नेपालमा नयाँ निर्वाचनपछि बनेको नयाँ सरकारसामु अवसर र चुनौती दुवै छन्। विशेषगरी मुलुकको आर्थिक मन्दी र विदेशी मुद्रा सञ्चितिको दबाबलाई चिर्न पर्यटन नै सबैभन्दा अचुक औषधी हुन सक्छ। पर्यटन ‘लङट्रम’ व्यवसाय हो, जहाँ लगानी प्रतिफल आउन केही समय लागे पनि यसले दिने नतिजा दिगो र बहुआयामिक हुन्छ। यसलाई हामीले अदृष्य निर्यातका रूपमा बुझ्नुपर्छ, जसले प्रत्यक्ष रूपमा विदेशी मुद्रा आर्जन गराउँछ।
पर्यटन क्षेत्रको विकासका लागि पहिलो सर्त नीतिगत स्थिरता हो। सरकार परिवर्तन भइरहने तर नीति नबदलिने वातावरण निर्माण हुनुपर्छ। पर्यटनलाई उद्योगको रूपमा घोषणा त गरिएको छ, तर व्यवहारमा त्यसको कार्यान्वयन फितलो छ। देशमा उत्पादित बिजुलीको महसुल दर होटललाई उद्योगसरह दिइएको छैन। यदि होटललाई औद्योगिक दरमा बिजुली उपलब्ध गराउने हो भने ग्यास र अन्य इन्धन आयात प्रतिस्थापन गरी पूर्ण रूपमा विद्युतीय ऊर्जामा जान सकिन्छ, जसले लागत घटाउनुका साथै वातावरणमैत्री पर्यटन प्रवर्द्धन गर्छ।
अहिले नेपालभरि हस्पिटालिटी क्षेत्रको विस्तार भएको छ। तर, अझै पनि धेरै होटल दर्ता र नियमन दायरा बाहिरै छन्। पर्यटक सानो होटलमा बसुन् वा ठूलोमा। तिनको अनुभवले समग्र नेपालको इमेज झल्काउँछ। त्यसैले, सुरक्षा र गुणस्तर सुनिश्चित गर्न सबै खाले होटलको दर्ता र मापदण्ड पालना अनिवार्य गरिनुपर्छ। सरकारले विलासिता कर थोपरेर व्यवसायीलाई निरुत्साहित गर्नुभन्दा करको दायरा बढाउनेतर्फ ध्यान दिनु आवश्यक छ।
पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चल्न पनि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार हुनैपर्छ। थाई उदाहरण हेर्ने हो भने बैंककको मुख्य विमानस्थल बलियो भएपछि मात्र अन्य पर्यटकीय क्षेत्रमा पर्यटक प्रवाह बढेको देखिन्छ। तसर्थ, एसियाली विकास बैंक (एडिबी)को सहयोगमा बन्ने भनिएको टर्मिनल २ को निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउनुपर्छ। काठमाडौंको कनेक्टिभिटी सुध्रिनासाथ अन्य क्षेत्रको पर्यटन व्यवसाय स्वतः चलायमान हुनेछ।
वर्तमान समयमा युवामा देखिएको चरम निराशा र पलायन रोक्ने सामथ्र्य पर्यटन क्षेत्रसँग छ। अन्तर्राष्ट्रिय ब्रान्डका होटल नेपाल भित्रिने क्रम बढ्दो छ, जसले गर्दा विदेशमा सीप सिकेका नेपालीलाई स्वदेशमै काम गर्ने अवसर मिल्नेछ। पर्यटनले तल्लो तहसम्मै रोजगारी सिर्जना गर्ने भएकाले यसले गरिबी निवारणमा पनि ठूलो योगदान पुर्याउँछ।