीलाई लन्च गर्न लागेका छौं।’ दिगोले २ महिनाअघि नै २४ सिटर बस ल्याउन खोजे पनि बाढीपहिरोका कारण केरुङमै अड्केको कम्पनीको भनाइ छ।
दिगोले ल्याउन लागेको २४ सिटर बस लगभग १ करोड मूल्यको हाराहारीमा आउने अनुमान गरिएको छ। अध्यक्ष रायमाझीका अनुसार गाडी महँगो वा सस्तो भन्ने कुरा प्रारम्भिक खरिद मूल्यबाट मात्र निर्धारण हुँदैन। गाडी चलाएर, चार्ज गरेर बचेको पैसाले इएमआई पनि तिर्ने र आफूलाई पनि बचाउने भए महँगो नहुने तर्क उनले गरे।
व्यवसायीले गाडी खरिद गर्दा धेरैजसोले बैंकबाट ऋण लिने भएकाले सुरुमा ४० प्रतिशत मात्र रकम तिर्नुपर्छ, जसले गर्दा सुरुआती लगानी कम पर्न जान्छ। कुनै गाडी ल्याएर त्यसमा व्यवसायीले चलाएर सबै खर्च कटाएर उसले बचत गर्न सक्छ कि सक्दैन हेरिने गरेको छ। आजको दिनमा डिजेल गाडीमा हेर्दा त्यो एकदमै कम छ। राम्रो रुट पाएन भने कतिपय गाडी त घाटामा गएर बिग्रिएको धेरै रहेको उनले बताए।
डिजेल/पेट्रोल गाडीमा काठमाडौंबाट सिन्धुली जाँदा ८ जना मात्र यात्रु बोके डिजेल खर्चका कारण ट्रिप घाटामा जान्छ। तर, इलेक्ट्रिक गाडीमा सोही रुटमा ४ जना यात्रु मात्र भए पनि ट्रिप फाइदामा देखिन्छ। रायमाझी भन्छन्, ‘हामीले हेर्ने भनेको कुन मूल्यका गाडी ल्याउँदा व्यवसायी सस्टेन हुन्छन् भन्ने हो। धेरै अध्ययन गर्दा हामीले ल्याउन लागेको २४ सिटरको गाडीमा त्यो देखियो।’ दिगोले गरेको अध्ययनमा ल्याउँदै गरेको २४ सिटर गाडीमा व्यवसायी सबल हुने सम्भावना देखिएको अध्यक्ष बताउँछन्।
यस्तो छ, २४ सिटर बस
दिगोले ल्याउँदै गरेको २४ सिटे मिनीबस हो। यसमा १३३.३ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा ९० किलोवाटको रेटेड र १९० किलोवाटको पिक पावरको मोटर पाउन सकिन्छ। यसले २२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ। यसको अधिकतम गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ।
यसको लम्बाइ ६८०० एमएम, चौडाइ २२६० एमएम र उचाइ ३१०० एमएम रहेको छ। यसको ह्वीलबेस ३८०० एमएम रहेको छ। यो दुई ढोका भएको गाडी हो। यसमा डुअल सर्किट ब्रेकिङ सिस्टम पाउन सकिन्छ।