काठमाडौं। नेपालको सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार र सवारी साधन मर्मतको प्रभाव थप बलियो देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा यस क्षेत्रको योगदान सबैभन्दा बढी रहेको देखाएको हो।
सरकारको पछिल्लो आर्थिक विश्लेषणअनुसार चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत क्षेत्रको योगदान १४.०९ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यो योगदान १३.७६ प्रतिशतमा सीमित थियो।
वस्तु आयात, कृषि उत्पादन तथा व्यापारिक गतिविधिमा आएको विस्तारसँगै थोक तथा खुद्रा व्यापार तथा गाडी मोटरसाइकल मर्मत सेवा क्षेत्रको अर्थतन्त्रमा योगदान बढ्दै गएको छ। चालू आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ४.५१ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.८८ प्रतिशत थियो।
पछिल्लो दशकको औसत हेर्दा यस क्षेत्रको वार्षिक वृद्धिदर ४.२७ प्रतिशत रहेको छ। जीडीपीमा औसत योगदान १४.८५ प्रतिशत रहेको देखिएको छ। वस्तु आयातमा वृद्धि, कृषि उत्पादनको बजार विस्तार तथा व्यापारजन्य गतिविधिमा आएको सुधारले यस क्षेत्रलाई थप गतिशील बनाएको आर्थिक सर्वेक्षणले देखाएको छ।
यस्तै, यातायातका साधनको आयात, आन्तरिक तथा विदेशी पर्यटकको संख्यामा भएको वृद्धि र थोक तथा खुद्रा व्यापार क्षेत्रमा भएको वृद्धिका कारण आर्थिक वर्ष २०८२/८३ मा यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.७९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ७.०७ प्रतिशत रहेको थियो। विगत दश वर्षको यस क्षेत्रको कुल मूल्य अभिवृद्धिको औसत वृद्धिदर ४.९८ प्रतिशत रहेको छ।