काठमाडौं। पछिल्लो समय नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन (ईभी) को माग तीव्र गतिमा बढिरहेको छ। कम सञ्चालन खर्च र वातावरणमैत्री विकल्पका रूपमा लोकप्रिय बन्दै गएको ईभी स्कुटरप्रति उपभोक्ताको आकर्षण बढे पनि गुणस्तरमा देखिएको कमजोरीले भने उनीहरूको विश्वास खुम्चिँदै गएको छ।
ईभी स्कुटरको 'क्रेज'ले धेरै उपभोक्तालाई आकर्षित गरे पनि बजारमा नयाँ-नयाँ ब्रान्डको अनियन्त्रित प्रवेश र गुणस्तरहीन उत्पादनका कारण उपभोक्ता ठूलो मारमा परेका छन्। कम्पनीको दाबी र स्कुटरको वास्तविक अवस्थाबीच देखिएको ठूलो भिन्नताले ईभी प्रविधिमाथिको विश्वास नै डगमगाउँदै गएको छ।
गुणस्तरमा सम्झौता, उपभोक्तामा असर
नेपाली बजारमा अहिले दर्जनौं ईभी ब्रान्ड उपलब्ध छन्। तीव्र प्रतिस्पर्धाका कारण कतिपय आयातकर्ताले नाफाका लागि गुणस्तरमा सम्झौता गर्दै चीनबाट सस्तो स्कुटर भित्र्याएका छन्। यसको प्रत्यक्ष असर उपभोक्तामा परेको धेरै ईभी प्रयोगकर्ताको गुनासो छ।
नेपाली बजारमा बिक्री हुने ईभी स्कुटर एकदमै कमजोर हुने ईभी प्रयोगकर्ता कविता न्यौपाने बताउँछिन्। "पेट्रोल हाल्नुपर्दैन, चार्ज गर्दा खर्च कम लाग्छ भनेर ईभी स्कुटर खरिद गरें। अहिले सधैँ बिग्रेर मात्रै बस्छ," उनले भनिन्, "सस्तोमा पाएकाले ईभी किनें, अहिले मर्मत गराउँदै-गराउँदै हैरान भइसकें।"
ईभीमा प्रयोग भएका पार्टपुर्जा कमजोर हुने र फेर्नुपर्दा एकदमै महँगो पर्ने उनको भनाइ छ। "ईभीका पार्टपुर्जा स्कुटर खरिद गरेको कम्पनीमा मात्र पाइन्छ, त्यो पनि एकदमै महँगो। अब यो स्कुटर बेच्ने सोचमा छु, तर सेकेन्ड ह्यान्डमा लिने मान्छे भेट्टाउन मुश्किल रहेछ।"
संचालन खर्च कम, तर मर्मत खर्च बढी
ललितपुरकी अनुराधा बस्नेत संचालन खर्च कम लाग्ने लोभमा ईभी स्कुटर खरिद गरे पनि यसमा धेरै समस्या आइरहेको बताउँछिन्। "संचालन खर्च कम लाग्छ भनेर करिब डेढ वर्षअघि ईभी स्कुटर खरिद गरें," बस्नेत भन्छिन्, "तर किनेको ५-६ महिना नबित्दै समस्या आउन थाल्यो।" नेपाली बजारमा आयात भएका ईभी स्कुटर गुणस्तरहीन रहेको उनको भनाइ छ। बजारमा नयाँ-नयाँ ब्रान्डको तीव्र प्रवेश र आकर्षक छुट योजनाले माग बढाए पनि गुणस्तरमा आएका विभिन्न समस्याले उपभोक्ताको विश्वासमा गम्भीर धक्का पुगेको छ।
पार्टपुर्जाको समस्या प्रमुख
अर्की ईभी प्रयोगकर्ता सुनिता तामाङका अनुसार स्कुटर किनेको ६ महिनामै एसीसीबी (अन-अफ गर्ने स्विच) बिग्रियो। त्यसको मात्रै एक हजार रुपैयाँ तिरेर मर्मत गरेको उनले बताइन्। "मैले इलेक्ट्रिक स्कुटर किनेको करिब २ वर्ष भयो। किनेदेखि नै समस्या आउन थाल्यो," तामाङ भन्छिन्, "स्कुटरको ब्रेक सु महिनाभित्रै फेर्नुपर्छ, जसको ५ सय रुपैयाँ पर्छ। १८ हजार किलोमिटर गुडेपछि टायर अर्को फेरें। यति मात्र होइन, किनेको दुई वर्षमा स्कुटरको च्यासबोर्डमा जोडिएको पाइप भाँचियो, त्यसको मर्मत गराउँदा ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्यो।"
