×

सेयर धितो कर्जाको सीमा पुनरावलोकन गरी निकास दिन आवश्यक–रमेशकुमार हमाल 

images

गत वर्ष कोभिड महामारीपश्चात् निरन्तर वृद्धि भई उच्च बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्लो समय अन्तर्राष्ट्रिय द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा भारी वृद्धिलगायत मुलुकभित्र देखा परेका तरलताको समस्या, ब्याजदर वृद्धि र मुद्रास्फीति लगायतका समस्याले हाल संकुचनको अवस्थामा आएको छ । 

लगानीकर्ताले भोगिरहेका समस्या प्रतिनेपाल धितोपत्र बोर्ड जानकार छ । सो समस्याको समाधानका लागि बोर्ड प्रतिबद्ध छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जाका लागि तय गरिएको नीतिगत व्यवस्थाका लागि धितोपत्र बजारमा बढेको गुनासोकोे उचित मूल्यांकन गरी त्यसलाई पुनरावलोकन गरी उचित निकास दिई धितोपत्रको वर्तमान प्रतिरोधलाई अन्त्य गर्न लगानीकर्ताको मनोबल उच्च बनाउन आवश्यक देखिन्छ । 

साथै, बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनले गर्दा लामो समयसम्म सेयर बन्धक हुने अवस्थाको अन्त्यका लागि धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबीच सकारात्मक छलफल भइरहेको छ । त्यसलाई अन्योलता हुन् नदिन उचित प्रक्रिया अगाडि बढाउन ठोस पहल भइरहेको छ । छिट्टै नै उचित निकास निस्कने अपेक्षा गर्न सकिनेछ । 

धितोपत्र बजारमा देखिएका वर्तमान समस्या वित्तीय क्षेत्रका सबै निकाहरू र नियामक एकै ठाउँमा उभिएर समाधान गर्न धितोपत्र बोर्डले समन्वय गर्न आवश्यक छ । हाल बजारमा देखिएका समस्या र भविष्यमा आवश्यक पर्ने सुधारका लागि गर्नुपर्ने कार्यलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयको समन्वयमा भई आवश्यक सहयोग पाउनेमा विश्वस्त छु । 

बोर्डको कार्यका लागि र सेवा प्रभाव सुधार गर्ने क्रममा सेवाग्राहीलाई सहज र प्रवाहकारी सेवा पाउन भन्ने हेतु बोर्ड धितोपत्र दर्ता र अनुमतिका लागि बोर्डमा पेस भएका निवेदनलाई मेरिटवेसका आधारमा स्वीकृतिको सुरुवात भइसकेको छ । 

बोर्डबाट आगामी चार महिनाभित्र नेप्से एसएबी प्लाट फर्म सञ्चालन गरिनेछ । साथै वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई सार्वजनिक निष्कासनमा आरक्षणको व्यवस्था गरिने छ । गैरआवासीय नेपाललीलाई धितोपत्रमा लगानी गर्ने व्यवस्था लागू गरिनेछ । अबको चार महिनामा यो व्यवस्था कार्यान्वयनमा ल्याउनेछौं । 

वित्तीय साक्षरता अभियान निरन्तर रूपमा सञ्चालन गरिनेछन् । बजार विकास सन्तुलनका लागि मध्यमकारी अवधिमा बोर्डको स्वायतता, भौतिक व्यवस्था, जनशक्ति र प्राविधिक पक्षमा अभिवृद्धि गरिनेछ । लगानीको हित संरक्षणका लागि बजार चुस्त दुरुस्त नियमन गर्न अटोमेटिक सर्भिलेन्स सिस्टमको विकास गरी उपयुक्त जनशक्तिको व्यवस्था पनि गरिनेछ । 

बजारमा लगानी विविधिकरणका लागि नयाँ धितोपत्रका औजारको समेत विकास गरिनेछ । वस्तु विनिमय बजारको सञ्चालनमा ल्याउनुका साथै पर्याप्त पुँजी नभएका उद्यमी तथा नयाँ प्रवर्तकका लागि भेन्चर्स क्यापिटलमार्फत पुँजी तथा व्यावसायिक ज्ञान सहज रूपमा प्रदान गर्ने वातावरणको सिर्जना गरिनेछ । 

बुक विल्डिङ विधिलाई दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेको अटोमेटिक इलोक्टोनिक अक्सन सिस्टम तयार गरी वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउनुका साथै सर्वसाधारणमा स्वामित्व बढाउन, बजार विस्तार र सन्तुलन मिलाइनेछ । 

सरकारबाट आगामी आर्थिक वर्ष ०८९/o८० का लागि धितोपत्र विकास र विस्तारका लागि ल्याइएका परिवर्तनकारी नीति तथा कार्यक्रमले धितोपत्रसँग सम्बन्धित पक्षलाई प्रोत्साहित गरेको छ । 

धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनी सूचीकरण गराइने, गैरआवासीय नेपालीलाई लगानीको वातावरण मिलाइने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर (आईपीओ) मा आरक्षण दिने र वस्तु विनिमय बजार सञ्चालमा ल्याइने जस्ता महत्वपूर्ण व्यवस्थालाई समेटी समग्र पुँजी बजारलाई प्राथमिकताको क्षेत्रमा राखिएकोमा सरकार र अर्थमन्त्री प्रति सम्मान व्यक्त गर्छु । 

सरकारले पुँजी बजारमार्फत चाहेको उच्चतम पुँजी परिचालन, लगानीकर्ताले खोजेको सुरक्षित लगानीको वातावरण र प्रभावकारी नियामक क्षमता भएको निकायका रूपमा सूचीकृत लगानीकर्ताको समृद्ध पुँजी बजारको लक्ष्यलाई सार्थक बनाउन हाम्रा कार्य केन्द्रित हुनेछ । 

(बोर्डको ३० औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष हमालले गरेको सम्बोधनको सम्पादित अंश) 


 

बुधबार २५ जेठ २०७९ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया