काठमाडौं। रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ २०२५ मेटिओर–३५० मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले आजदेखि नै नयाँ मोडेलको टेस्ट राइड र बुकिङ खुला भएको जानकारी दिएको छ।
सुस्त सहर यात्रादेखि लामो दूरीको आरामदायी क्रूजिङसम्मका लागि उपयुक्त मानिने मेटिओर–३५० यसपटक फायरबल, स्टेलर, अरोरा र सुपरनोभा गरी चार भेरियन्टमा उपलब्ध हुनेछ। सबै मोडेलमा अब एलइडी हेडलाइट अनिवार्य रूपमा जडान गरिएको छ। साथै नयाँ रंग, सुधारिएको फिनिस, अझ आरामदायी आसन र राइडिङ पोस्चर जस्ता परिवर्तनसमेत थपिएका छन्।
कम्पनीका अनुसार परिमार्जित डिजाइनले दैनिक सवारीअनुभवलाई सहज बनाउनेछ भने लामो यात्रामा पनि आवश्यक पर्ने सुविधा समेटिएको छ। विश्वभर पाँच लाखभन्दा बढी मेटिओर मालिकहरूको विश्वास जितिसकेको यो सिरिज नेपालमा पनि लोकप्रिय छ। नयाँ संस्करणले बजारमा थप ऊर्जा भर्ने कम्पनीको दाबी छ।
यस मोटरसाइकलका लागि ‘अर्बन’ र ‘ग्रान्ड टुरर’ गरी दुई प्रकारका एक्सेसरी किट उपलब्ध छन्, जसमा विशेष ह्यान्डलबार, सिट, प्यानियर, फुटरेस्टलगायतका उपकरणहरू समावेश छन्। मूल्यतर्फ, फायरबल भेरियन्टमा अरेन्ज र ग्रे रंग विकल्प राखिएको छ र यसको मूल्य रु ५ लाख ७७ हजार तोकिएको छ। त्यसपछि आउने स्टेलर भेरियन्ट म्याट ग्रे र म्यारिन ब्लु रंगमा उपलब्ध छ, जसको मूल्य रु ५ लाख ८७ हजार निर्धारण गरिएको छ।
रेट्रो सोच राख्नेका लागि लक्षित अरोरा भेरियन्ट रेट्रो ग्रिन र रेड रंगमा आउनेछ। यो संस्करण रु ५ लाख ९१ हजार ९ सय मा उपलब्ध हुनेछ। सबैभन्दा प्रिमियम मानिएको सुपरनोभा भेरियन्ट ब्ल्याक रंगमा प्रस्तुत गरिएको छ, जसको मूल्य सूचीमा सबैभन्दा उच्च रु ५ लाख ९७ हजार राखिएको छ।