उनका अनुसार अहिले पनि स्कुटरको ड्यासबोर्ड जोडिएको पाइप बाङ्गो छ। चार्जर वर्षदिनमा दुई पटक परिवर्तन भइसकेको छ। नेपालमा आउने इलेक्ट्रिक स्कुटर भरपर्दो नभएको तर्क तामाङले गरिन्।
कम्पनीको दाबी र वास्तविकता
"स्कुटर खरिद गर्दा स्कुटरको रेन्ज ६० किलोमिटरको दाबी गरिएको थियो, तर यसको रेन्ज ४० किलोमिटर पनि पाउन मुश्किल भयो। अहिले त बढीमा ३० किलोमिटर मात्रै दिन्छ," उनी भन्छिन्।
उनले थपिन्, "इलेक्ट्रिक स्कुटरको ब्याट्रीमा मात्र ग्यारेन्टी दिइएको हुन्छ, तर स्कुटरको बडी पार्ट कमजोर हुने रहेछ, जसले गर्दा पैसा धेरै खर्च हुन्छ। इलेक्ट्रिक स्कुटर खरिद गर्नुको मुख्य कारण पेट्रोलको रकम बचाउनु हो, तर अन्य खर्च बढी हुन्छ। सामग्री एउटै ठाउँमा मात्र पाइने भएकाले जति रकम पर्ने भनेपनि तिर्नुपर्ने अवस्था छ।" इलेक्ट्रिक स्कुटरमा प्रयोग भएका सामग्री एकदमै कमजोर हुने गुनासो उनले गरिन्।
बजार 'बूम'मा, तर चुनौती गम्भीर
नेपालमा ईभी स्कुटरको बजार अहिले एक किसिमको 'बूम' अवस्थामा छ। आयात र बिक्री दुवैको तथ्यांकले ईभीको बजार हिस्सा बढिरहेको देखाउँछ। विशेषगरी महिला तथा सहरी क्षेत्रका यात्रुका लागि ईभी स्कुटर सुविधाजनक मानिएको छ। तुलनात्मक रूपमा कम सञ्चालन खर्च यसको प्रमुख आकर्षण हो।
बजारमा स्थापित पुराना ब्रान्डदेखि अनेकौं नयाँ र अपरिचित ब्रान्ड पनि प्रवेश गरेका छन्। ईभी स्कुटरको बढ्दो मागका बीचमा गुणस्तर र दिगोपनका प्रश्नले भने गम्भीर चुनौती खडा गरेका छन्। धेरै प्रयोगकर्ताले कम्पनीले दाबी गरेअनुसारको प्रदर्शन नपाएको गुनासो गरेका छन्।
आयात तथ्यांक : तीव्र वृद्धि
नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन आउन सुरु भएको करिब एक दशक भइसकेको छ। खासगरी सहरी र समथर भूभाग भएका ठाउँमा दुई पाङ्ग्रे ईभीको प्रयोग बढ्दै गएको छ।बाहिरी मुलुकबाट नेपालमा आयात हुने दुई पाङ्ग्रे ईभीको तथ्यांकले नेपालमा ईभीको राम्रै बजार तयार भइसकेको देखाउँछ। सरकारले नै ईभी सवारीसाधनलाई प्रोत्साहन गरेकाले ईभीप्रतिको चासो दिनप्रतिदिन बढ्दै गएको छ।
नेपालमा आर्थिक वर्ष २०७४/७५ मा ३४७ युनिट ईभी बाइक तथा स्कुटर आयात भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा भने ११ हजार ३२० युनिट ईभी बाइक तथा स्कुटर आयात भएको भन्सार विभागले जनाएको छ।
बिक्रीपछिको सेवा : कमजोर कडी
ईभीको आयात तथा बिक्री बढे पनि बिक्रीपछिको सेवा र यसको गुणस्तरमा भने कम्पनीले ध्यान दिएका छैनन्। नेपालमा भित्रिएका नयाँ-नयाँ ब्रान्डका शोरुम एक ठाउँबाट अर्को ठाउँमा सर्ने वा हराउने क्रम बढ्दो छ। केही स्थापित व्यवसायिक घरानाले भित्र्याएका स्कुटर ब्रान्ड समेत टिक्न नसकी बन्द भएका छन्।
नाम चलेका ब्रान्डले समेत बिक्रीपछिको सेवामा ध्यान नदिएको गुनासो आइरहेको छ। नेपाली बजारमा आएका धेरै ब्रान्ड बजारबाट हराए पनि केही ब्रान्डले भने आफूलाई मजबुत रूपमा स्थापित गर्दै लगेका छन्। लगभग १ दर्जन ब्रान्ड अहिले नेपालमा बिक्री र सेवामा केन्द्रित हुँदै बजार विस्तार गरिरहेका छन्।