काठमाडौं। नेपाली बजारमा यात्रु वाहक (प्यासेन्जर) सेग्मेन्टका विद्युतीय सवारीसाधन (ईभी) तीव्र गतिमा बढे पनि ठूला व्यावसायिक ईभी बस भने बढ्न सकेका छैनन्। निजी कार र माइक्रोभ्यानको प्रयोग तथा बिक्री उल्लेखनीय रूपमा बढे पनि ठूला ईभी बसको आयात तथा सञ्चालन सीमित रहेको छ।
प्यासेन्जर सेग्मेन्ट र माइक्रोभ्यानमा ईभीको आयात तथा बिक्री बढ्दै गए पनि सार्वजनिक यातायातमा प्रयोग हुने ठूला बसको आयात र सञ्चालन भने वृद्धि हुन सकेको छैन। काठमाडौं उपत्यकामा केही ईभी बस सञ्चालनमा आए पनि उपत्यकाबाहिर यसको प्रयोग नगण्य छ।
हाल छोटो तथा मध्यम दूरीका गन्तव्यमा सार्वजनिक सवारीमा ईभीको प्रयोग बढ्दो छ। तुलनात्मक रूपमा बसको संख्या न्यून रहे पनि माइक्रोबसको संख्या उल्लेखनीय रूपमा बढेको छ।
बजारमा ब्रान्डको अवस्था
हाल नेपाली बजारमा करिब ४ दर्जन ईभी माइक्रोभ्यानका ब्रान्ड उपलब्ध छन्। तर ईभी बसका ब्रान्ड भने अत्यन्त सीमित छन्। अहिले नेपालमा २० लाखदेखि १ करोडभन्दा बढीसम्मका व्यावसायिक ईभी पाइन्छन्।
व्यावसायिक क्षेत्रमा ११ सिटरजस्ता साना इलेक्ट्रिक भ्यान सफल भए पनि ठूला बसमा व्यवसायीहरू लगानी गर्न हिच्किचाउँछन्। यसैले यसको आयात बढ्न सकेको छैन, दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझी बताउँछन्।
"नेपाली बजारमा अहिले ११ सिटर र १४ सिटर ईभी गाडी बढी चलनमा छन्। बजारमा ११ सिटर गाडीको सञ्चालन खर्च कम र मूल्य पनि डिजेल/पेट्रोल गाडीको जस्तै भएकोले यो सफल भएको हो। तर ठूला विद्युतीय बसमा यो फरक देखिन्छ," रायमाझी भन्छन्। ठूला ईभीमा प्रारम्भिक लगानी धेरै आवश्यक पर्ने भएकाले यो बजारमा आउन सकेको छैन।
यातायात समितिको रोजाइ
हाल अधिकांश यातायात समितिहरूले नयाँ सवारी किन्दा विद्युतीय माइक्रोबस नै रोज्न थालेका छन्। अहिले देशभर ५ हजारभन्दा बढी विद्युतीय माइक्रोबस सञ्चालनमा छन्। ठूलो ईभी बसमा लगानी धेरै आवश्यक पर्ने भएकाले नेपालमा ठूला ईभी बसको आयात तथा प्रयोग बढ्न नसकेको सुन्दर यातायातका भेषबहादुर थापा बताउँछन्।
"नेपालमा ईभी माइक्रोभ्यानका धेरै ब्रान्ड तथा विकल्प छन्, व्यवसायीहरूले आफ्नो बजेट अनुसार खरिद गर्न सक्छन्। ईभी बस तुलनात्मक रूपमा महँगो हुने भएकाले बिक्री हुन गाह्रो छ। त्यसैले कुनै पनि व्यवसायीले आयात गर्ने साहस गर्दैनन्," थापा भन्छन्। नेपालमा व्यावसायिक ईभीको आयात सबैभन्दा पहिले सुन्दर यातायातले गरेको उनको भनाइ छ।

आयातको प्रवृत्ति
आर्थिक वर्ष २०७७/७८ देखि व्यावसायिक ईभी गाडी नेपाली बजारमा आउन थालेको हो। उक्त वर्षमा २६ वटा मात्र आयात भएको व्यावसायिक ईभी २०८१/८२ मा आइपुग्दा ३ हजारभन्दा बढी आयात भएको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ।
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिना (साउनदेखि असोज) मा मात्र ९२ वटा व्यावसायिक ईभी आयात भएको छ भने २ हजार ६२० वटा यात्रु सेग्मेन्टका ईभी आयात भएको छ। यस अवधिमा ठूला ईभी बसको आयात नगण्य छ।
यात्रु कार र सार्वजनिक यातायातमा प्रयोग हुने भ्यान र ट्याक्सीमा ईभीले प्रायः विस्थापन गरिसकेको छ। यात्रु कारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ईभीले ओगटेको छ भने भ्यान र ट्याक्सी पनि बिस्तारै ईभीको कब्जामा जान थालेको छ। तर दुई पांग्रे सवारीमा यो सेग्मेन्ट खासै सफल हुन सकेको छैन।
संस्थागत क्षेत्रमा बढ्दो लोकप्रियता
हालसम्म नेपालको ईभी बजारमा व्यक्तिगत प्रयोजनका सवारीसाधनको वर्चस्व रहे पनि अहिले विद्यालय, संघ-संस्था र अनलाइन डेलिभरी सेवा प्रदायक कम्पनीले समेत विद्युतीय सवारीलाई प्राथमिकता दिन थालेका छन्। यसले व्यावसायिक ईभीमा चहलपहल बढाएको छ।
पछिल्लो समय नेपालमा ईभी भ्यानहरू विभिन्न शैक्षिक संस्था र होटलहरूका लागि पहिलो प्राथमिकतामा पर्न थालेका छन्। सञ्चालन लागत, इन्धन र मर्मतसम्भार खर्च घटाउने हुनाले यसले संस्थाहरूलाई आर्थिक रूपमा आकर्षक विकल्प प्रदान गरेको छ। विशेषगरी पेट्रोल/डिजेलको तुलनामा ईभीको सञ्चालन खर्च एकदमै कम रहेको छ।
नेपालमा ईभीको स्वीकार्यता उच्च छ। समग्र निजी कार बिक्रीमा अधिकांश हिस्सा ईभीको हुनुले पनि यसको बढ्दो आकर्षणलाई पुष्टि गर्दछ। संस्थागत क्षेत्रमा पनि यही प्रवृत्ति देखिएको छ।