मङ्गलबार, कात्तिक २ २०७८ ०४:४८ AM

×

भारुसँग स्थिर विनिमय दरका कारण नेपालले गरीवी न्यूनीकरणमा सफलता पाएको छ 

images

विदेशी विनिमय दर प्रणालीले अर्थतन्त्रमा पार्ने प्रभाव समष्टिगत र क्षेत्रगत गरी दुई किसिमले विश्लेषण गर्न सकिन्छ । प्राज्ञिकहरुबाट विदेशी विनिमय दर प्रणालीको समष्टिगत अर्थतन्त्रमा प्रभाव बारे बढी अध्ययन अनुसन्धान भएको पढन पाइन्छ । त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत बहुराष्ट्रिय दातृ संस्थाहरुले पनि समष्टिगत आर्थिक व्यवस्थापनलाई जोडेर विदेशी विनिमय दर प्रणालीको प्रभावबारे अध्ययन अनुसन्धान तथा विश्लेषण गरेको देखिन्छ ।

नेपालमा पछिल्लो समय विदेशी विनिमय दर प्रणालीको सम्मष्टिगत अर्थतन्त्रमा प्रभाव वारे कम तर क्षेत्रगत प्रभाव वारे वढी चासो रहेको र त्यही अनुरुप विनिमय दर प्रणालीका वारे टिका टिप्पणी भएको सुनिन्छ । खास गरी भारतसँगको व्यापार घाटा, कृषि, पर्यटन र वैदेशिक विप्रेषण आप्रवाहरुसँग जोडेर मुलुकले रोजेको विदेशी विनिमय दर प्रणालीको विश्लेषण तथा टिका टिप्पणी हुने गरेको छ । यस पृष्टभुमिमा विदेशी विनिमय दर प्रणालीको प्रभाव वारे राष्ट्रिय निष्कर्षमा पुग्न समष्टिगत र क्षेत्रगत प्रभाव दुवैको विश्लेषण हुनुपर्ने देखिन्छ ।

विदेशी विनिमय दर प्रणालीको प्रभाव विश्लेषण गर्नु भन्दा पहिले नेपाल लगायत विश्वभर विदेशी विनिमय दर प्रणालीका वारे चासो किन बढिरहेको छ, त्यसको ऐतिहासिक सन्दर्भ जोडनु सान्दर्भिक देखिन्छ । नेपाल लगायत विश्वको विद्यमान विदेशी विनिमय दर प्रणाली सन १९७० को सुरुवाती वर्षहरुमा विटे«न उड्स प्रणाली भङ्ग भएपछी चरणवद्धरुपमा विकसित भएको हो ।

व्रिट्रन उड्स प्रणाली अर्थात् विश्व मौद्रिक प्रणाली समदरमा आधारित विदेशी विनिमय दर प्रणाली थियो । अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले अमेरिकी डलर र सुन बीचको सम्वन्ध विच्छेद सन १९७१ मा गरेपछि विद्यमान विदेशी विनिमय दर प्रणालीको विकास भएको हो । विटे«न उड्स प्रणाली भङ्ग भएपछि सदस्य राष्ट्रहरुले आफ्नो रोजाईको विनिमय दर पद्धति अवलम्बन गर्न थाले । कसैले करेन्सी वोर्ड, कसैले कुनै मुद्रा वा मुद्रा समूहसँग स्थिर आवद्धता र कसैले बजारमा आधारित परिवर्तनशील विनिमय दर प्रणाली अवलम्बन गरे अर्थात् आफ्नो रोजाईको उपयुक्त किसिमको विदेशी विनिमय दर प्रणाली अनुसरण गरे ।

नेपालले २०१७ देखि भारुसँग स्थिर तर समायोजन गर्न सकिने विदेशी विनिमय दर निर्धारण प्रणाली सम्बन्धी अध्ययन प्रतिवेदन र अन्य मुद्राहरुसँग २०४९ देखि बजारमा आधारित द्वैध विदेशी विनिमय दर प्रणाली अवलम्बन गर्दै आएको चर्चा भईसकेको छ । विनिमय दर अर्थतन्त्रको महत्वपूर्ण मुल्य भएकोले पनि मुलुकले अवलम्बन गरेको विदेशी विनिमय दर प्रणाली प्रति चासो बढ्न थालेको हो । उदाहरणका लागि मुद्राको अवमूल्यन हुदा निर्यात सस्तो हुन्छ, निर्यात बढछ र त्यसैले निर्यात कर्ताले चासो लिएको हुन्छ । यही क्रममा केही रोजगारी बढछ ।

