काठमाडौं। पछिल्लो समय विद्युतीय कार (ईभी)को मात्र होइन कमर्सियल ईभीको आयात पनि तीव्र रुपमा बढ्दै गएको छ। विशेष गरी ईभी भ्यान तथा माइक्रोभ्यानको आयात तथा प्रयोग तीव्र रुपमा बढ्दै गएको हो।
विद्युतीय कारको क्रेज नेपाली बजारमा पहिलेदेखि बढ्दो क्रममा थियो। तर, अब त्यो लहर निजी सवारी मात्र सिमित नरही व्यवसायिक प्रयोजनका सवारीमा पनि बढ्दै गएको छ।
नेपाली बजारमा कमर्सियल ईभीको आयात २०७६ देखि आउन सुरु भएको थियो। सुरुवाती दिनमा २ युनिट आयात भएको ईभी अहिले हजारौँको संख्यामा आउन थालेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउँछन्।
उनका अनुसार २०७६ भदौदेखि सुन्दर यातायातले नेपाली बजारमा कमर्सियल ईभीको आयात गर्न सुरु गरेपछि दिगो ग्रुप अफ कम्पनी, साझा यातायातलगायत कम्पनीहरुले व्यावसायीक प्रयोजनका लागि ईभी ल्याउन सुरु गरेका हुन्।
‘नेपालमा व्यावसायिक प्रयोजनका लागि ईभी पहिलो पटक हामीले ल्याएका थियौं,’ उनले भने, ‘सुरुवातमा ४ युनिट मगाए पनि दुई युनिट मात्र आइपुगेको थियो। विगतको तुलनामा अहिले एकदम धेरै बढेको छ।’ पहिले जति डिजेल/पेट्रोलका गाडी आयात हुन्थ्यो त्यसको आयात अहिले ६० प्रतिशत कम भएको थापाको भनाइ छ।
डिजेल/पेट्रोल गाडीको तुलनामा ईभीमा सञ्चालन खर्च कम हुने भएकाले यसको प्रयोगकर्ता संख्या निरन्तर बढ्दै गएको हो।
‘अहिले कमर्सियल गाडीको आयात तथा प्रयोग बढ्नु यो एकदमै सकारात्मक भएपनि जुन हिसाबले कमर्सियलमा विभिन्न ब्रान्ड भित्रिएको छ। त्यो भने एकदम दु:खद कुरा हो,’ उनले थपे। पछिल्लो समय जुन हिसाबले जस्तो पाए त्यस्तै ब्रान्ड भित्रिएको छ, त्यसले नकारात्मक असर पार्ने उनले बताए।
आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा २६ युनिट आयात भएको कमर्सियल ईभी २०८१/८२ मा आइपुग्दा ३ हजारभन्दा बढी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को २ महिना (साउन र भदौ) मा मात्र ५७ युनिट कमर्सियल ईभी आयात भएको छ।
डिजेल/पेट्रोल गाडीको तुलनामा ईभीमा सञ्चालन खर्च कम हुने भएकाले यसको प्रयोगकर्ता संख्या निरन्तर बढ्दै गएको हो। अहिले नेपालमा कमर्सियल क्षेत्रमा ११ सिटर र १४ सिटरका कमर्सियल ईभीको आयात तथा प्रयोग धेरै भएको देखिन्छ।
आर्थिक वर्ष २०७८/७९ मा ९२ युनिट कमर्सियल ईभीको आयात भएको थियो। त्यस्तै आर्थिक वर्ष ०७९/८० मा ४५१ युनिट आयात भएको थियो। भने २०८०/८१ मा यसको आयात ह्वात्तै बढेर एक हजार ३० युनिट पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
पछिल्लो समय सार्वजनिक यातायातमा ईभीको प्रयोग बढेसँगै बजारमा नयाँ ब्राण्ड थपिने क्रम पनि बढेको हो। अहिले छोटो तथा मध्यम दूरीका रुटमा विद्युतीय माइक्रोबस र डेलिभरी भ्यानको प्रयोग बढ्दो छ।
त्यसैगरी, आर्थिक वर्ष ८१/८२ को एक वर्षको अवधिमा तीन हजार १३२ युनिट कमर्सियल ईभी आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार कमर्सियल ईभीको आयात बढ्दो क्रमम रहेको छ।
