काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी/व्यवसायीलाई नतर्सिन आग्रह गरेका छन् ।
विभागले केही दिन अघिदेखि व्यवसायी तथा र औद्योगिक प्रतिष्ठानका नाममा सम्पूर्ण विवरण बुझाउन भन्दै काटेको पत्रप्रति अर्थमन्त्री खतिवडाले असन्तुष्टि जनाएका हुन् ।
देशमा आर्थिक स्थिति बिग्रिँदै गइरहेको र लगानीकर्ताको मनोवल समेत गिरेको बेला सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायीमाझ त्रास फैलिएपछि अर्थमन्त्री खतिवडाले नआत्तिन आग्रह गरेका हुन् ।
विभागले बन्द भइसकेको कम्पनीको समेत विवरण मागेपछि व्यवसायी त्रसित भएर अर्थमन्त्री खतिवडासमक्ष पुगेका हुन् ।
सरकारले पाँच बर्ष भन्दा पहिलाको करको विवरण राख्न बाध्यकारी नबनाएको अवस्थामा विभागले २० वर्ष अघि बन्द भएको कम्पनीको समेत विवरण मागेपछि उद्योगीबीचमा खैलाबैला मच्चिएको हो ।
विभागका महानिर्देशक रुप नारायण भट्टराईले पत्र काट्दैमा आत्तिनु नपर्ने बताए । ‘केही औद्योगिक प्रतिष्ठानमा पत्र काटिएको छ, पत्र काट्दैमा डराउनु पर्दैन्,’ उनले भने, ‘सरकारले शङ्का लागेकामाथि अध्ययन गर्न सक्छ ।’ उनका अनुसार गल्ती नगर्ने व्यवसायीले डराउनुपर्दैन ।
तर, व्यापारीले विभागले असल नियतले पत्र नकाटेको बताएका छन् । व्यापारीले करको सम्पूर्ण विवरण सरकारी निकायलाई बझाएका हुन्छन् । त्यहीबाट विभागले उद्योगको सम्पूर्ण विवरण लिन सक्ने अवस्था हुँदा हुँदै उद्योग उद्योगमा पत्र काटेर तर्साउन र थर्काउन खोजेको आरोप लगाएका छन् ।
‘कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग, राष्ट्र बैङ्कलगायतका धेरै ठाउँमा व्यापारीले आफ्नो कम्पनीको विवरण बुझाएका छन्’ एक व्यापारीले भने, ‘तर, उद्योग उद्योगमा पत्र पठाउनुले विभागको नियतमाथि शङ्का उब्जिएको हो ।’
विभागका महानिर्देशक भट्टराईले पत्रमा नखुलाइए पनि पाँच बर्षको विवरण माग गरिएको बताए । बन्द भएका उद्योगलाई पनि पत्र पठाइएको छ नि ? भन्ने क्यापिटलको प्रश्नमा भट्टराईले कुन उद्योग बन्द भएको वा नभएको भन्ने जानकारी विभागलाई नरहेको र बन्द भए सोही अनुसारको विवरण लेखेर पठाए हुने बताए ।
याे पनि पढ्नुहाेस्
सम्पत्ति शुद्धीकरणको निशानामा परेपछि व्यवसायीले गुहारे अर्थमन्त्री
जताततै सम्पत्ति शुद्धीकरण विभागको निगरानी, बैङ्कपछि निशानामा परे औद्योगिक प्रतिष्ठान
करोड माथिका गाडी चढ्नेको नाम खोज्दै सम्पत्ति शुद्धीकरण
बैंकर तथा घरजग्गा व्यवसायी ईच्छाराज तामाङमाथि सम्पत्ति शुद्धिकरणले थाल्यो छानविन, १ अर्ब २ करोड कारोबारको स्रोत खुलेन, फागुन १ मा उपस्थित गराउन आदेश
अकुत सम्पत्ति कमाएको भन्दै बैंकका दुई सीईओमाथि सम्पत्ति शुद्धिकरणको छानविन