नेपालले २०१७ देखि भारुसँग स्थिर तर समायोजन गर्न सकिने विदेशी विनिमय दर निर्धारण प्रणाली सम्बन्धी अध्ययन प्रतिवेदन र अन्य मुद्राहरुसँग २०४९ देखि बजारमा आधारित द्वैध विदेशी विनिमय दर प्रणाली अवलम्बन गर्दै आएको चर्चा भईसकेको छ । विनिमय दर अर्थतन्त्रको महत्वपूर्ण मुल्य भएकोले पनि मुलुकले अवलम्बन गरेको विदेशी विनिमय दर प्रणाली प्रति चासो बढ्न थालेको हो । उदाहरणका लागि मुद्राको अवमूल्यन हुदा निर्यात सस्तो हुन्छ, निर्यात बढछ र त्यसैले निर्यात कर्ताले चासो लिएको हुन्छ । यही क्रममा केही रोजगारी बढछ ।

तर कतिपय अवस्थामा मुद्रा अवलम्बनले मुद्रास्फिति गराउने भएकोले सर्वसाधारणले विदेशी विनिमय दर प्रणाली प्रति चासो राख्छन् । मुद्रा अवमूल्यनले आयात महगों गराउछ भने पर्यटकको लागि सस्तो गराउछ र पर्यटन व्यवसायीको आम्दानी बढदछ । मुद्रा अवमूल्यनले विदेश भ्रमण, पठन पाठन र औषधी उपचार महंगो गराउने भएकोले कतिपयले आफ्नो मुद्रा बलियो भएको हेर्न चाहन्छन् । यही कारणले पनि विदेशी विनिमय दर प्रणाली रोजाईको समष्टिगत तथा क्षेत्रगत छुट्टाछुट्टै प्रभाव विश्लेषण चर्चा पाउन थालेको हो ।

समष्टिगत अर्थतन्त्रमा प्रभाव विदेशी विनिमय दर प्रणालीको समष्टिगत अर्थतन्त्रमा प्रभाव निम्न तीन आर्थिक तथा वित्तीय स्थितिको आधारमा विश्लेषण गर्न सकिन्छ: 

(क) मुद्रास्फिति, (ख) आर्थिक वद्धि र (ग) मुद्रा संकट 

मुद्रास्फिति 

अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत प्राज्ञिकहरुबाट भएका थुप्रै अध्ययन अनुसन्धानहरु स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्ने मुलुकहरुमा मुद्रास्फिति दर तुलनात्मक रुपले न्यून रहेको देखाएका छन् । उदाहरणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष बाट भएको अध्ययन अनुसार स्थिर विनिमय दर प्रणाली भएको विकासोन्मुख मुलुकहरुमा वार्षिक औसत ८ प्रतिशत मुद्रास्फिति रहेको तुलनामा परिवर्तनशील विनिमय दर प्रणाली भएको मुलुकहरुमा वार्षिक औसत १६ प्रतिशत मुद्रास्फिति रहेको देखिन्छ । त्यस्तैगरी वारम्वार स्थिर विनिमय दर परिवर्तन गर्ने मुलुकहरुमा त्यस्तो नगर्ने मुलुकहरुको तुलनामा उच्च मुद्रास्फिति रहने देखाएको छ ।

अध्ययनहरुले स्थिर विनिमय दर प्रणाली भएका मुलुकहरुमा न्यून मुद्रास्फिति रहनुका दुईटा कारणहरु देखाएका छन् । पहिलो कारण स्थिर विनिमय दर प्रणालीेले वढी नीतिगत अनुशासन कायम गराउनु हो भने दोस्रो मुद्रामा सर्वसाधरणको वढी विश्वास जगाउनु हो । वित्तीय अनुशासन प्रभाव विदेशी विनिमय दर निर्धारण प्रणाली सम्बन्धी अध्ययन प्रतिवेदन र विश्वास प्रभाव कारण मुद्रास्फितिलाई न्यून स्तरमा कायम गर्न सकिने भएकोले कतिपय अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुले स्थिर विनिमय दर प्रणाली अवलम्बन गरिराखेका छन् ।

