काठमाडौं । देशभर लगाइएको निषेधाज्ञा पूर्णरूपमा नहटेका कारण कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारले सम्बोधन नगर्ने देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार भदौ २५ भित्रै कर चुक्ता र विवरण पेश गर्नुपर्ने यसअघिको व्यवस्थामा समयावधि थप नभएको हो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर निजीक्षेत्रले समयावधि बढाउन आग्रह गरे पनि थप नभएकाले अवधि नाघेपछि कर भुक्तानी गर्न आउनेलाई नियमानुसार जरीवाना लाग्ने बताउँछन् ।
‘निजीक्षेत्रले समय माग गरेको छ । हामीले अर्थलाई जानकारी पनि गरायौं तर मन्त्रालयबाट कुनै निर्णय भएन,’ उनले भने ।
कुँवरका अनुसार अब मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क जुनमा दर्ता भएको हो, त्यसलाई पहिलेकै नियमानुसार विलम्ब शुल्क, ब्याज र जरीवानासहित करदाताले कर चुक्ता गर्नुपर्नेछ ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ २४ गते बुधवारसम्म १२ अर्ब राजस्व संकलन भएको छ । बिहीवार मध्यरातसम्म ५/६ अर्बले राजस्व संकलन बढ्ने विभागका अधिकारीहरूको अनुमान छ । नियमानुसार प्रत्येक वर्षको चैत २५ भित्र विभिन्न प्रकारका करको विवरण र त्यसको किस्ता बुझाउनुपर्ने हुन्छ । त्यसपछि असार मसान्तसम्म सम्पूर्ण कर चुक्ता गरिसक्नुपर्छ ।
तर, गत आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीले व्यवसायी तथा सर्वसाधारण समस्यामा परेपछि सरकारले केही सहुलियत घोषणा गरेको थियो ।
असारमा आर्थिक वर्ष सकिएसँगै गतवर्ष दिइएको सहुलियतको म्याद पनि समाप्त भएको र थप नगरिएको अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका एक उच्च अधिकारीले बताए ।
चालू आर्थिक वर्षमा आर्थिक ऐन, २०७७ मा उल्लेख भएका सहुलियतबाहेक अरू सहुलियतको निर्णय नगरेकाले कानूनअनुसार नै कर तिर्नुपर्ने उनको भनाइ छ ।
अर्थ मन्त्रालयले २२ भदौदेखि २५ सम्म सबै राजस्व काउन्टर खुला गर्न र राजस्व बुझाउन जाने करदातालाई सहज वातावरण सृजना गरिएकाले समयावधि नथपिएको बताएको छ ।
राजस्व विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डे १ लाख ५ हजार करदाताले समयमै कर विवरण र बुझाउनुपर्ने राजस्व दाखिला गरिसकेको बताउँछन् ।
उनका अनुसार भदौ २० सम्म राजस्व संकलन न्यून संकलन भए पनि त्यसयता सुधारोन्मुख बनेको थियो । सरकारी आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले बुधवारसम्म सरकारी खातामा ८९ अर्ब ६९ करोड आम्दानी भएको देखाएको छ । सरकारले यो अवधिमा ४९ अर्ब ५८ करोड बजेट खर्च गरेको तथ्यांकले देखाउँछ ।