आयातसँगै कमर्सियल ईभी ब्रान्ड बढ्दै
कमर्सियल ईभीको आयात बढेसँगै यसको प्रतिस्पर्धा तीव्र रुपमा हुन थालेको छ। प्रतिस्पर्धासँगै बजारमा माग पनि गुणात्मक रुपमा बढ्दै गइरहेको छ। प्रतिस्पर्धी मूल्य र कम सञ्चालन खर्चका कारण विद्युतीय माइक्रोबस तथा भ्यानको बिक्री बढेको व्यवसायीहरुको भनाइ छ। नेपाली बजारमा हाल करिब ४ दर्जन हाराहारी कमर्सियल ईभी ब्रान्ड उपलब्ध छन्।
पछिल्लो समय सार्वजनिक यातायातमा ईभीको प्रयोग बढेसँगै बजारमा नयाँ ब्राण्ड थपिने क्रम पनि बढेको हो। अहिले छोटो तथा मध्यम दूरीका रुटमा विद्युतीय माइक्रोबस र डेलिभरी भ्यानको प्रयोग बढ्दो छ। आइसीई गाडीको तुलनामा विद्युतीय सवारीमा कर कम लाग्ने, संचालन खर्च कम हुने र नाफा बढ्ने भएकाले सवारी किन्नेहरू ईभीमा आकर्षित हुन थालेका हुन्। साथै, फैलिँदो चार्जिङ नेटवर्कका कारण पनि ईभीको प्रयोग सहज हुँदै गएको छ।
हाल नेपालमा केवाईसी, किङलङ, जोङलोङ, एसआरएम, डीएफएसी, कामा, हाउजी, हाइगर, कीटोन, जिली फारिजोन, चेरी एन्ड वान्डा, गोल्डेन ड्रागन, सुमेक, फोटोन, सोकोन, डीएफएसके, स्वीच, गोनाउ, टाटा, सनलङ, जिङसु टुनिउ, भिक्टोरी, वुलिङ, जिङसु, नान्निङ, आरजेडएम, जोहोङटोङ, कावेई, हेल्मार्व, आरजेडएम, स्काईवर्थ, सीएचटीसीलगायत ब्रान्डका कमर्सियल ईभी गाडी उपलब्ध छन्।
ईभीमा ठूला बसको आयात तथा बिक्री किन कम?
नेपालमा प्यासेन्जर सेग्मेन्ट र माइक्रोभ्यानमा ईभी आयात तथा बिक्री बढ्दै गए पनि सार्वजनिक यातायतको रुपमा प्रयोग हुने ठूला बसको आयात तथा बिक्री भने बढ्न सकेको छैन। काठमाडौं उपत्यकामा केही युनिट ईभी बस चले पनि उपत्यकाबाहिर भने यसको प्रयोग बढेको छैन।
अहिले छोटो तथा मध्यम दूरीका गन्तव्यमा सार्वजनिक सवारीमा ईभीको प्रयोग बढ्दो छ। तुलनात्मक रूपमा बसको संख्या न्यून रहे पनि माइक्रोबस भने उल्लेख्य बढेको छ। हाल नेपालमा २० लाखदेखि १ करोड बढीसम्मका कमर्शियल ईभी पाइन्छ।
हाल अधिकांश यातायात समितिले नयाँ सवारी किन्दा विद्युतीय माइक्रोबस नै किन्न थालेका छन्। हाल देशभर ५ हजार बढी विद्युतीय माइक्रोबस गुडिरहेका छन्।
अहिले नेपालमा कमर्सियल क्षेत्रमा ११ सिटरजस्ता साना इलेक्ट्रिक भ्यान प्रयोग सफल देखिए पनि ठूला बसमा व्यवसायीले लगानी गर्न हिच्किचाइएका कारण यसको आयात बढ्न नसकेको दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझी बताउँछन्।
‘नेपाली बजारमा अहिले ११ सिटे र १४ सिटे ईभी गाडी बढी चलनचल्तीमा छन्,’ अध्यक्ष रायमाझी भन्छन्, ‘बजारमा ११ सिटर गाडीको सञ्चालन खर्च कम र मूल्य पनि डिजेल/पेट्रोल गाडीको हाराहारी भएकोले बजारमा टिक्न सफल भएको हो। तर, ठूला विद्युतीय बसमा हेर्दा यो फरक देखिन्छ।’ ठूला ईभीमा सुरुआती लगानी धेरै पर्ने भएकाले यो आउन नसकेको उनको भनाइ छ।
हाल अधिकांश यातायात समितिले नयाँ सवारी किन्दा विद्युतीय माइक्रोबस नै किन्न थालेका छन्। हाल देशभर ५ हजार बढी विद्युतीय माइक्रोबस गुडिरहेका छन्।