कतिपय विकासोन्मुख मुलुकहरुमा नाममा स्थिर विनिमय दर प्रणाली रहने तर वारम्वार मुद्रा अवमूल्यन गरिरहने प्रवृत्तिका कारण उच्च मुद्रास्फितिको जोखिम रहने हुन्छ । कुल गार्हस्थ्य उत्पादनमा आयातको अंश उच्च भएका मुलुकहरुमा विनिमय दरको परिवर्तनका कारण उच्च मुद्रास्फितिको खतरा रहने गर्दछ । मुद्रा अवमूल्यनले आयातीत वस्तु, कच्चा पदार्थ र पूँजीगत वस्तुको मुल्य प्रभावित गरी मुद्रास्फितिको जोखिम बढाउँछ । पेट्रोलियम पदार्थ आयात गर्ने मुलुकहरुमा मुद्रास्फितिको बढी जोखिम हुन्छ ।

नेपालले २०१७ देखि भारुसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्दै आएको ६० वर्ष भएको छ । आर्थिक वर्ष ०२९/०३० देखि यता ४८ वर्षको राष्ट्रिय उपभोक्ता सूचकाकंमा आधारित मुद्रास्फिति तथ्याङ्ग उपलव्ध छ । विगत ४८ वर्ष यताका ३६ वर्षहरुमा नेपालको मुद्रास्फिति एकल अंकमा रहेको छ भने १२ वर्षमा दुई अंकको रहेको छ । राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र वारम्वार खडेरीको स्थिति व्यहोरेका मुलुक नेपालमा अधिकाँश समय मुद्रास्फिति एकल अंकमा रहनुमा स्थिर विनिमय दर प्रणालीको मुख्य योगदान रहेको छ ।

विगत केही वर्षयता निरपेक्ष गरिवीको रेखामुनि रहेका जनसंख्याको अनुपातमा उल्लेख्य कमि आउनुमा विप्रेषण आप्रवाहका अतिरिक्त न्यून मुद्रास्फिति समेतको भूमिका रहेको छ । खुला सीमाना कायम गरेको र कुल गार्हस्थ्य उत्पादनसँग आयातको उल्लेख अंश रहेको नेपाल जस्तो मुलुकमा स्थिर विनिमय दरले लोक कल्याणकारीको भूमिका खेल्ने भएकोले नेपालले भारु सँगको स्थिर विनिमय दर प्रणाली यथावत कायम राखेको हो ।

आर्थिक वृद्धि 

मुलुकले रोजेको विनिमय दर प्रणालीको आर्थिक विकासमा प्रभावका वारेमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई वटा माध्यमको चर्चा हुने गरेको छ । रोजेको विनिमय दर प्रणालीको बाह्य धक्का वहन गर्ने क्षमता प्रत्यक्ष च्यानल हो भने व्यापार, लगानी, वित्तीय बजार विकास र उत्पादकत्व प्रभाव अप्रत्यक्ष च्यानलहरु हुन । स्थिर विनिमय दर प्रणालीले बाह्य धक्काको आफै वहन गर्दैन । स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको मुलुकहरुमा बाह्य धक्काको पहिलो प्रभाव विदेशी विनिमय संचितिमा पर्छ ।

बाह्य धक्काका कारण विदेशी विनिमय संचितिमा परिरहेको चापलाई न्यूनीकरण गर्न कसिलो मौद्रिक नीति अवलम्बन गर्नु पर्ने हुन्छ । कसिलो मौद्रिक नीतिले ब्याजदर बढाउँछ । बजार ब्याजदर बढदा मुलुकमा लगानी घटने हुन्छ । यस्को प्रतिकुल प्रभाव आर्थिक वृद्धिमा पर्ने हुन्छ । तर परिवर्तनशील विनिमय दर प्रणाली अवलम्बन गरेको मुलुकमा बाह्य धक्का विनिमय दरले वहन गर्ने भएकोले आर्थिक वृद्धिमा प्रत्यक्ष प्रभाव पर्दैन ।

उच्च पुँजी चलायमान भएको मुलुकमा “पेग” लाई थाम्न चुनौतीपूर्ण ब्याजदरलाई कती बढाउने भन्ने चुनौती हुन्छ । तसर्थ “पेग” दीगो हुँदैन, मन्दी निम्ताउने जोखिम हुन्छ । अन्तर्राष्ट्रिय व्यापार र लगानी जस्ता अप्रत्यक्ष माध्यमको आर्थिक विकासमा रोजेको विनिमय दर प्रणालीको प्रभाव आर्थिक वातावरणको विश्लेषणका आधारमा गरिन्छ । स्थिर विनिमय दर प्रणालीले कारोबार लागत अर्थात विनिमय दर जोखिम घटाउने तथा नीतिगत स्थिरता सुनिश्चित गर्ने भएकोले अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवद्वन गर्न विश्वास गरिएको हुन्छ ।

