काठमाडौं। राइड सेयरिङ सेवाप्रदायक पठाओ नेपालले राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाउँदै राइडर बन्न चाहनेका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ।
कम्पनीका अनुसार, सुरुदेखि नै कक्षामा बसेर प्रशिक्षण दिने अभ्यास निरन्तरता दिँदै आएको थियो भने पठाओ नेपालको सेवा देशभर फैलिँदै गएसँगै काठमाडौँ बाहिरका चालकलाई लक्षित गर्दै यो प्रक्रिया क्रमशः डिजिटल प्रणालीमा रुपान्तरण गरिएको छ।
पठाओ निर्देशक सुरक्षा हमालका अनुसार राइडर बन्न ब्लूबुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र तेस्रो पक्ष बिमा अनिवार्य छ। त्यसपछि एपमा रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस)मार्फत अनलाइन प्रशिक्षण सञ्चालन हुनेछ।
प्रशिक्षणपछि लिइने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ। असफल भएका भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन सक्नेछन्।
यसले राइडर बन्ने प्रक्रियालाई अझ पारदर्शी र सजिलो बनाउँदै यात्रालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको छ। इच्छुकले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइनमार्फत दर्ता प्रक्रिया सुरु गर्न सक्नेछन्।
ड्राइभ एपमा खाता खोली आवश्यक कागजात अपलोड गरिसकेपछि पठाओको कार्यालयले ती कागजातको जाँच गर्नेछ र सबै कागजात सही भए २४ घन्टाभित्र खाता प्रमाणीकरण हुनेछ।
त्यसपछि, पठाओ ड्राइभ एपमार्फत नै अनलाइन प्रशिक्षण लिन सकिनेछ। प्रशिक्षण पूरा भइसकेपछि परीक्षामा सामेल हुन पाइनेछ, जुन पठाओ एपबाटै दिन सकिनेछ।
परीक्षामा ८० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेपछि सम्बन्धित व्यक्तिलाई एसएमएसमार्फत सम्झौतापत्र पठाइनेछ । सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि आधिकारिक रूपमा पठाओ चालक (राइडर) बन्न सकिनेछ।
हमालले भनिन्, ‘हाम्रा लागि सुरक्षा वैकल्पिक कुरा नभई सेवाको मेरुदण्ड हो। ८० प्रतिशत अंक ल्याएर पास हुने यो प्रणालीले हाम्रो ‘सुरक्षा र जिम्मेवार सेवा’को मानकलाई अझ मजबुत बनाउनेछ। यसले ग्राहकलाई सुरक्षित, भरपर्दो र पेसागत अनुभव सुनिश्चित गर्नेछ।’
कम्पनीको तथ्यांकअनुसार परीक्षामा लगभग ८५ प्रतिशत सहभागी पहिलो प्रयासमै उत्तीर्ण हुने र बाँकीले पुनः परीक्षा दिएर उत्तीर्ण भएको देखिएको छ। यसका साथै सक्रिय पठाओ राइडरले मासिक औसत ४०–५० हजार रुपैयाँसम्मको आम्दानी गर्ने गरेकोसमेत तथ्यांकले देखाएको छ।