काठमाडौं। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षमा सवारी साधन र तिनका पाटपुर्जाहरू (स्पेयर पार्ट)को आयातमा उल्लेख्य वृद्धि भएको छ। मुलुकमा यातायातका साधनको माग बढेसँगै भारत, चीन र अन्य मुलुकहरूबाट हुने आयातको आकार फराकिलो बनेको सर्वेक्षणले देखाएको हो।
आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा भारतबाट ५५ अर्ब ६६ करोड १० लाख रुपैयाँ बराबरका यातायातका साधन र पाटपुर्जाहरू आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारतबाट ४० अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको यस्तो आयात भएको थियो। यसरी हेर्दा भारतबाट हुने सवारी साधनको आयातमा मात्रै एक वर्षमा करिब १५ अर्ब रुपैयाँको वृद्धि भएको देखिन्छ।
चीन र अन्य मुलुकबाट हुने आयात चीनबाट हुने सवारी साधन र पाटपुर्जाको आयातमा पनि क्रमिक सुधार देखिएको छ। चालू आर्थिक वर्षको आठ महिनामा चीनबाट ४ अर्ब ५४ करोड २० लाख बराबरका यातायातका साधन र पाटपुर्जा आयात भएका छन्। जुन अघिल्लो वर्ष ३ अर्ब ९९ करोड ८० लाख मात्र थियो।
यस्तै, भारत र चीनबाहेक अन्य मुलुकहरूबाट ६ अर्ब ९९ करोड ७० लाख बराबरको आयात भएको सर्वेक्षणमा उल्लेख छ। समग्र व्यापार र आयातको प्रवृत्ति सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा नेपालको कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड पुगेको छ। यस अवधिमा भारतबाट हुने कुल आयात ५.१ प्रतिशतले बढ्दा चीनबाट हुने आयातमा भने २१.२ प्रतिशतको उच्च वृद्धि देखिएको छ।
सवारी साधन र पाटपुर्जाको बढ्दो आयातले बजार चलायमान रहेको र यातायात क्षेत्रको योगदान बढ्दै गएको संकेत गरे पनि यसले व्यापार घाटामा समेत चाप थपेको सर्वेक्षणले औँल्याएको छ।
आर्थिक क्षेत्रमा प्रभाव सवारी साधनको आयात र प्रयोगमा भएको वृद्धिले मुलुकको यातायात तथा भण्डारण क्षेत्रको विस्तारमा मद्दत पुर्याएको छ। यस वर्ष यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.७९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
साथै, थोक तथा खुद्रा व्यापार र गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदर ४.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। थोक मूल्य र ज्याला दर आर्थिक सर्वेक्षणअनुसार सवारी साधन तथा सम्बन्धित उत्पादनको थोक मूल्य सूचकाङ्क २.२ प्रतिशतले वृद्धि भएको छ।
यस्तै, सवारी साधन र मोटरसाइकल मर्मत क्षेत्रमा कार्यरत कर्मचारीको तलब तथा ज्याला सूचकाङ्कमा ७.३५ प्रतिशतले वृद्धि भएको पाइएको छ। जुन अन्य धेरै क्षेत्रको तुलनामा उच्च हो।