अन्तर्राष्ट्रिय व्यापार र लगानीले आर्थिक विकासमा पार्न सक्ने प्रभावको विश्लेषण गर्ने आधार एग्रिगेट डिमान्ड आईटेन्टिटी हो । माथिको आईटेन्टिटी अनुसार खुद निर्यात बढदा कुल गार्हस्थ्य उत्पादन बढने हुन्छ । त्यसै गरी निजी क्षेत्रको लगानी बढ्दा पनि कुल गार्हस्थ्य उत्पादनमा विस्तार आउने हुन्छ । भनिन्छ जुन देशमा बलियो सरकार, गतिशील अर्थतन्त्र र स्थिर मुद्रा हुन्छ त्यो देशमा बाह्य पुँजी भित्रिन्छ । केन्द्रीय बैैंकले चासो पूर्वक हेर्ने भनेकै रोजेको विनिमय दर प्रणालीको समष्टिगत माग र यसले अर्थतन्त्रमा पार्ने प्रभाव हो ।

कतिपय विकासोन्मुख मुलुकहरुले अनिश्चिता घटाउछ, ब्याजदर उतारचढाव पनि न्यूनीकरण गर्छ र यही कारण व्यापार र लगानीको वातावरण वन्छ भन्ने विश्वासमा स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेका हुन्छन्। विनिमय दर जोखिम घटाउने हेजिग र अग्रिम बजार जस्ता सुरक्षण औजारहरु भए परिवर्तनशील विनिमय दर प्रणालीले राम्रो गर्न सक्छ । त्यसैले रोजेको विनिमय दर प्रणालीको प्रभावकारिता वित्तीय क्षेत्रको विकासमा पनि निर्भर रहन्छ ।

वित्तीय क्षेत्रको राम्रो विकास भएको, अन्तरदेशीय पुँजी प्रवाह राम्रो रहेको मुलुकमा परिवर्तनशील विनिमय दर प्रणालीको आर्थिक विकासमा राम्रो प्रभाव रहने विश्वास गरिएको हुन्छ । विदेशी विनिमय दर प्रणाली रोजाईको आर्थिक विकासमा प्रभाव पार्ने अर्को अप्रत्यक्ष माध्यम उत्पादकत्व वृद्धिमा बढी योगदान पुर्याउने विश्वास गरिन्छ । स्थिर विनिमय दर भएको मुलुकमा गलत विनिमय दर कायम रहने जोखिमले गर्दा स्रोतको दुरुप्रयोग हुन गई आर्थिक वृद्धिमा प्रतिकुल असर पर्ने हुन्छ ।

तर परिवर्तनशील विनिमय दरमा यो संभावना रहदैन र स्रोतको उपयोग कुशलपूर्वक हुने भएकोले उत्पादकत्व वृद्धि बढी हुने र आर्थिक वृद्धि उच्च रहने हुन्छ । विनिमय दर प्रणालीको रोजाईका कारण आर्थिक विकासमा प्रभाव पार्ने यी माध्यमहरु सैद्धान्तिक भन्दा पनि अध्ययन अनुसन्धानका विषयहरु हुन । अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत प्राज्ञिक समुदायले यी विषयहरुको अध्ययन अनुसन्धान पनि गरेका छन् ।

विकसित र विकासोन्मुख गरी ६० देश समेटेर गरेको एक अध्यनअनुसार विदेशी विनिमय दर प्रणाली रोजाईको प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष प्रभाव रहने देखाएको छ । स्थिर विनिमय दर प्रणाली भएका मुलुकहरुमा बढदो नीतिगत विश्वासले लगानीमा वृद्धि आई कुल गार्हस्थ उत्पादनमा २ प्रतिशत विन्दुले प्रभाव पार्न सक्ने यस्ता अध्ययनहरुले देखाएका छन् । त्यस्तै गरी परिवर्तनशील विनिमय दर प्रणाली भएका मुलुकहरुमा उत्पादकत्व बढी हुने भएकोले कुल गार्हस्थ्य उत्पादनमा १.७ प्रतिशत विन्दुले वृद्धि गराउने अध्ययनले देखाएका छन् ।

