काठमाडौं। नेपालको राजनीतिक बहसमा "पुरानाले केही गरेनन्, मुलुक भ्रष्टाचार र अराजकतामा डुब्यो" भन्ने भाष्य यति हाबी छ कि धेरैले यसलाई नै यथार्थ मान्न थालेका छन् । तर सरकारकै तथ्यांकले यो भाष्यलाई चुनौती दिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै सार्वजनिक गरेका आर्थिक स्थितिपत्रअनुसार पछिल्लो एक दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादन, विद्युत उत्पादन, राजस्व संकलन, साक्षरता दर, विदेशी मुद्रा सञ्चितिलगायत प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार आएको छ ।
विवरणअनुसार, भूकम्पको वर्ष २०७२/७३ मा नेपालको कुल अर्थतन्त्र २६ खर्ब ८ अर्ब रुपैयाँ थियो । २०८१/८२ मा यो आँकडा ६१ खर्ब ७ अर्ब पुगेको छ। एक दशकमा झण्डै दुई गुणाको विस्तार देखिन्छ। सोही अवधिमा प्रतिव्यक्ति आय ८९९ अमेरिकी डलरबाट बढेर १,५१७ डलर पुगेको छ । आर्थिक वृद्धिदर भूकम्पको वर्ष ०.४३ प्रतिशतमा झरेकोमा अहिले ४.६१ प्रतिशतमा पुगेको छ ।
एक दशकको सबैभन्दा परिवर्तनमध्ये एक हो— विद्युत क्षेत्र । २०७२/७३ मा जम्मा ६९७ मेगावाट विद्युत उत्पादन क्षमता रहेकोमा अहिले ४ हजार १०५ मेगावाट पुगेको छ, अर्थात् करिब ६ गुणा वृद्धि । यसैसँगै देशको ९९ प्रतिशत जनसंख्याको घरमा विद्युत पुगेको अर्थमन्त्रालयको दाबी छ । घन्टौं लोडशेडिङले जनजीवन ठप्प पार्ने नेपाल अहिले छिमेकी मुलुकमा बिजुली बेच्ने अवस्थामा पुगेको छ ।
कालोपत्रे सडकको लम्बाइ ११ हजार ७९८ किलोमिटरबाट बढेर २० हजार २०२ किलोमिटर पुगेको छ । राजस्व संकलन ४ खर्ब ५ अर्बबाट बढेर ११ खर्ब ७९ अर्ब पुगेको छ। झण्डै तेब्बर वृद्धि।
विदेशी मुद्रा सञ्चिति पनि सोही अवधिमा १० खर्ब ३९ अर्बबाट ३४ खर्ब १३ अर्ब पुगेको छ, जुन हाल १८.५ महिनाको आयात धान्न पर्याप्त रहेको अर्थ मन्त्रालयले जनाएको छ । तथ्यांकको सबैभन्दा मार्मिक पाटो भनेको मानव विकाससँग जोडिएका सूचकहरू हुन् । साक्षरता दर ५८ प्रतिशतबाट ७६.३ प्रतिशत पुगेको छ । गरिबीको रेखामुनि रहेको जनसंख्या २५.१६ प्रतिशत (२०६६/६७) बाट घटेर २०.२७ प्रतिशतमा झरेको छ ।
स्वास्थ्य क्षेत्रमा पनि उत्साहजनक सुधार देखिएको छ । मातृ मृत्युदर १९० बाट १५१ र शिशु मृत्युदर ३२ बाट २८ मा झरेको छ । नेपालीको औसत आयु अहिले ७१.४ वर्ष पुगेको छ । तर "मुलुकमा केही भएन" भन्नु र "जति हुनुपर्थ्यो, त्यति भएन" भन्नु दुई भिन्न कुरा हुन् । पहिलो दाबी तथ्यांकले खण्डन गर्छ, दोस्रो दाबी वैध राजनीतिक बहसको विषय हो । अतीतप्रति आँखा चिम्लनु जतिकै गलत हो, उसैगरी वास्तविक प्रगतिलाई पूर्णतः नकार्नु पनि यथार्थसम्मत छैन ।