यी अध्ययनहरुले विदेशी विनिमय दर प्रणालीले विकसित मुलुकहरुमा केही फरक नपार्ने तर विकासोन्मुख मुलुकहरुमा भने फरक पर्ने देखाएका छन्। यस प्रकार विनिमय दर प्रणालीको प्रभावकारितामा मुलुकको विकासको स्तरले पनि प्रभाव पार्ने देखिएको छ । यसले असल वित्त, वित्तीय र मौद्रिक संस्थाहरुको विनिमय दर प्रणाली विकल्प होईन भन्ने सन्देश दिन्छ । विकासोन्मुख मुलुकहरुमा संस्थागत सुधारले विनिमय दर प्रणाली भन्दा राम्रो परिणाम दिन सक्छ भने सन्देश हो । निश्चयनै सरकारले सार्वजनिक ऋण बढाउदै लाने, बैंक तथा वित्तीय संस्थाहरुको राम्रो सुपरिवेक्षण नहुने र केन्द्रीय बैंकले पैसा छाप्दै जाने हो भने विनिमय दर प्रणालीले काम गर्न सक्दैन ।

मुद्रा सङ्कटको स्थिति 

मुद्रा सङ्कटअर्थात शोधनान्तर स्थितिको आधारमा पनि विदेशी विनिमय दर प्रणाली रोजाईको आर्थिक क्षेत्रमा प्रभाव विश्लेषण गर्ने प्रचलन छ । परिवर्तनशील भन्दा स्थिर विनिमय दर प्रणाली भएका मुलुकहरुले धेरैजस्तो मुद्रा संकट अर्थात् शोधनान्तर संकटको स्थिति व्यहोरेको देखिन्छ । मुद्रा संकट आउनुका तीन वटा सैद्धान्तिक आधार छन्, जसलाई तीन पुस्ताका मोडेलहरुको संज्ञा दिईन्छ । मुद्रा संकटको पहिलो पुस्ताको मोडेल सन १९७० को दशकतिर चर्चामा आएको हो ।

पहिलो पुस्ताको मोडेलले मुद्रा संकटको कारण ‘फण्डामेन्टल पोलिसी प्रोव्लेमलाई’ दिन्छ । स्थिर विनिमय दर भएको मुलुकमा बजेट घाटा तथा मौद्रिक विस्तार नियन्त्रण भएन भने मुद्रा संकट अर्थात् शोधनान्तर घाटाको स्थिति आउछ । घाटा वजेट तथा मुद्रा विस्तारले मुलुकमा महगीं बढाउछ र यथार्थ विनिमय दर अधिमुल्यन भई मुलुकको निर्यात प्रतिस्पधात्मक क्षमता घटने हुन्छ । यसले गर्दा व्यापार घाटा बढने र अन्ततोगत्वा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढाउन मुद्राको अवमुल्यन गर्नु पर्ने हुन्छ ।

मौद्रिक तथा वित्तीय अनुशासन कायम गर्न सकिएन भने स्थिर विनिमय दर प्रणाली भएको मुलुकले मुद्रा संकटको स्थिति व्यहोर्नु पर्ने पहिलो पुस्ताको मोडेलको सन्देश हो । मुद्रा संकट सम्वन्धी दोस्रो पुस्ताको मोडेल सन १९८० को दशकमा आयो । अर्थतन्त्रका फण्डामेन्टलहरु राम्रो हुदा हुदै पनि ‘स्पेकुलेटिभ अट्याकका’ कारण स्थिर विनिमय दर भएको मुलुकले मुद्रा संकटको स्थिति व्यहोर्नुपर्ने हुन्छ ।

स्पेकुलेटरहरुले स्थानिय मुद्रा बेच्न र आफ्नो लगानी फिर्ता लिन थाल्छन् । यस्तो अवस्थामा केन्द्रीय बैंकले ब्याजदर बढाउछ तर उच्च ब्याजदरले उपभोक्ता र लगानीकर्तालाई बैंकले ऋण मंहगो बनाउन थाल्छ । अन्ततोगत्वा सरकार ब्याजदर घटाउछ र मुद्राको अवमूल्यन गर्छ । यो मोडेलको सन्देश पुँजीखाता खुला गरिएको मुलुकमा स्थिर विनिमय दर प्रणालीले मुद्रा संकट ल्याउछ भन्ने हो ।

मुद्रा संकटसम्वन्धी तेस्रो पुस्ताको मोडेल सन १९९७ को दक्षिणपूर्व एसियाको वित्तीय संकटको प्रतिक्रिया स्वरुप आएको हो । यो मोडेलअनुसार फण्डामेन्टलहरु ठीकठाक भए पनि देशले अन्तर्राष्ट्रिय ऋण तिर्न सक्दैन । ऋण तिर्न ऋण लिनुपर्ने हुन्छ । यदि अन्तर्राष्ट्रिय लगानीकर्ता ऋण दिन तयार भएन भने मुलुक तरलता संकटमा फस्छ ।

यस्तो अवस्थामा मुद्रा अवमुल्यन गर्नुपर्ने हुन्छ । यो मोडेलले जुनसुकै विदेशी विनिमय दर प्रणाली अवलम्बन गरे पनि सम्भावित मुद्रा संकट अर्थात् बाह्य संकट टार्न मुलुकले निश्चित स्तरको विदेशी विनिमय संचिति कायम गर्नु पर्छ भन्ने सन्देश दिन्छ । 

विनिमय दर प्रणालीको नेपालमा प्रभाव 

नेपालले २०४९ पछि अवलम्बन गरेको विदेशी विनिमय दर प्रणालीको आर्थिक वृद्धिका कारकतत्वहरु माथिको प्रभाव मिश्रित प्रकृतिको देखिन्छ । नेपालको भारुसँग स्थिर विनिमय दर प्रणाली भएकाले भारत सँगको व्यापारमा थप कारोबार लागत र विनिमय दर जोखिम देखिदैन । डलरसँगको विनिमय दर भारतीय विदेशी विनिमय बजारले तय गर्ने भएकोले तुलनात्मक हिसावले व्यवस्थित छ ।

यस पृष्ठभूमिमा विद्यमान विनिमय दर प्रणालीको कारण नेपालको खुद निर्यातको अंश कुल गार्हस्थ उत्पादनमा बढदै जानु पर्ने हुन्छ । तर खुद निर्यातको अंश आर्थिक वर्ष ०४८/०४९ मा –९.६ प्रतिशत रहेकोमा आव ०७५/०७६ मा ३७.६ प्रतिशत कायम रहेको अवस्था छ । यसबीच आयातको अंश उल्लेख बढयो तर निर्यातको अंश क्रमशः घटदै गयो 
 

बाह्य व्यापारको कुल गार्हस्थ उत्पादनसँगको अंश (प्रतिशतमा)

कुल गार्हस्थ उत्पादनमा खुद निर्यातको अंश क्रमशः घटदै जानु भनेको नेपाली वस्तु तथा सेवा खुद निर्यातको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता घटदै जानु हो । यसका दुइवटा कारण हुन सक्छन् । पहिलो, नेपालको यर्थाथ विनिमय दर अधिमूल्यन भएर खुद निर्यात अनुपात खस्केको हुन सक्छ । दोस्रो, यस अवधिमा नेपालले आफ्नो उत्पादन क्षमतामा सुधार गर्न नसकेकोले पनि खुद निर्यात अनुपात क्रमशः घटदै गएको हुनुपर्छ । यो विषयले थप अध्ययन अनुसन्धानको माग गर्छ । आर्थिक वृद्धिको महत्वपूर्ण कारक तत्वको रुपमा रहेको पुँजी निर्माण अर्थात् लगानी अनुपात भने यो अवधिमा बढेको देखिन्छ । स्थिर विनिमय दर प्रणालीको लगानीमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

 पुँजी निर्माण अनुपात (प्रतिशतमा) 

कुल गार्हस्थ उत्पादनमा पुँजी निर्माणको अनुपात यो अवधिमा बढेता पनि आर्थिक वृद्धि अपेक्षित रहेको देखिदैन । नेपालको विनिमय दर प्रणालीको पछिल्लो संस्करण आव ०४९०५० देखि आव ०७६०७७ सम्मको २८ वर्षको वार्षिक औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत मात्र रहेको छ । 

आर्थिक वृद्धि दर (प्रतिशतमा) आव 

उच्च पुँजी निर्माण अनुपात रहदा रहदै आर्थिक वृद्धि न्यून रहनुको तात्पर्य नेपालमा पूँजीको उत्पादकत्व कम हुनु हो । माथि चर्चा गरिएअनुसार स्थिर विनिमय दर प्रणालीले उच्च पुँजी निर्माणको वातावरण वनायो र लगानी अनुपात पनि बढदै गयो तर बजारमा आधारित परिवर्तनशील विदेशी विनिमय दर प्रणाली जस्तो स्रोतको कुशल बाँडफाँड हुन नसक्दा उत्पादकत्व वृद्धि हुन सकेन र फलस्वरुप आर्थिक वृद्धिदर न्यून रहन गयो ।

आव ०३९/०४० देखि आव ०४१/०४२ का तीन वर्ष बाहेक नेपालले ठूलो स्केलको मुद्रा संकट अर्थात् शोधनान्तर भूक्तानी समस्या वेहोर्नु परेन । आर्थिक वर्ष २०३१/३२ देखि आव ०७६/०७७ सम्मको ४६ वर्षको अवधिमा नेपालले ५ पटक शोधनान्तर घाटाको स्थिति वेहोर्नु पर्यो । तर, आव ०३९/०४० देखि ०४/०४२ को अवधि बाहेक विदेशी विनिमय संचितिको समस्या भोग्नु परेन । प्रयाप्त मात्रामा विदेशी विनिमय संचिति रहेकोले आव ०३९/०४० देखि आव ०४/०४२ को शोधान्तर घाटाको अवस्था बाहेक अन्य समयको शोधनान्तर घाटाको अवस्थामा नेपालले आफ्नो मुद्राको अवमूल्यन गर्नु परेन । 

शोधनान्तर घाटा भएका वर्ष

शोधनान्तर घाटा भएका वर्ष व्यापार घाटा फराकिलो हुँदै जाँदा पनि पछिल्लो समयमा विदेशी विनिमय दर संचिति उल्लेख रहनुमा बढदो विप्रेषण आप्रवाहको महत्वपूर्ण भूमिका रहेको छ । बढदो विप्रेषण आप्रवाहका कारण नेपालले मुद्रा संकटको स्थिति पछिल्लो समयमा व्यहोर्नु परेको छैन । विगत २८ वर्षसम्म नेपालले विदेशी विनिमय दर प्रणाली र विनिमय दरमा कुनै परिवर्तन नगर्नुको एउटा कारण बढदो विप्रेषण आप्रवाहले गर्दा नीति निर्माताहरुमा आवश्यकताको वोध नहुनु पनि हो ।

राजनीतिक सङ्क्रमणको समयमा विनिमय दर प्रणाली र विनिमय दरमा परिवर्तन गरी संम्भावित आर्थिक अस्थिरताको जोखिम वढाउन नीति निर्माताले नचाहेको देखिन्छ । तेस्रो, पूर्वाधार तथा संस्थाको निर्माण र संरचनागत सुधार विना विनिमय दर प्रणाली र विनिमय दर परिवर्तनले अपेक्षित परिणाम दिन नसक्ने वुझाईका कारण पनि नीति निर्माताहरुले विदेशी विनिमय दर नीति विगत २८ वर्ष यथावत कायम गरेको देखिन्छ । चौथो, स्थिर विनिमय दर प्रणाली राज्यको लोक कल्याणकारी नीतिसँग पनि सम्बन्धित छ ।

अल्पविकसित देशहरुमा मुद्राको अवमूल्यनले अक्सर मुद्रास्फिति बढाउने हुन्छ । मुद्रा अवमूल्यनले केही क्षेत्र र केही व्यवसायीलाई मात्र लाभ पुग्ने तर सर्वसाधारण सबैले मुद्रा अवमूल्यनबाट सिर्जित उच्च मुद्रास्फितिको मार खेप्नु पर्ने हुन्छ । सबै भन्दा बढी मार गरिव मानिसहरुमा पर्छ । यही कारणले पनि नीति निर्माताहरुले विनिमय दर प्रणाली र विनिमय दर विगत २८ वर्षयता यथावत कायम गरेको देखिन्छ ।

क्षेत्रगत प्रभाव

नेपालमा भारुसँगको स्थिर विनिमय दर प्रणालीको क्षेत्रगत प्रभावका सन्दर्भमा सबैभन्दा बढी चर्चा कृषिको हुने गरेको छ । भारतसँग नेपालले कृषिका सम्वन्धमा प्रतिस्पर्धा गर्न नसक्ने भएकोले कृषि आयात बढी रहेको चर्चा हुने गरेको छ । नेरुको भारुसँग अवमूल्यन गरिएको भए वा बजारमा आधारित विनिमय दर प्रणाली अवलम्बन गरिएको भए नेपालमा कृषि फस्टाउने थियो भन्ने तर्क आउने गरेको छ ।

तर, कृषिको उत्पादन प्रविधिमा सुधार नगरी विनिमय दरलाई मात्र प्रयोग गर्दा दीर्घकालमा लाभ प्राप्त नहुने उल्टै मुल्य वद्धि भई आम नागरिकले मार खेप्नुपर्ने विश्लेषणको आधारमा नीति निर्माताहरुले विनिमय दर लामो समयसम्म यथावत राखेको देखिन्छ । विनिमय दर प्रणालीलाई पर्यटन क्षेत्रसँग पनि जोडेर विश्लेषण गरिन्छ । मुद्राको अवमूल्यन हुँदा विदेशी पर्यटक आर्कषित हुने तर्क पनि गरिन्छ ।  विनिमय दरमा स्थिरता भएन भने पर्यटन क्षेत्रलाई लाभ पुग्ने देखिदैन । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान क्रमशः घटिरहेको छ ।

स्थिर विनिमय दरको भन्दा पनि पूर्वाधार लगायत अन्य कारणले गर्दा पर्यटन क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्न सकेको छैन । विप्रेषण आप्रवाहको कारण नेपालको समग्र शोधनान्तर स्थिति बचतमा छ र विदेशी विनिमय संचिति पनि वृद्धि भईरहेको छ । पूर्ण परिवर्तनशील विनिमय दर प्रणाली अवलम्बन गरिएको भए नेरु अमेरिकी डलरसँग बलियो हुन्थ्यो र यसले पर्यटन क्षेत्रलाई क्षति गथ्र्यो ।

स्थिर विनिमय दर प्रणालीले केही हदसम्म पर्यटन क्षेत्रलाई जोगाएर राखेको छ । नेपालमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनमा झन्डै २५ प्रतिशत योगदान रहेको छ । विप्रेषण मार्फत यति ठूलो बाह्य पुँजी देश विकासको लागि नेपालले प्राप्त गरिरहेको छ । यति ठूलो परिणाममा बाह्य पुँजी विप्रेषण भित्र्याउने मुलुकमा “डच डिजिज” को जोखिम रहने गर्दछ । यति ठूलो मात्रामा विप्रेषण आप्रवाहको फलस्वरुप नेपालमा कृषि तथा औद्योगिक क्षेत्र सङ्कुचित हुदै गएको बलियो तर्क आउने गरेको छ ।

मुलुकको श्रमशक्ति ठूलो मात्रामा निर्यात गरेर कमाएको बाह्य पूँजीले कृषि र औद्योगिक क्षेत्रलाई सङ्कुचित गराउनमा देशले अवलम्बन गरेको स्थिर विनिमय दर प्रणालीलाई कारणको रुपमा पनि लिईन्छ । तर प्राज्ञिक समुदायबाट भएका अध्ययन अनुसन्धानहरुले रेमिटेन्सले नेपालको विद्यमान विनिमय दर प्रणालीलाई वचाएको मात्र होईन, विद्यमान विनिमय दर प्रणालीले रेमिटेन्सलाई वचाएको संकेत पनि गरेका छन्।

रेमिटेन्सको अर्थतन्त्रमा डच डिजिजको प्रभाव नपरोस भनेर नेपालले मौद्रिक खुला बजार कारोबार र कृषि तथा निर्यात क्षेत्रलाई अनुदानको व्यवस्था गरेको छ । यस्को उद्देश्य रेमिटेन्सको बलमा अर्थतन्त्रलाई विविधिकरण गर्ने अर्थात् अन्य क्षेत्रको विकास गर्ने नीति हो ।

नेपालले स्थिर विनिमय दर प्रणाली अवलम्बन नगरेको भए यति ठूलो मात्रामा विप्रेषण नेपालले प्राप्त गर्न सक्दैनथ्यो । भारुसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेका कारण विप्रेषण प्राप्त गर्ने घर परिवार लगायत सर्वसाधारण नेपाली नागरिकले लोक कल्याणकारी सुविधा पनि पाएका छन् । र, यो क्रममा नेपालले गरीवी न्यूनीकरण प्रयासमा सफलता पाएको छ ।

(राष्ट्रिय योजना आयोगका लागि विदेशी विनिमय दर निर्धारण प्रणाली सम्बन्धी थापाले गरेको अध्ययन प्रतिवेदनको अंश) 

यो पनि हेर्नुहोस 
विनिमय दर नीतिबाट लाभ लिन पुँजी बजारलाई विश्वसँग जोडनु पर्छ 

शनिबार १६ असोज २०७८ १०:४० AM मा प्रकाशित

प्रतिक्रिया